राजनीति


ट्रम्पले भारतमा मोदीकै अगाडि पाकिस्तानको प्रशंसा गरे

ट्रम्पले भारतमा मोदीकै अगाडि पाकिस्तानको प्रशंसा गरे

नेपालखबर
फागुन १२, २०७६ सोमबार १३:१९,

गतवर्षको पुलुवामा आतंक, बालाकोट आक्रमण र भारतले जम्मुकस्मिरको विशेषाधिकार खोसेपछि पाकिस्तान र भारतको सम्बन्धमा झनै चिसोपन छाएको छ।

यसबीचमा सोमबार ट्रम्पले भारतमा मोदीकै अगाडि पाकिस्तानसँगको सम्बन्धबारे खुलेर बोलेका थिए।

अहमदाबादको मोटेरा स्टेडियममा आयोजित ‘नमस्ते ट्रम्प’ कार्यक्रममा ट्रम्पले विशाल जनसभालाई सम्बोधन गर्दै अमेरिका र पाकिस्तानले मिलेर आतंकवादसँग जुधिरहेको बताउँदै आफ्नो र पाकिस्तानको सम्बन्ध राम्रो भएको बताएका थिए।

ट्रम्प दुईदिने भ्रमणका लागि सोमबार भारत आइपुगेका हुन्।

ट्रम्पले मोदीकै अगाडि भनेका थिए,‘आफ्नो देशको सीमा सुरक्षा गर्नु हरेक देशको अधिकार हो। अमेरिका र भारतले एकसाथ आतंकवाद रोक्ने फैसला गरेको छ। यसै कारण पनि अमेरिकी प्रशासनले पाकिस्तानसँग सकारात्मक हिसाबले काम गरिरहेको छ। यसको उद्देश्य पाकिस्तानी सिमानामा सक्रिय आतंकवादको गतिविधिलाई नष्ट गर्नु हो।’

ट्रम्पले सो क्रममा पाकिस्तान र अमेरिकाको अत्यन्त राम्रो सम्बन्ध भएको बताएका थिए। ट्रम्पले भनेका थिए,‘पाकिस्तानसँग हाम्रो सम्बन्ध अत्यन्त राम्रो छ। यस्ता प्रयासको आधारमा हामी पाकिस्तानबाट ठूलो सफलताको संकेत देखिरहेका छौं। हामीलाई पूरा विश्वास छ यसरी दक्षिण एसियाको सबै देशमा तनाव कम हुनेछ। स्थिरता बढ्नेछ र भविष्यमा सबैबीच सोहार्दपूर्ण वातावरण बन्नेछ।’

ट्रम्पले दक्षिण एसियामा भारतको भूमिका महत्वपूर्ण भएको पनि बताएका थिए।

‘दक्षिण एसियाली क्षेत्रको उज्वल भविष्यको लागि भारतको नेतृत्व महत्वपूर्ण छ। यो पूरा क्षेत्रको समस्या समाधान गर्न र शान्तिलाई बढावा दिन भारतले जिम्मेवारी लिनुपर्छ’ ट्रम्पले भनेका थिए।

सो क्रममा ट्रम्पले भारतीय सेनासँग संयुक्त सैन्य अभ्यास दोहोर्याउँदै गरिने बताउँदै अमेरिकाले भारतलाई रक्षा उपकरण दिने बताएका थिए।

ट्रम्पले भने,‘हामी उत्कृष्ट हतियार बनाउँछौ र भारतलाई बेच्छौं।’

संयुक्त सैन्य अभ्यासले भारतीय सेना थप मजबुत हुने ट्रम्पको दाबी थियो।

ट्रम्पको दुईदिने भ्रमणका क्रममा भारत र अमेरिकाबीच महत्वपूर्ण व्यापार सम्झौता हुने अनुमान गरिएको छ।

ट्रम्पले फर्स्ट लेडी मलेनिया ट्रम्पसँग सोमबार नै आग्रा पुगेर ताजमहलको भ्रमण गरेका थिए।

एएनआइका अनुसार मंगलबार ट्रम्प र मोदीबीच दिल्लीमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

ट्रम्पले मोदीसँगै राष्ट्रपति रामनाथ कोविन्द, भारतीय विदेशमन्त्री एस जयशंकर र उपराष्ट्रपति भेनकाय नाइडुसँग पनि भेटवार्ता गर्नेछन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad