सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको हो।
नेकपाले गौतमलाई अर्थमन्त्री खतिवडाको ठाउँमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गराएर राष्ट्रियसभामा लैजाने भएको हो।
‘मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने कोटामा वामदेव गौतमलाई लैजानेगरी सिफारिसका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ’, प्रवक्ता श्रेष्ठले भने।
त्यस्तै बैठकले यसअघि गौतमलाई प्रधानमन्त्री बनाउनेगरी गरी संविधान संशोधन गर्न बनाएको कार्यदललाई अगाडि नबढाउने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
गौतमलाई राष्ट्रियसभा सदस्य बनाई संविधान संशोधन गरी प्रधानमन्त्री बनाउनको लागि नेकपा सचिवालयले शनिबार माधव नेपालको संयोजकत्वमा स्थायी समिति सदस्य सुवास नेम्वाङ र वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा रहेको तीन सदस्यीय कार्यदल बनाएको थियो ।
बुधबार बसेको नेकपाको सचिवालय बैठकले कार्यदलको औचित्य तत्काल नरहेको भन्दै कार्यदल क्रियाशील नहुने प्रवक्ता श्रेष्ठले बताए ।
उनले भने, ‘अहिले नै संविधान संशेधनको गृहकार्य गर्न औचित्य देखिएन।’

प्रतिक्रिया