ad ad

राजनीति


संसदीय समितिको कार्यादेशमा सहमति जुटाउन फेरि बस्यो कार्यदलको बैठक

संसदीय समितिको कार्यादेशमा सहमति जुटाउन फेरि बस्यो कार्यदलको बैठक

शुक्रबार बिहान जारी कार्यदलको बैठक


नेपालखबर
जेठ ११, २०८१ शुक्रबार १०:१६, काठमाडौँ

सहकारीको रकम अपचलन छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाउन आज (शुक्रबार) पनि कार्यदलको बैठक बसिरहेको छ। 

कार्यदल सदस्य रहेका नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य जीवन परियारले बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान १० बजे सुरु भएको जानकारी दिए। 

यसअघि बिहान ८:३० बजे नै सुरु गर्ने भनिए पनि बैठक ढिलागरी सुरु गरिएको हो। 

यसअघि बिहीबार दिउँसो त्यहीँ बसेको कार्यदलको बैठकमा सहमति हुन नसकेपछि फेरि आज छलफल भइरहेको हो। 

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको रकम अपचलन तथा हिनामिनामा प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको  समेत संलग्नता रहेको दाबी गर्दै स‌ंसदीय छानबिन समितिको कार्यादेशमा उनको नामै उल्लेख गरिनुपर्ने अडान राखिरहेको छ भने सत्ता पक्षले कसैको नाम किटान गर्न नहुने जिकिर गरिरहेको छ।  

आज पनि कार्यदलको बैठकअघि सांसद नेपालीले भने, ‘मुख्य कुरा रवि लामिछाने संलग्न जुन संस्था हो नि! त्यससँग केन्द्रीकृत भएर गर्नुपर्छ। लामिछाने जोडिएकै सहकारीको रकम अपचलन भयो भनेर हामीले संसदीय छानबिन समितिको माग गरेका हौँ।’ 

संसदीय छानबिन समिति गठन गर्नेमा बल्ल बल्ल सहमति गरेका दलहरूबीच यसको कार्यादेशमा कुरा नमिल्दा कांग्रेसले संसद्‌मा अवरोध जारी राखेको छ। 

आज सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची राखेर प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। तर त्यसअघि बस्ने कार्यदलको बैठक सहमतिमा नपुगे आज पनि संसद् चल्ने सम्भावना कम देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .