राजनीति


‘मन मिलेको’ देखाउन संसदीय दलमा ओली–प्रचण्डद्वारा भरमग्दुर प्रयास

‘मन मिलेको’ देखाउन संसदीय दलमा ओली–प्रचण्डद्वारा भरमग्दुर प्रयास

नेपालखबर
असार १६, २०७६ सोमबार १३:३९,

सोमबार सिँहदरवारस्थित संसदीय दलको कार्यालयमा भएको नेकपा संसदीय दलको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले एकताको सन्देश प्रवाह गरेका हुन्।

‘एक महिनाभित्र पार्टीका सबै कमिटीहरुको एकता टुङ्गिन्छ’ बैठकमा बोल्दै प्रचण्डले भने, ‘हामीबीच पार्टी एकताको बेला जस्तो एकताभाव थियो, अहिले पनि त्यस्तै छ।’

आफूहरुबीचको ‘सुमधुर सम्बन्ध’ पुष्टि गर्न प्रचण्डले ६ फागुन ०७४ मा विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा ओलीसँग भएको कुराकानीको एउटा प्रसङ्ग स्मरण गरे।

‘विविध कारणवस ३ फागुन (०७४) मा एकता हुन नसकेपछि उहाँ र मबीच लामो छलफल भयो’ उनले भने, ‘उहाँ (ओली) ले तपाईंले जस्तो प्रस्ताव ल्याउनु हुन्छ, त्यसमा आँखा चिम्लेर सही गर्छु भन्नुभएको थियो, भनेजस्तै गर्नुपनि भयो।’

२ फागुन (०७४) मा मानभवनस्थित अर्का व्यवसायी शारदाप्रसाद अधिकारीको निवासमा एमाले पक्षले ‘जबज’ लाई नै पार्टीको कार्यदिशा बनाउनुपर्ने अडान लिएपछि एकता प्रक्रिया भाँडिएको थियो।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता हुन नसक्दा दुबै पक्षमा सिर्जना हुनसक्ने भावनात्मक असर मध्यनजर गर्दै ओली–प्रचण्डबीच त्यसको ४ दिनपछि प्रसाईं निवासमा वार्ता भएको थियो।

त्यो वार्तामा ओलीले जबजलाई शर्त बनाइँदा पार्टी एकता भाँडिएकोमा आत्मालोचना गर्दै कसरी एकता हुनसक्छ भन्नेबारेमा प्रचण्डले ल्याएको प्रस्ताव आफूले स्वीकार गर्ने बचन दिएका थिए।

त्यसपछि प्रचण्डले एमाले पक्षसँग पनि सल्लाह गरी ७ बुँदे प्रस्ताव तयार पारिएका थिए, जसमा पार्टीको अन्तरिम कार्यदिशा ‘जनताको जनवाद’ हुने उल्लेख थियो।

त्यसमा सहमति जनाएँदै एमालेको तर्फबाट प्रम ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेलले हस्ताक्षर गरेका थिए।

त्यसपछि फेरि एकता प्रक्रिया अघि बढेको थियो। र, दुई पार्टी ३ जेठ ०७५ मा औपचारिक रुपमा एक भएका थिए।

तर, पछिल्लो समय ओलीले जबजलाई नै स्वीकार गर्नुपर्ने अडान राखेपछि एकता प्रक्रियाले पूर्णता प्राप्त गर्न ढिलाई हुँदै आएको छ।

खासगरी राजनीतिक प्रतिवेदनमा यो विषय राख्नुपर्ने भएकाले त्यसको असर सांगठनिक एकतामा पनि परेको छ।

तर, यो विवाद मिलिसकेको बताउँदै प्रचण्डले ओली र आफूबीच त्यतिबेलाकै जस्तो मतैक्यता रहेको दावी गरे।

प्रचण्डको कुरामा ओलीले पनि सहमति जनाए। ‘उहाँलाई एकता सम्बन्धी प्रस्ताव ल्याउनुस्, म आँखा चिम्लेर सही गर्छु भनेको थिएँ’ उनले भने, ‘त्यही एकता भाव अहिलेपनि हामीबीच छ।’

प्रचण्डले भने बमोजिम नै आगामी एक महिनाभित्र पार्टीका सम्पूर्ण निकायमा एकता भइसक्ने कुरामा उनले सांसदहरुलाई आश्वस्त गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad