ad ad

राजनीति


प्रतिनिधि सभाको विशेष समय : कसले के भने?

प्रतिनिधि सभाको विशेष समय : कसले के भने?

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १५:१३, काठमाडौँ

प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरूले जनजिविकासँग जोडिएका महत्वपूर्ण विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरूले जनजिविकासँग जोडिएको विभिन्न विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

बैठकमा बोल्दै जनता समाजवादी पाटीर्की सांसद रञ्जुकुमारी झाले तराई मधेसमा पानीको अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

उनले चुरे क्षेत्रको संरक्षण तथा संवद्र्धन नगर्दा यस्तो समस्या आइपरेको भन्दै चुरेको संरक्षण गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘तराई मधेसका जिल्लाहरूमा पानीको अभाव छ। पानीको सतह तल गएको छ। पानीको हाहाकार छ। यसको कारण के हो भने चुरे संरक्षण र सम्वद्र्धनमा सरकारको ध्यान पुगिराखेको अवस्था छैन। सरकारसँग मेरो अनुरोध छ कि चुरे संरक्षणमा ध्यान जाओस्।’

उनले लिङ्ग परिवर्तन गर्ने हार्मोनिक क्लिनिकहरूहरू खोल्न लागिएको भन्दै यसप्रति सरकार गम्भीर हुनुपर्ने बताइन्।

उनले भनिन्, ‘स्थानीय तहहरूमा सिटामोल पनि पुगिराखेको अवस्था छैन। नेपाल सरकारले के गर्न खोजेको छ भने लिङ्ग परिवर्तन गर्ने हार्मोनिक क्लिनिकहरू खोल्न लागिरहेको अवस्था छ। यसप्रति सरकार गम्भीर हुन जरुरी छ। यसबाट ठूलो मानवीय क्षति हुन्छ। लिङ्ग परिवर्तनका लागि हार्मोनिक क्लिनिक खोल्ने एनजिओको कार्यमा नेपाल सरकार गम्भीर होस्।’

बैठकमा बोल्दै जनमत पार्टीका सांसद अब्दुल खानले संविधान संशोधन गरी आर्थिक नीतिको रुपमा सामाजिक लोकतन्त्रको व्यवस्था गर्नुपर्ने बताए। उनले समाजवादउन्मुख आर्थिक नीतिलाई हटाउनुपर्ने धारणा राखे।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालकी सांसद रेखा यादवले विद्यालय कर्मचारीहरूको पारिश्रमिक बढाउने भनेर सरकारले पटक–पटक झुक्याएको बताइन्। उनले विद्यालय कर्मचारी नचाहिने भए हटाउन र चहिने भए सेवा, सुविधामा वृद्धि गर्न आग्रह गरिन्। उनले एनसेलको कर कता हरायो भनि प्रश्न गरिन्। एनसेलको करको सम्बन्धमा उनले गृहमन्त्रीसँग जवाफ माग गरिन्।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले तराई, मधेसमा खानेपानीको साथसाथै सिंचाईको सम्भाव्यताको पनि अध्ययन गर्नुपर्ने बताए। उनले स्थानीय तहले पाउँदै आएको वित्तीय समानीकरण अनुदान तुरुन्त दिन सरकारसँग माग गरे।

नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले सञ्चालनमा रहेका सरकारका सम्पूर्ण योजनाका कार्य रोकि उच्च जोखिममा रहेका नदीहरूमा भौतिक तथा जैविक तटबन्धनका योजनाहरू कार्यान्वयन गर्नुपर्ने बताए। उनले उच्च जोखिममा रहेका वस्ती र परिवारहरूलाई वासस्थानको व्यवस्था यसै महिनाभित्र गर्न माग गरे।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पुँजीवादी गणतन्त्रमा नेताहरूले जस्तो मिठो भाषण गरेपनि र राष्ट्रिय सरकार गठन गरेपनि मौलिक परिवर्तन नआउने धारणा राखे। उनले मजदुर वर्गको नेतृत्वमा गठन हुने समाजवादी गणतन्त्रले मात्रै सबैलाई अबसर दिने भन्दै यस विषयमा संसद केन्द्रित हुनु जरुरी रहेको बताए।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश संरचनाको काममाथि प्रश्न उठाए। उनले प्रदेशको सरकार, मन्त्री र पार्टीहरूको काम गठबन्धन बदल्ने र मन्त्री बनाउने मात्रै भएको बताए।

उनले संघ सरकारले वित्तीय समानीकरणको अनुदान रोकेर बेइमान गरेको भन्दै सो रकम स्थानीय तहलाई दिनुपर्ने धारणा राखे।

आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले चुरे विनाशको कारण तराई, मधेसमा पानीको हाहाकार भएको बताए। उनले चुरे संरक्षणको काम पाएकाहरू नै चुरेको दोहनमा संलग्न रहेका बताए। उनले जनप्रतिनिधिहरू नै दोहनमा लागेका बताए।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले विपद् व्यवस्थापनका लागि पूर्वतयारी नगरेको बताए। उनले चुरे दोहन गरेर निकालिएको गिट्टी, बालुवा नेपालमा पाँच प्रतिशत पनि प्रयोग नहुने भन्दै कहाँ जान्छ भनि प्रश्न गरे।

उनले चुरे दोहन गरेर राजनीतिक दलका गुन्डाहरू पालिएको टिप्पणी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .