राजनीति


महिला सांसदका बोल्ने शैलीबारे टिकाटिप्पणी गरिनु गलत : उपाध्यक्ष घिमिरे

महिला सांसदका बोल्ने शैलीबारे टिकाटिप्पणी गरिनु गलत : उपाध्यक्ष घिमिरे

फाइल फोटो


नेपालखबर
बैशाख ९, २०८१ आइतबार १५:४३, काठमाडौँ

राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले महिला सांसदहरुलाई हतोत्साही गर्नु नहुने बताएकी छन्।

आइतवार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै उपाध्यक्ष घिमिरेले महिला सांसदहरुले बोलेको कुरालाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेको भन्दै उनीहरूलाई अत्याउने र हतोत्साहि गर्नु नहुने बताइन्।

उनले महिला सांसदहरुले संसदमा बोलेको कुरालाई लिएर ०६४ सालको संविधान सभादेखि नै टिका टिप्पणी गरिने गरेको बताइन्। उनले महिला सांसदहरूको क्षमतामाथि समेत प्रश्न उठाइने गरेको भन्दै त्यसो गर्नु नहुने बताइन्।

उपाध्यक्ष घिमिरेले संविधानले महिलाहरुलाई दिएको अधिकारको प्रयोग गरेर सांसद भएकाहरुलाई अनावश्यक टिकाटिप्पणी गर्नु नहुने बताइन्। उनले विगतका राजनीतिक आन्दोलनमा सक्रिय भुमिका खेलेका महिलाहरुलाई सांसद बनाउँदा उनीहरुमा बोल्ने कलाको विकास नहुनु स्वभाविक भएको भन्दै त्यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताइन्।

उनले भनिन्, ‘हिजो महिलाहरु आन्दोलनका लागि लड्नुभएको हो। लडाइँमा अग्रपंक्तिमा रहनुभएका महिला माननीयहरु अहिले आएर संसदमा बोल्न सक्नुहुन्न नि त।’

उपाध्यक्ष घिमिरेले व्यक्तिको बोल्ने तरिका फरक–फरक हुने गरेको भन्दै सांसदहरुले जुन तरिकामा भएपनि आफ्नो भावना व्यक्त गर्ने गरेका बताइन्।  सांसदहरुको भावनालाई लिपिवद्ध गर्ने व्यवस्था रहेको भन्दै कतिपय महिला सांसदहरुले बोलेको कुरालाई भावमा बुझ्नुपर्ने उनको भनाई छ।

उनले महिला सांसदहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन्। उनले पहिले पहुँच दिएर मात्रै क्षमता अभिवृद्धिको कुरा गर्नुपर्नेमा जोड दिइन्। उनले महिला हुनासाथ क्षमताविहीन र पुरुष हुनासाथ क्षमता भएको नहुने भन्दै ति कुराहरु परिस्थिति अनुरुप हुने बताइन्।

उपाध्यक्ष घिमिरेले उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष तथा स्थानीय तहको उपप्रमुखको पद महिलाहरुकै लागि हो भन्ने मानसिकता बनेको भन्दै त्यसलाई चिर्नुपर्ने बताइन्। उनले राष्ट्रिय सभा उपाध्यक्षको आफ्नै अधिकारहरु रहेको भन्दै सो पद अध्यक्षको छायाको रुपमा नरहेको बताइन्। उनले उपाध्यक्षको अधिकारलाई बढाएर सो पदमा पुरुषहरु पनि आकर्षित हुने अवस्था बनाउनुपर्ने बताइन्।

उपाध्यक्ष घिमिरेले समाजमा पुरुषप्रधान मानसिकता रहको भन्दै त्यस्तो प्रकारको विचारकै पुनःसंरचना गर्नुपर्ने बताइन्।

उनले राष्ट्रिय सभा उपाध्यक्षको रुपमा आफूले प्रभावकारी भूमिका खेल्ने बताइन्।

उपाध्यक्ष घिमिरे पार्टीको जिम्मेवारीबाट अलग
यसैबीच उपाध्यक्ष घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्।

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले आइतवार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्। उनले आफू सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै पार्टीको जिम्मेवारीबाट अलग भएको बताएकी छन्।

उपाध्यक्ष घिमिरे गत चैत्र २८ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। उनी राष्ट्रिय सभा सदस्य पदमा नेकपा(एमाले)को तर्फबाट निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .