ad ad

राजनीति


सभापति कांग्रेस र महामन्त्री कांग्रेसको कारण सहमति जुट्न सकेन : महेश बर्तौला

सभापति कांग्रेस र महामन्त्री कांग्रेसको कारण सहमति जुट्न सकेन : महेश बर्तौला

नेपालखबर
जेठ १४, २०८१ सोमबार १८:२, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिले सहकारी अपचलनसम्बन्धी संसदीय छानबिन समितिको गठन हुन नसकेको बताएका छन्।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तथा संसदीय छानविन समिति बनाउन निर्माण गरिएको वार्ता समितिका सदस्य बर्तौलाले कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले सो कार्यादेश निर्माणमा सहमती जुटाउने प्रयास गरेपनि महामन्त्री गगन थापा पक्ष त्यसमा भाँड्ने गरी वार्तामा बस्ने गरेको जिकिर गरेका हुन्। 

‘सहमती र संवादको माध्यमबाट समस्याको समाधान गर्नुपर्छ भन्ने ध्येयका साथ त्यो कार्यदलका बसेर काम गर्‍र्यौँ। तर नेपाली कांग्रेसको तर्फबाट त्यो इमान्दारिता, समस्यालाई समाधान हुनेगरी आफूलाई प्रश्तुत गर्ने त्यो जिम्मेवारी बोध हामीले देखेनौँ। त्यसकारण निष्कर्षमा पुग्न सकेनौँ। नेपाली कांग्रेस सहमतीका लागि तयार छैन,’ उनले भने, ‘सहमती बन्न लागेको परिस्थितिलाई बिगार्न कांग्रेस भित्रैबाट लागेको छ भन्नेकुरा देखिन्छ। र त्यसको निष्कर्षका रुपमा आजसम्म समस्या समाधान नहुनुको एउटै कारण भनेको कांग्रेसको एउटा बटम लाइन हो। त्यो बटमलाइन भनेको मिल्न नदिने बटम लाइन।’

कांग्रेसका महामन्त्री पक्षले मुलुकको राजनीतिलाई द्वन्द्वतर्फ लैजाने गरी राजनीतिलाई भड्काउने काम गरिरहेको आरोप उनले लगाए। 

प्रमुख सचेतक बर्ताैलाले कांग्रेसका महामन्त्री पक्षको व्यवहार र गतिविधिले सो कार्यदलले पनि सहमति जुटाउन नसकेको पनि बताए। उनले संसदीय छानबिन समिति बनाएर सहकारी प्रकरणमा दोषी भेटिए गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नेकुरामा एमाले दृढ रहेको स्पष्ट पारे। 

‘विशेष गरी नेपाली कांग्रेसको अहिले समग्र २, अढाई महिनाको घटना हेर्दा नेपाली कांग्रेस एउटा कांग्रेसको रुपमा रहेन। एउटा कांग्रेसले संसदीय समितिहरुमा गृहमन्त्रीलाई बोलाएर छलफल चलाउँछ। अर्को कांग्रेसले संसदको बैठकमा गएर वेल घेराउ गरेर मुर्दावादको नारा लगाउँछ,’ बर्तौलाले भने, ‘सभापति कांग्रेस र महामन्त्री कांग्रेस। सभापति कांग्रेसहरु मिलौँ कि भन्ने भावबाट अगाडि बढन खोजेको देखिन्छ। तर महामन्त्री कांग्रेसहरु परिस्थिति मिल्छ कि भन्ने चिन्ता व्यक्त गरेर अभिव्यक्तिहरु गलत ढंगबाट दिने, पूर्वाग्रह प्रेरित, तथ्यहीन राजनीतिलाई द्वन्द्वतर्फ लैजानका लागि उद्यत गराउने गरी अस्थिरतातर्फ लैजानका लागि भुमिका खेल्ने गरी त्यस प्रकारको व्यवहार र गतिविधिमा लाग्ने। त्यो श्रृंखलाले गर्दा हामी मेरो विचारमा निष्कर्षमा पुग्न सकेनौँ।’

प्रमुख सचेतक बर्तौलाले संवैधानिक बाध्यता भएकाले जेठ १५ गते बजेट ल्याउन कांग्रेसले पनि रोक्न नमिल्ने बताए। सरकारले १५ गतेपछि बजेट ल्याउन नमिल्ने संवैधानिक बाध्यतालाई नेपाली कांग्रेसले बुझिदिनुपर्ने र जेठ १५ गते नै बजेट ल्याउँदा सहज वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .