राजनीति


स्वर्णिम वाग्लेको आरोप : ललिता निवासको जग्गा हिनामिना देउवाको पालामा सुरु भएको हो

स्वर्णिम वाग्लेको आरोप : ललिता निवासको जग्गा हिनामिना देउवाको पालामा सुरु भएको हो

फाइल तस्बिर


नेपालखबर
चैत २७, २०८० मंगलबार १६:१६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरी व्यक्तिको नाममा गर्ने प्रकरणको सुरुवात शेरबहादुर देउवा गृहमन्त्री हुँदा भएको आरोप लगाएका छन्।

नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा मंगलबार पत्रकारहरूसँग संक्षिप्त कुराकानीका क्रममा उनले देउवामाथि गम्भीर आरोप लगाएका हुन्। 

‘ललिता निवासको जग्गा हिनामिना प्रकरणको सुरुवात अहिलेको विपक्षी दलका सभापति (शेरबहादुर देउवा) गृहमन्त्री हुँदा हस्ताक्षर भएर सुरु भएको हो’, उनले भने।

ललिता निवासदेखि वाइडबडी जहाज खरिदसम्म भएको अनियमिततामा नेताहरूलाई जोगाइएको दाबी उनले गरे। 

आफूहरूले २०४७ सालयताका सबै भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र जाँचबुझ आयोग माग गर्दै आएको पनि वाग्लेले बताएका छन्। 

‘ललिता निवास काण्डदेखि वाइडबडीसम्म कस-कसलाई जोगाइएको छ। यो सारा कुराको छानबिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चस्तरीय जाँचबुझ आयोग बनाउन आह्वान गर्दछ’, उनले अगाडि भने। 

कसैले लगाएको आरोपका भरमा कुनै नेता र पात्रलाई खुइल्याउने उद्देश्यले छानबिन माग गर्नु उचित नरहेको वाग्लेले बताए।

कांग्रेसले सहकारीको रकम हिनामिना गरेको आरोपमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन माग गर्दै आएको छ।

तर सरकारले रविमाथि कुनै पनि कानुनी निकायले आरोप किटान नगरेकाले संसदीय समिति नचाहिने बताउँदै आइरहेको छ।

त्यहीकारण मंगलबार बसेको संसद् बैठकमा कांग्रेसले अवरोध गरेको छ। अब संसद् बैठक बुधबार मात्रै बस्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .