नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न बुधबार निर्वाचन सम्पन्न गरेको छ।
देशभर एकलाख ४६ हजार सात सय १४ संगठित सदस्यमध्येबाट एक हजार चारसय प्रतिनिधिका लागि शान्तिपूर्ण रुपमा निर्वाचन गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।
खुला, महिला र दलित गरी एक हजार आठसय ४९ प्रतिनिधि छनोट गरिने व्यवस्था छ। त्यसमध्ये केन्द्रीय कमिटी तीन सय ४६ र केन्द्रीय आयोगबाट एक सय चार जना प्रतिनिधि स्वतः महाधिवेशन प्रतिनिधिका रुपमा चयन भएका छन्।
सबै कमिटीले मनोनयन दर्ता, मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन, मतदाताको नामावली विवरण प्रकाशनलगायत सम्पन्न गरेपछि निर्वाचन गरिएको हो। निर्वाचनको मतपरिणाम भोलिसम्म केन्द्रमा प्राप्त हुने जनाइएको छ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट तीन वर्षअघि विद्रोह गरी गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौं राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ।
विसं २००६ मा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी मानेको एकीकृत समाजवादी पार्टीले अहिलेसम्म सम्पन्न भएका नौ वटा अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौं मानेको छ।रासस
Shares
प्रतिक्रिया