ad ad

राजनीति


राजदूत सिफारिस भए, अब बजेट पारित, अनि मन्त्री हेरफेर

राजदूत सिफारिस भए, अब बजेट पारित, अनि मन्त्री हेरफेर

सागर न्यौपाने
असार ७, २०८१ शुक्रबार २१:३७, काठमाडौँ

चालु आर्थिक वर्षको बजेट आइतबार वा सोमबार (असार ९ वा १० गते) पारित गर्ने सरकारको तयारी छ।

विनियोजन विधेयकमाथिको छलफल सकेर निर्णयार्थ पेस गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ।

सत्ता गठबन्धनका घटकबीच आइतबार वा सोमबार बजेट पारित गर्ने समझदारी जुटिसकेको छ। 

‘एक–दुई दिनमा बजेट पास हुन्छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘त्यसपछि सरकारलाई पूर्णता दिने कुरामा प्रवेश गर्छ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट पारित गर्ने दिन आफ्ना सांसदलाई संसद भवनबाट बाहिर नजान ह्वीप लगाएका छन्। 

‘९ गतेदेखि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत नहुँदासम्मका सबै बैठकमा सबै माननीय सदस्य अनिवार्य उपस्थित हुनुपर्छ भनेर निर्देश गरिएको छ,’ लेखकले भने।

प्रधानमन्त्री प्रचण्डले संसदमा बिहीबार (असार ६ मा) सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएका छन्। अब विनियोजन विधेयकमाथि केही मन्त्रालयगत छलफल बाँकी छ।

सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८१/०८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो। 

मन्त्री हेरफेरमा यस्तो तयारी
बजेट पारित गरेलगत्तै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउन गठबन्धनभित्र छलफल हुने भएको छ।

प्रधानमन्त्री प्रचण्डले यी दुई दललाई सरकारमा ल्याउन केही समय अगाडिदेखि पहल गरिरहेका थिए। 

माओवादी र एमालेले लिएकै एक–एक मन्त्रालय खाली गराएर जनमत र उन्मुक्तिलाई सरकारमा सहभागी गराउन पहल भइरहेको एक मन्त्रीले जानकारी दिए।

उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने मन्त्रालय छोड्न मानेको छैन। 

‘माओवादी केन्द्रको भागमा परेको एक मन्त्रालय खाली हुन्छ,’ ती मन्त्रीले भने, ‘एमालेबाट खाली गराउने मन्त्रालय पनि एक दुई–दिनमा टुंगो लाग्छ।’

माओवादीले पर्यटन छाडेर नाउपाकी रञ्जिता श्रेष्ठलाई दिने प्रारम्भिक समझदारी छ। श्रेष्ठ सरकारमा सहभागी हुन तम्तयार छिन्। यसअघि उनी भूमि व्यवस्था मन्त्री थिइन्।

जनमतका अध्यक्ष चन्द्रकान्त राउतले बजेट पारित भएपछि मात्र सरकारमा सहभागिताबारे निर्णय लिने बताइरहेका छन्।

‘अहिले पूरै क्याबिनेट हेरफेर गर्ने होइन, केही मन्त्रीहरू मात्र थपघट हुने भएकोले धेरै समय नलाग्ला, सायद सोमबारदेखि बुधबारसम्म निष्कर्षमा पुग्ला,’ ती मन्त्रीले थपे।

यसरी फुक्यो राजदूतको गाँठो
सरकारले जेठ २४ गते फिर्ता बोलाएका विभिन्न ११ देशका राजदूतको ठाउँमा नयाँ पठाउने प्रक्रिया सुरु गरिसकेको छ। 

सत्ता गठबन्धनका घटकबीच राजदूतको भागबण्डा गरिसकेपछि शुक्रबार ८ जनाको सिफारिस भइसकेको छ।  

एमालेको भागमा भारत र अमेरिकासहित ५,  अशोक राई नेतृत्वको जसपाको भागमा २ र माओवादीको भागमा १ राजदूत सिफारिस भएका छन्। 

रास्वपाले २ वटा सिट पाए पनि नाम सिफारिस गर्न सकेको छैन। माओवादी केन्द्रका केही देशमा यसअघि नै राजदूत नियुक्त भइसकेकाले अहिले एउटा मात्र पाएको हो। एकीकृत समाजवादीबाट रुस र अस्ट्रेलियामा राजदूत कायमै रहेकाले यसपालिको भागबण्डामा परेनन्।

जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘हामीलाई राजदूत दिने कुराकानी भएकै थियो, पहिले नै। फिर्ता बोलाउँदाको बखत भएका कुराकानी र त्यतिबेलाको सहमति नै पालना भएको हो।’

तर, कुनै पनि विषयको भागबण्डा गर्दा कांग्रेस–माओवादीसहितको पाँच दलीय गठबन्धन हुँदाजस्तो अहिले गठबन्धनमा त्यति छलफल नभएको श्रेष्ठ बताउँछन्। 

‘अहिले कोर्डिनेटर प्रधानमन्त्री नै हो,’ श्रेष्ठले थपे, ‘उहाँले नै ज–जसलाई जे–जे कुराको आवश्यकता पर्छ, त्यो छलफल गर्ने नीति भएकोले आवश्यक पर्दा बोलाउनुहुन्छ। कुरा हुन्छ। त्यसैअनुसार फाइनल हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .