ad ad

राजनीति


कार्यादेशमा सहमति जुटाउन फेरि आज बैठक

कार्यादेशमा सहमति जुटाउन फेरि आज बैठक

फाइल तस्बिर


नेपालखबर
जेठ ११, २०८१ शुक्रबार ७:४०, काठमाडौँ

सहकारीको रकम अपचलन छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाउन आज (शुक्रबार) पनि कार्यदलको बैठक बस्दै छ। 

कार्यदल सदस्य रहेका नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य जीवन परियारले बैठक अहिले बिहान ८:३० बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने जानकारी दिए। 

यसअघि बिहीबार दिउँसो त्यहीँ बसेको कार्यदलको बैठकमा सहमति हुन नसकेपछि फेरि आज बिहानै छलफल गर्न लागिएको हो। 

कार्यदल सदस्य रहेका नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बिहीबार दिउँसोको छलफलपछि कांग्रेस केही लचक भएको दाबी गरेका थिए। 

‘त्यति धेरै नकारात्मक भएन, कांग्रेस अलिकति लचक भएको जस्तो देखिँदैछ,’ उनले भनेका थिए, ‘यद्यपि अहिले नै सहमति भने भएको छैन।’

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको रकम अपचलन तथा हिनामिनामा प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको  समेत संलग्नता रहेको दाबी गर्दै स‌ंसदीय छानबिन समितिको कार्यादेशमा उनको नामै उल्लेख गरिनुपर्ने अडान राखिरहेको छ भने सत्ता पक्षले कसैको नाम किटान गर्न नहुने जिकिर गरिरहेको छ।  

संसदीय छानबिन समिति गठन गर्नेमा बल्ल बल्ल सहमति गरेका दलहरूबीच यसको कार्यादेशमा कुरा नमिल्दा कांग्रेसले संसद्‌मा अवरोध जारी राखेको छ। 

आज सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची राखेर प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। तर त्यसअघि बस्ने कार्यदलको बैठक सहमतिमा नपुगे आज पनि संसद् चल्ने सम्भावना कम देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .