ad ad

राजनीति


एमालेको निष्कर्ष : सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक

एमालेको निष्कर्ष : सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक

फाइल फोटो


नेपालखबर
बैशाख २, २०८१ आइतबार १९:२३, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सरकारका प्रारम्भिक कामकारबाही सकारात्मक रहेको बताएको छ।

पार्टी मुख्यालय च्यासलमा आइतबार अपरान्ह बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा नेताहरुले सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक रहेको निष्कर्ष निकालेका हुन्।

बैठकले जनतामा अझ विश्वास जगाउने गरी काम गर्न पनि सरकारलाई सुझाव दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए। उनले अहिलेको निराशालाई चिर्दै देशलाई बनाउन सकिन्छ भन्ने विश्वास जगाउने गरी सरकारलाई अगाढि बढाउने कुरामा एमाले केन्द्रित रहेको दाबी समेत गरे।

उपमहासचिव ज्ञवालीले भने, ‘बैठकमा हामीले त्यही विषयमा छलफल गरेको छौं। र सरकारका प्रारम्भिक गतिविधिहरु, अहिले सुरु गरेको स्पिरिडहरु सकारात्मक छन्। अझ बढी सरकारले जनतालाई विश्वास जगाउने गरी काममा अझ गति ल्याओस भन्ने अपेक्षा छ।’

एमालेले आफू नेतृत्वको नयाँ सत्ता समीकरणले देशलाई सही बाटोमा ल्याएको र विकास, निर्माणको कामलाई तिब्रताका साथ अघि बढाउने जिकिर गर्दै आएको छ।

बैठकमा यही वैशाख ८ र ९ गते गोदावरीको सनराइज हलमा आयोजना गरिएको पार्टी महाविधेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने कामका समिक्षा सम्बन्धि प्रतिवेदन, पार्टीका चार वटा आयोगले पनि आफ्नो कामको प्रगति विवरण पेश गर्ने तय गरिएको पनि उपमहासचिव ज्ञवालीले बताए।

एमालेलाई आगामी निर्वाचनमा राष्ट्रिय शक्तिको रुपमा स्थापित गराउने गरी सो परिषद बैठकमा छलफल हुने उनले बताए। सो महाधिवेशन प्रतिनिधि परिषद बैठकमा करिव २५ सय जति प्रतिनिधिहरु सहभागी हुने पनि एमालेले जनाएको छ।

त्यसैगरी सचिवालय बैठकले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वर्ष पूरा गरेको उपलक्ष्यमा प्रमुख राजनीतिक दलहरुको सहभागितामा विशेष कार्यक्रम पनि वैशाख २० गते आयोजना गर्दैछ।

त्यसमा प्रमुख राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने र कम्युनिष्ट पार्टीका मुख्यमुख्य गतिविधि समावेश गरेर बनाइएको डकुमेन्ट्री पनि प्रस्तुत हुने उपमहासचिव ज्ञवालीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .