ad ad

राजनीति


गृहजिल्लामा ओलीले भने : च्याब्रुङसँगै नाचौँ–नाचौँ लाग्यो

गृहजिल्लामा ओलीले भने : च्याब्रुङसँगै नाचौँ–नाचौँ लाग्यो

नेपालखबर
फागुन ११, २०७६ आइतबार ११:५५,

पूर्वी पहाडसँग परिचित प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पाँचथरको कुम्मायकको यासोकमा खानेपानी आयोजना र विद्युतीकरण उद्घाटन गर्न पुग्दा दंग परे।

आफू ५० वर्षअघि कुम्मायककै यासोकमा पुग्दा तमोरबाट डोकोमा बोकेर खानेपानी प्रयोग गर्नुपर्ने विकराल अवस्थाको प्रधानमन्त्रीले स्मरण गरे।

‘पचास वर्षअघि यो बाटो हिँड्दा तल सिटौलाको पुल तरेर रानीगाउँसम्म आइपुग्दा त्यो उकालोमा डोकामा पानी बोकेर ल्याउनुपर्ने कुरा मैले देखेको छु, मैले भोगेको थिएँ। यी ठाउँहरुमा कसरी खानेपानी पु¥याउने होला भन्ने त्यो चिन्ता थियो’, बिजुली, बाटो र खानेपानी पुगेकामा खुसी व्यक्त गर्दै उनले भने, ‘यहाँ मोटर चढेर हिँड्न पाउँदा, खानेपानीको धारामा सरर पानी आएकाे देख्न पाउँदा, विद्युत् आयोजनाकाे उद्घाटन गर्न पाउँदा मलाई त अघि नै च्याब्रुङसँगै नाचौँ नाचौँजस्तो लागेको थियो।’ उनले यो अवस्था आफ्ना लागि औधि खुसीको क्षण रहेको बताए।

यासोक बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालन गर्दा वार्षिक रु एक करोड २० लाख शुल्क उठ्ने र उक्त शुल्क तिर्न कठिन पर्ने भन्दै मिनाहा गरिदिन स्थानीयवासीले माग गरेका थिए। उक्त मागमा सकारात्मक रहेका प्रधानमन्त्री ओलीले भने, ‘देश अलि सम्पन्न भएपछि विद्युत् शुल्क तिर्न पनि कुनै समस्या पर्दैन, तैपनि म सकारात्मक छु।’

खानेपानीको समस्या हल भएकामा प्रधानमन्त्री ओलीले कुम्मायकका महिलालाई बधाई दिए। ‘खासगरी दिदीबहिनीहरुलाई बधाई भन्न चाहन्छु, जसले टाढाबाट दुःखका साथ पानी बोकेर ल्याउनुपथ्र्यो। आवश्यक पर्ने जति पनि पानी खर्च गर्ने बेलामा ढाड भाँचिनेगरी पानी बोक्दाको दुःख सम्झनुपथ्र्यो। त्यो अब हटेको छ।’

प्रधानमन्त्री ओलीले कुम्मायकको यासोकसहित पूर्वी पहाड अब पर्यटकीय क्षेत्र बन्ने बताउँदै पूर्वाधार तयार पार्न स्थानीयवासीलाई आग्रह गरे। राँके–रवि–भेँडेटार सडक र दमक–चिसापानी–रवि सडकले एक÷दुई घण्टामै पूर्वी तराईबाट यहाँ आउन सम्भव भएको बताउँदै प्रधानमन्त्रीले पर्यटकलाई न्यायो आतिथ्यको व्यवस्था गर्न स्थानीयवासीलाई आग्रह गरे।

‘अब म सुझाब भन्न चाहन्छु, यो ठाउँ मान्छेले आराम, रमाइलो गर्ने, स्वच्छ वातावरणमा आउने, जैविक उत्पादन खान आउने, न्यानो आतिथ्यबाट लोभिएर आउने दिन बन्दैछ। त्यसैले राम्रा रेष्टुराँ, लज खोल्नुस्’, प्रधानमन्त्री ओलीले भने, ‘अब तीन वर्षभित्र तराईका मान्छे यहाँ आइपुग्छन्। गर्मीको बेला यहाँको लजमा बास बस्नु, त्योभन्दा आनन्द के होला? उता हपहप गर्मी भएको हुन्छ, यहाँ आएपछि शीतल हावा, कञ्चनजंघा, कुम्भकर्णबाट बगेर आएको, फिल्टर गरिएको स्वच्छ पानी त्यो खान पाइने ठाउँ बन्छ यो।’

कार्यक्रममा प्रधानमन्त्री ओलीलाई उहाँको ६९औँ जन्मदिनका अवसरमा सामूहिक शुभकामनासमेत व्यक्त गरिएको थियो।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले पछिल्लो पटक आफ्नो एपेन्डिक्सको उपचारमा संलग्न चिकित्सकहरुलाई नागरिकमाझ परिचय गराएका थिए। आफूसँग आएका साथीहरुमध्ये केहीलाई चिनाउनु उपयुक्त हुन्छ भन्दै प्रधानमन्त्री ओलीले एपेन्डिक्सको उपचारमा संलग्न चिकित्सकहरुबारे करीब पाँच मिनेट परिचयात्मक मन्तव्य व्यक्त गरे। ‘म गम्भीर बिरामी परेको थिएँ। अचानक ठूलो शल्यक्रिया गरेर उपचार गर्नुपर्ने डाक्टर पनि यहाँ हुनुहुन्छ, डा रमेशसिंह भण्डारी। उहाँ पाँचथरकै पल्लो छेउ बैतडीको वासिन्दा हुनुहुन्छ।’ प्रधानमन्त्री ओलीले डा दिलीप शर्मालगायत चिकित्सकहरुलाई परिचय गराउँदा सहभागीहरुले तालीले स्वागत गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .