ad ad

राजनीति


निर्मल पुर्जालाई कारबाही नगरियोस् : माओवादी सांसद आलेमगर

निर्मल पुर्जालाई कारबाही नगरियोस् : माओवादी सांसद आलेमगर

नेपालखबर
असार १३, २०८१ बिहिबार १४:१९, काठमाडौँ

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले यौन दुव्र्यवहारको आरोप लागेका आरोही निर्मल पुर्जालाई कारबाही नगर्न सरकारसँग आग्रह गरेका छन्। 

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आरोही पुर्जामगरले विश्व रेकर्ड कायम गर्नुका साथै नेपालको नाम विश्वभर चिनाएको भन्दै सामान्य कारबाही हुनुपर्ने माग राखेका हुन्। 

निर्मल पुर्जालाई कारबाही गर्नेकुराको आफूले घोर भत्र्सना गर्ने बताउँदै उनले पुर्जामाथि गरिने कारबाही तत्काल बन्द गर्न आग्रह गरे।

‘उस (निर्मल पुर्जा) ले कुनै नियम कानूनको उल्लंघन गरेको होला, त्यसको लागि सामान्य कारबाही गर्नुपर्ने हुन्छ। उसलाई ब्यान्ड गर्ने होइन। निर्माल पुर्जा मगरलाई पर्वतारोहण गर्नबाट बन्देज लगाइयोस् भन्ने माग उठेको छ, त्यसको पनि म विरोध गर्न चाहन्छु। सामान्य कारबाही गरेर छोडिनुपर्ने हुन्छ। कांक्रो चोरलाई सामान्य दुई चार थप्पड लगाउने हो, शुलीमा चढाउने होइन। यो सरकारलाई म निर्मल पुर्जामाथि घोर कारबाही नगरियोस् भन्ने माग गर्दछु,’ उनले भने। 

कुनै नियम कानूनको उल्लंघन गरेको भए सामान्य कारबाही हुनुपर्ने उनको भनाइ थियो। 

निर्मल पुर्जा मगरलाई पर्वतारोहण गर्नबाट बन्देज लगाउने कुरा बाहिर आइरहेको भन्दै आरोहण बन्देज गर्न नहुने उनले बताए। 

‘निर्मल पुर्जामगर, हिमाल आरोहण गर्ने सन्दर्भमा थुप्रै विश्व रेकर्डहरू कायम गरेको व्यक्ति। उसले आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालहरु ७ महिनामा आरोहण गरेर विश्व रेकर्ड कायम गरेको छ। गिनिज बुक अफ वल्र्ड रेकर्डमा उनको नाम दर्ज भएको छ। दोस्रो हिमाल जुन केटु पाकिस्तानमा अवस्थित छ, त्यो उनी एउटा समूहमा चढेका थिए। त्यो समूह चढ्दा एक्लै उनी जानसक्थे। तर उनले सबै साथीहरूलाई पर्खिए। नेपालीहरू आरोही थिए। सबैलाई पर्खिएर सँगै केटु हिमाल आरोहण गरे। यस्तो कसैले गरेको थिएन। लगायतका थुप्रै रेकर्ड कायम छन्। यस्तो व्यक्तिलाई पनि अहिले कारबाही गर्न लागिएको छ। निर्मल पुर्जामगर त्यसलाई कारबाही गर्न लागिएको छ। यस कार्यको म निन्दा र भत्र्सना गर्न चाहन्छु। उनीमाथि गरिने कारबाही तुरुन्त बन्द गरियोस् भनेर म सम्माननीय अध्यक्षमार्फत सरकारसँग माग गर्न चाहन्छु,’ उनले भने।

सांसद आलेमगरले निरंकुश, तानाशाही, निर्दलीय पञ्चायती व्यवस्थाको कोसी अञ्चलको भुतलाई ब्युँताउँदै कोशी प्रदेश बनाइएको भन्दै कोशी प्रदेशविरुद्ध भएको आन्दोलनमा इलामका हस्तबहादुर लिम्बूलाई पक्राउ गरी जेलमा राखिएको भन्दै तत्काल रिहा गर्न आग्रह पनि गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .