ad ad

राजनीति


युरोपमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मन सरकारसँग राष्ट्रपतिको आग्रह

युरोपमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मन सरकारसँग राष्ट्रपतिको आग्रह

नेपालखबर
असार ५, २०८१ बुधबार २१:३४, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मन सरकारसँग आग्रह गरेका छन्।

जर्मनी भ्रमणका क्रममा उनले त्यहाँका समकक्षी फ्रयांक वाल्टर स्टाइनमायरसँगको भेटमा यस्तो आग्रह गरेका हुन्।

बुधबार बिहान स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको स्विट्जरल्यान्ड र जर्मनी भ्रमणबारे जानकारी गराउँदै परराष्ट्रसचिव सेवा लम्सालले राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सर्भिस सुचारु गर्न र युरोपेली आकाशमा रहेको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गरेको बताइन्। 

उनले जर्मनी भ्रमणमा त्यहाँका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरसँग दुई पक्षीय भेटवार्ता भएको र विकास सहयोग, व्यापार, लगानी, पर्यटन, व्यावसायिक तालिममा केन्द्रित हुँदै दुवै पक्षबाट नेपाल–जर्मनी सम्बन्धका सम्पूर्ण पक्षहरूमा छलफल भएको जानकारी पनि दिइन्।

कृषि, पर्यटन र जलस्रोत लगायतका विकास प्राथमिकताका बारेमा प्रकाश पार्दै यी क्षेत्रमा जर्मन सहयोग र लगानीका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गरेको जानकारी भेटमा गराइएको उनले बताइन्।

त्यस्तै राष्ट्रपति पौडेलले स्विट्जरल्यान्ड भ्रमणका क्रममा त्यहाँका समकक्षी भियोला एमहर्डसँग भेटवर्ता गरेका थिए। भेटका क्रममा नेपाल—स्विट्जरल्याण्ड सम्बन्धका विविध पक्षमा छलफल भएको सचिव लम्सालले बताइन्।

दुवै पक्षबाट दुई पक्षीय सम्बन्धको विद्यमान अवस्थाका बारेमा सन्तोष व्यक्त गरिएको बताइन्।

नेपाल र स्विट्जरल्यान्डबीच विकास सहयोग, उच्चस्तरीय भ्रमणको आदानप्रदान, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध विस्तारलगायत दुईपक्षीय सम्बन्धका सबै पक्षहरूमा छलफल केन्द्रित भएको उनको भनाइ थियो। उनका अनुसार, कृषि, ऊर्जा तथा दिगो पर्यटनका क्षेत्रमा लगानीका सम्भावना तथा जलवायु परिवर्तनका नकारात्मक असरसँग लड्ने र पर्वतीय पर्यावरण बचाउने विषयमा पनि कुरा भएको थियो।

लम्सालका अनुसार, पौडेलले नेपालको सामाजिक,आर्थिक विकास, संघीयताको कार्यान्वयन र शान्ति प्रक्रियामा गरेको सहयोगका लागि स्विट्जरल्याण्ड सरकारलाई धन्यवाद व्यक्त गरेका थिए। स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल समृद्धितर्फ अघि बढिरहेकोमा सन्तोष व्यक्त गरेका थिए।

उनले दुवै देशका राष्ट्रपतिलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पनि दिएको सचिव लम्सालले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .