ad ad

राजनीति


कांग्रेसको अडान यथावत् : छानबिन समिति बनाउँदा रवि लामिछानेको नाम लेख्नैपर्छ

कांग्रेसको अडान यथावत् : छानबिन समिति बनाउँदा रवि लामिछानेको नाम लेख्नैपर्छ

नेपालखबर
जेठ १३, २०८१ आइतबार ११:१८, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्दा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम राख्नैपर्ने आफ्नो अडान यथवात् रहेको बताएको छ। 

आज बिहान भएको कांग्रेस नेताहरूको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम नै उल्लेख गरेर छानबिन समिति गठन हुनुपर्ने निर्णय गरेको कार्यदल सदस्यसमेत रहेका कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए। 

‘नेपाली कांग्रेस पार्टीले रवि लामिछानेको नामै राखेर छानबिन समिति बनाउनुपर्छ भन्ने अडान राख्दै आएको हो। तर हामीले उहाँहरूलाई के मात्रै ठाउँ दिएका हौँ भने यदि रवि लामिछानेको नाम नराख्ने हो भने कस्तो किसिमको प्रस्ताव गर्नुहुन्छ त सरकार पक्षले भनेर हामी पर्खिरहेको अवस्था हो’, आन्तरिक छलफलपछि सांसद परियारले सञ्चारकर्मीसँग भने, ‘यसमा चैँ उहाँहरू ठीक ठाउँमा हुनुहुन्न। अहिले सत्तामा रहेका दलहरू जुन छानबिन गर्ने ठाउँमा उहाँहरू आइपुग्नु भएको छैन। त्यसकारण हामी मानिरहेका छैनौँ। त्यही भएर थप छलफल गरेर अगाडि बढ्नेमा छौँ। उहाँले विपक्षी दललाई नै आग्रह गर्ने कुरा त स्वाभाविकै थियो। उहाँको भनाइ कस्तो रहन्छ भने गोरखा मिडिया नेटवर्क प्रालिको अध्ययन गर्ने भइसकेपछि सबै कुरा भन्न नपर्ला कि भन्ने आशय उहाँहरूको छ। तर हामीले त्यसलाई स्वीकार गरेका छैनौँ। गोरखा मिडिया नेटवर्क मात्रै नाम लिएर त पुग्दैन होला। त्यहाँ संलग्नहरू को को हुन् तिनको पनि नाम उल्लेख नगरीकन छानबिन अगाडि बढ्न सक्दैन भन्ने हाम्रो अडान यथावतै छ।’

सम्भवतः आज साँझ नभए भोलि बिहानसम्म शीर्ष नेताहरू बसेर छलफल बाँकी छलफल गरिने उनले बताए।

यसअघि कार्यदलमा गृहमन्त्री लामिछानेको नाम नलेख्ने उनी संलग्न सहकारी र कम्पनीमा मात्र उल्लेख गर्नेमा सहमति भएको चर्चा भएको थियो। तर फेरि आज सांसद परियारले आफूहरू सहमत नभएको जिकिर गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .