राजनीति


एमालेको मञ्चमा देउवाको प्रश्न– कांग्रेसलाई गाली गर्नुभयो, मदन भण्डारीको हत्यारा किन पत्ता लागेन?

एमालेको मञ्चमा देउवाको प्रश्न– कांग्रेसलाई गाली गर्नुभयो, मदन भण्डारीको हत्यारा किन पत्ता लागेन?

नेपालखबर
बैशाख १०, २०८१ सोमबार १५:२५, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले पटकपटक सरकारमा पुग्दा पनि मदन भण्डारीको मृत्युको रहस्य किन पत्ता लागेन भनेर प्रश्न गरेका छन्।

एमालेले नै आयोजना गरेको कम्युनिस्ट पार्टीको हीरक महोत्सव समारोहमा उनले यो प्रश्न गरेका हुन्।

उनले यो प्रश्न गरिरहँदा मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि मदन भण्डारीकी धर्मपत्नी एवं पूर्वराष्ट्रपति विद्या भण्डारी पनि थिइन्। 
२०५० जेठ ३ गते चितवनको दासढुंगाबाट त्रिशूली नदीमा जिप खस्दा तत्कालीन एमाले महासचिव मदन भण्डारीको मृत्यु भएको थियो। संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि त्यही घटना देहान्त भएको थियो।

एमालेले उक्त घटनालाई ‘रहस्यमय’ भन्दै हत्याकाण्डको संज्ञा दिएको थियो। उक्त घटनाको अनुसन्धानका लागि दबाब दिन एमालेले चर्को आन्दोलनसमेत गरेको थियो।

भिडिओमा हेर्नुहोस्-

त्यतिखेर गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसको एकल सरकार थियो। देउवा नै गृहमन्त्री थिए। सरकारले नै नियोजित रूपमा यो घटना गराएको एमाले नेतृत्वको आरोप थियो।

त्यसयता एमाले धेरैपटक सरकारमा गयो। गृह मन्त्रालय र सरकारकै नेतृत्वमा समेत एमाले नेताहरू पुगे। तर, उक्त घटनाको दोषी को हो भनेर सरकारका आधिकारिक निकायले अहिलेसम्म कसैले यकिन गरेका छैनन्।

उक्त घटनामा जिप चालक अमर लामा भने बाँच्न सफल भएका थिए। 

अमर लामा पछि माओवादीबाट मारिएका थिए। 

कांग्रेस सभापति देउवाले अमर लामाको मृत्युको प्रसंग पनि उठाएका छन्। उनले भनेका छन्, ‘हुँदाहुँदा जिप चालक पनि मारिए। किन त? कांग्रेसको विरोध गर्न सजिलो होला। तर आफ्नो पनि कुरा के हो? भन्नुपर्यो नि।’

देउवाले यसो भनिरहँदा समारोहमा सन्नाटा छाएको थियो। 

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि कार्यक्रममा उपस्थित थिए।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .