राजा वीरेन्द्रलाई सम्झने दुई महत्वपूर्ण तिथि छन्। एक, उनको जन्म भएको दिन, प्रत्येक वर्षको पुस १४।
अर्को, १९ जेठ। २०५८ मा यही दिन दरबार हत्याकाण्डमा राजा वीरेन्द्र आफ्ना परिवारका अन्य सदस्यसहित मारिएका थिए।
चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्य अर्को एक अवसरमा पनि वीरेन्द्रलाई प्रत्येक वर्ष सम्झिरहन्छन्।
चीनको दक्षिण–पूर्वी प्रान्त हाइनानको बोआओमा आयोजना हुने ‘बोआओ फोरम’ को उद्घाटन टेलिभिजनको पर्दामा हेर्दै गर्दा उनको आँखामा राजा वीरेन्द्र आइपुग्छन्।
‘यसपटकको बोआओ फोरम (१३–१६ चैत्र) मा मलाई त्यस्तै भयो,’ आचार्यले भने, ‘मैले राजा वीरेन्द्रलाई खुबै सम्झिएँ।’
२४ वर्षअघि बोआओमा यो फोरमको विधिवत् उद्घाटन भएको थियो। बोआओमै १६ फागुन २०५७ (२७ फेब्रुवरी २००१) मा तत्कालीन चिनियाँ राष्ट्रपति च्याङ चेमिनले बोआओ फोरमको उद्घाटन गरेका थिए।
बोआओ फोरमको उद्घाटन समारोहमा राजा वीरेन्द्र पनि ‘सम्मानित अतिथि’ का रुपमा सहभागी थिए। मञ्चमा चिनियाँ राष्ट्रपति चेमिनका अलावा मलेसियाका तत्कालीन प्रधानमन्त्री डा. महाथिर मोहमद र नेपालका राजा वीरेन्द्र मात्र रहने व्यवस्था गरिएको थियो।
बोआओ फोरमको उद्घाटन कार्यक्रममा सहभागितासँगै उनले चीनको राजकीय भ्रमण पनि गरेका थिए। आफ्नो जीवनमा १० पटक चीन भ्रमण गरेका राजा वीरेन्द्रको त्यो भ्रमण ‘अन्तिम चीन भ्रमण’ त भयो नै, अन्तिम विदेश भ्रमण समेत हुन पुग्यो।
चीनका लागि तत्कालीन नेपाली राजदूत आचार्य पनि राजाको चीन भ्रमण दलको सदस्य थिए। १५ फागुनमा राजा वीरेन्द्रलाई बोआओमा स्वागत गरेका उनले २१ फागुनमा सांघाईबाट विदाई गरेका थिए।
प्रत्येक वर्ष हाइनानमा ‘बोआओ फोरम’ को सम्मेलन हुँदा आचार्यलाई राजा वीरेन्द्रको सम्झना आउनुको कारण यही हो कि, राजाको अन्तिम चीन भ्रमणमा उनी सुरुदेखि अन्त्यसम्म साथै रहे।
बोआओ जान सुरुमा आनाकानी
१९ जेठ (२०५८) को दरबार हत्याकाण्डमा मारिनुभन्दा तीन महिनाअघि एसियाली नेताहरूले राजा वीरेन्द्रलाई चीनमा भेट्ने अवसर प्राप्त गरे। त्यो अवसर बोआओ फोरमको उद्घाटन सत्रले जुराएको थियो।
राजा वीरेन्द्रको अन्तिम चीन भ्रमणको महत्व यसर्थ पनि छ कि, उनले बोआओ जस्तो प्रतिष्ठित फोरमको उद्घाटन सत्रमा ‘सम्मानित अतिथि’ का रुपमा सहभागी हुने अवसर प्राप्त गरे। त्यससँगै चीनको राजकीय भ्रमण पनि सुरु गरे।
चीन भ्रमण तयारी चल्दै गर्दा सुरुवातमा भने उनी बोआओ जाने कार्यक्रम थिएन। बेइजिङबाट सुरु हुने गरी भ्रमणको तयारी गरिएको थियो।
त्यसैताका ‘बोआओ फोरम’ निर्माणको तयारी अन्तिम अवस्थामा थियो। ‘एक्काइसौँ शताब्दीलाई एसियाली शताब्दी बनाउनुपर्छ’ भन्ने चाहना राख्ने केही एसियाली नेताहरू यस्तो मञ्च निर्माणको तयारीमा लागिरहेका थिए।
तिनमा अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री बब हक, फिलिपिन्सका पूर्वराष्ट्रपति फिडेल रामोस, जापानका पूर्वप्रधानमन्त्री मोरिहिरो होसाकावा अग्रणी थिए। उनीहरूको अग्रसरतालाई चीनको पूर्ण साथ–सहयोग रह्यो।
राजा वीरेन्द्रको चीन भ्रमणको तयारी चल्दै गर्दा एसियाली मञ्च निर्माणको प्रयासले मूर्तरुप प्राप्त गर्यो। चीनले मुख्यालय स्थापना र अन्य लजिस्टिक सहयोग गर्ने गरी ‘बोआओ फोरम’ स्थापना हुने भयो।
२६ फेब्रुअरी (१५ फागुन २०५७) देखि हुने गरी राजा वीरेन्द्रको चीन भ्रमणको टुंगो लागिसकेको थियो। यता चीन भ्रमण सुरुवातको भोलिपल्ट २७ फेब्रुअरी (१६ फागुन) मा बोआओ फोरमको उद्घाटन हुने मिति तय भयो।
राजा वीरेन्द्रको चीन भ्रमण सुरुवातको भोलिपल्टै ‘बोआओ फोरम’ हुनु सम्भवत संयोग मात्र थियो। जसलाई चिनियाँ पक्षले थप ‘सुखद’ बनाउन चाह्यो।
एक्काइसौँ शताब्दीको सुरुवातसँगै स्थापना भएको एउटा सर्वाधिक महत्वपूर्ण विश्वसंस्था हो– बोआओ फोरम एसिया। एसियाको ‘डाभोस फोरम’ को रुपका विकास गर्न खोजिएको यस्तो महत्वपूर्ण फोरममा अतिथिका रुपमा सहभागी हुने गरी राजा वीरेन्द्रको चीन भ्रमण गराउने प्रस्ताव चिनियाँ पक्षले बेइजिङस्थित नेपाली राजदूतावासमार्फत् अघि बढायो।
‘फेब्रुअरी ५ (२३ माघ २०५७) मा चिनियाँ उपविदेशमन्त्री थाङ विनल चाङले मलाई विदेश मन्त्रालयमा बोलाएर राजा वीरेन्द्रलाई बोआओमा सहभागी गराउने प्रस्ताव गरे,’ २०७९ पुसमा प्रकाशित पुस्तक ‘कूटनीतिक डायरी’ मा तत्कालीन राजदूत आचार्यले लेखेका छन्, ‘चिनियाँ राष्ट्रपति पनि सहभागी हुने कार्यक्रममा राजा वीरेन्द्रलाई पनि वक्ताको रुपमा राखिएको जानकारी गराइएको थियो।’
चिनियाँ प्रस्तावबारे राजदूत आचार्यले तत्काल नारायणहिटी राजदरबारलाई जानकारी गराए।
त्यसअघि नै राजा वीरेन्द्रले ९ पटक चीन भ्रमण गरिसकेका थिए। १० औँ पटक चीन भ्रमण हुने भएपछि उनी थप रोमाञ्चित थिए।
तर, बोआओ जाने गरी आएको प्रस्तावलाई राजा वीरेन्द्रले रुचाएनन्। राजधानी बेइजिङको साटो बोआओ बोलाएर चीनले आफ्नो भ्रमणको महत्व कम गर्न खोजेको हो कि भन्ने उनलाई लाग्यो।
‘बेइजिङको साटो बोआओबाट भ्रमण गराउने भन्ने चिनियाँ प्रस्ताव सुनेपछि दरबारमा खैलाबैला मच्चिएछ,’ आचार्यले भने, ‘बेइजिङको साटो बोआओ जाने प्रस्तावबाट वीरेन्द्र निकै रिसाउनु भएछ। यो कुरा मलाई पछि दरबारका सचिवहरूले सुनाए।’
चीनको प्रस्ताव राजदूत आचार्यलाई भने निकै सकारात्मक लागिरहेको थियो। बोआओबाट भ्रमण सुरु गर्दा चार कारणले नेपाल र राजा वीरेन्द्र दुवैको अन्तर्राष्ट्रिय व्यक्तित्व उँचो हुने उनी ठान्थे।
एक, २६ फेब्रुअरी (१५ फागुन) मा राजा बेइजिङ पुग्दा बोआओ पुग्ने हतारोका कारण तत्काल राष्ट्रपति चेमिनसँग भेटवार्ता नजुर्न सक्थ्यो। भेटवार्ताका लागि १–२ दिन कुर्नुपर्ने हुनसक्थ्यो। सुरुमै समकक्षी भेटवार्ता नहुँदा राजा वीरेन्द्रलाई चीनले महत्व दिएन भन्ने सन्देश जाने थियो।
दुई, बोआओ फोरमजस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थामा राजा वीरेन्द्रलाई वक्ताका रुपमा उपस्थित गराउने प्रस्ताव चिनियाँ पक्षको थियो। एसियाका प्रभावशाली नेताहरू सहभागी फोरममा सम्बोधनको अवसरले एकातिर उनको अन्तर्राष्ट्रिय व्यक्तित्व अझ उँचो हुन्थ्यो। अर्कोतिर फोरमका २९ सदस्य संस्थापकमध्ये एक भएकाले सम्मानित अतिथिका रुपमा उद्घाटन समारोहको मञ्चमा राजा वीरेन्द्रको उपस्थितिले नेपालको गरिमा पनि बढ्थ्यो।
तीन, चीन भ्रमण गर्ने कतिपय अमेरिकी राष्ट्रपतिहरू बेइजिङको साटो पहिले अन्य सहर पुगेका थिए। तीमध्ये राष्ट्रपति रिचर्ड निक्सनले सन् १९७२ मा सांघाईबाट भ्रमण सुरु गरेका थिए।
चार, बोआओबाट भ्रमण सुरु गर्दा बोआओ र बेइजिङ गरी चिनियाँ राष्ट्रपतिसँग उनको भेटवार्ता दुई पटक हुने पक्का थियो। एउटै भ्रमणमा चिनियाँ राष्ट्रपतिसँग दुईदुई पटक भेटवार्ता हुँदा यसले राष्ट्र र राष्ट्राध्यक्ष दुवैको अन्तर्राष्ट्रिय व्यक्तित्व उँचो बनाउथ्यो।
बोआओबाट भ्रमण सुरु गर्दाका लाभबारे यिनै बुँदा लेखेर उनले दरबार पठाए। सुरुमा आक्रोशित राजा वीरेन्द्र राजदूत आचार्यका उपरोक्त लिखित तर्कहरूसँग सहमत भए।
बोआओ फोरममा सहभागिता हुनेगरी उनको १० औँ चीन भ्रमण हुने तय भयो। करिब एक हप्ताका लागि राजप्रतिनिधि परिषद्का अध्यक्षका रुपमा युवराज दीपेन्द्रलाई राजकाज सुम्पेर १५ फागुन (२०५७) मा उनी बोआओतर्फ उडे।
भ्रमणअघि तेङको प्रशंसा
बोआओ प्रस्थानको पूर्वसन्ध्यामा १४ फागुन (२०५७) मा चिनियाँ समाचार संस्था सिन्ह्वालाई उनले एक छोटो अन्तर्वार्ता दिए। त्यसमा तेङ सिआओ पिङले सुरु गरेको सुधार र खुलापनको प्रशंसा थियो।
‘तेङ सिआओ पिङको नेतृत्वमा सुधार र खुलापनको नीति अपनाएपछि चीनमा निकै महत्वपूर्ण परिवर्तन भएका छन्,’ अन्तर्वार्तामा राजाले भनेका थिए, ‘सुधार र खुलापनको नीतिपछि चीनमा भएका यी महान् परिवर्तनहरूको साक्षी म आफै हुँ।’
चीनमा आएको परिवर्तनको ‘साक्षी’ पुष्टि गर्न आफूले त्यसअघि नौ पटक गरेको चीन भ्रमणलाई तथ्यका रुपमा प्रस्तुत गरेका थिए।
‘चीनको आर्थिक–सामाजिक क्षेत्रमा आएको उल्लेखनीय परिवर्तनलाई हामीले नजिकबाट अवलोकन गरिरहेका छौँ,’ अन्तर्वार्तामा उनले भनेका थिए, ‘नेपाल व्यावहारिक विज्ञान र प्रविधिको माध्यमबाट मानव संसाधन तथा पूर्वाधार विकासका क्षेत्रमा चीनले हासिल गरेको अनुभवबाट धेरै कुरा सिक्न चाहन्छ।’
चीन प्रस्थानअघि उनले राष्ट्रका नाममा सन्देश पनि जारी गरे। सन्देशमा ‘चीन भ्रमणमा रहँदा राष्ट्रपति च्याङ चेमिनका साथै अन्य चिनियाँ नेताहरूसँग भेटवार्ता हुने’ उल्लेख थियो।
यी भेटघाटहरूबाट हुने विश्वासको आदानप्रदानले दुई देशबीचको सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास उनले प्रकट गरेका थिए।
राजा वीरेन्द्रको भ्रमण दलमा रानी ऐश्वर्य थिइन्, अधिराजकुमार निराजन पनि थिए। परराष्ट्रमन्त्री चक्रप्रसाद बास्तोला ‘सवारीमन्त्री’ का रुपमा भ्रमण दलका सदस्य थिए।
परराष्ट्रसचिव नारायण शमशेर थापा र बोआओबाटै सहभागी हुनेगरी राजदूत राजेश्वर आचार्य पनि राजा वीरेन्द्रको भ्रमण दलका सदस्य थिए।
काठमाडौँबाट प्रस्थान गरेकै दिन राजा वीरेन्द्र सवार जहाज हाइनानको राजधानी हाइकुस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो, जहाँ हाइकु नगरका भाइस गभर्नर हान झी झोङ र हाइकुका मेयर वाङ फारेनले राजा वीरेन्द्रलाई स्वागत गरे।
चीनका लागि नेपाली राजदूत आचार्य र नेपालका लागि चिनियाँ राजदूत चेङ सुयोङले पनि हाइकु विमानस्थलमा राजारानीलाई स्वागत गरेका थिए। साँझपख हाइकुका गभर्नरले राजा वीरेन्द्रको स्वागतमा रात्रिभोज आयोजना गरे।
हाइनान पुगेको भोलिपल्ट (१६ फागुन) बिहान बोआओमा राजा वीरेन्द्र र चिनियाँ राष्ट्रपति च्याङबीच भेटवार्ता भयो, जुन करिब २० मिनेट लामो थियो।
यो भेटवार्तामा दुई राष्ट्राध्यक्षले द्विपक्षीय सम्बन्धका विषयमा कुरा गरेनन्। राष्ट्रपति च्याङ राजा वीरेन्द्रको निमन्त्रणामा सन् १९९६ मा नेपाल भ्रमणमा आएका थिए। त्यो भेटवार्तामा त्यही भ्रमणको छोटो समीक्षा मात्र भयो।
त्यसैदिन दोङ्यू टापुस्थित सभाहलमा ‘बोआओ फोरम’ को औपचारिक उद्घाटन भयो। यो कार्यक्रमको मञ्चमा पनि च्याङ र वीरेन्द्र सँगै भेटिए।
मञ्चमा राष्ट्रपति च्याङ र राजा वीरेन्द्रका साथ मलेसियाका तत्कालीन प्रधानमन्त्री डा. महाथिर मोहमद मात्र थिए।
‘नेपालको राजसंस्थाप्रति चिनियाँहरूमा निकै ठूलो सम्मान र विश्वास थियो,’ पूर्वराजदूत आचार्यले भने, ‘त्यहीकारण राजा वीरेन्द्रलाई त्यो सम्मान प्रदान गरिएको थियो।’
एसियाली नेताहरूले खचाखच भरिएको उद्घाटन कार्यक्रममा राजा वीरेन्द्रले पनि सम्बोधन गरे। सम्बोधनको सुरुवातमै उनले एसियाको विविध संस्कृति र परम्परा प्राचीन सभ्यताको धरोहर रहेको उल्लेख गरेका थिए।
एसियाली राष्ट्रहरूबीच लगानी, व्यापार तथा मानव संसाधनको विकासका साथै विज्ञान तथा प्रविधिका क्षेत्रमा परस्पर सहयोग जुटाउन क्षेत्रीय समन्वयात्मक प्रयासहरूको थालनी भएकोमा खुसी पनि प्रकट गरे।
केही विषयमा उनले चिन्ता पनि व्यक्त गरे। विश्वव्यापीकरणले व्यापार तथा बजार अर्थतन्त्रका क्षेत्रहरूमा नयाँ मार्ग खोले पनि ती अवसरहरू कतिपय मुलुकका लागि बाधारहित नभएकोप्रति उनको चिन्ता थियो।
‘अधिकांश देशहरूका लागि यी समस्या निकै कठिन र चुनौतीपूर्ण छन्,’ उनले भने, ‘विश्वको मूलधारमा समाहित हुन आवश्यक क्षमता वृद्धि गरी अघि बढ्न चाहने मुलुकहरूको हितलाई संरक्षण गर्ने तर्फ पनि हामीले विशेष ध्यान दिनु जरुरी छ।’
एसियाली राष्ट्रहरूको साझा हितका लागि छुट्टै मञ्चको आवश्यकता उनलाई पनि खट्किरहेको रहेछ। बोआओ फोरमले यो आवश्यकता पूरा गरेकोमा खुसी प्रकट गरे।
‘वर्तमान विश्व व्यवस्थाका सकारात्मक पक्षहरूलाई अधिकतम उपयोग गर्न एसियाली दृष्टिकोणबाट विषयवस्तुहरू प्रस्तुत गर्ने एसियाकै जनताद्वारा स्थापित एक साझा मञ्चको आवश्यकता पहिलेदेखि नै खट्किरहेको थियो’ उनले भने, ‘बोआओ सहरमा यसप्रकारको संगठन स्थापना भएकोमा हामीलाई खुसी लागेको छ। यस मञ्चको परिकल्पना र गठनका लागि प्रयास गर्नुहुने सबै प्रशंसाका पात्र हुनुहुन्छ।’
बोआओमा गरेको सम्बोधन अन्तर्राष्ट्रिय मञ्चमा उनको अन्तिम सम्बोधन थियो। यसको उच्च सफलताको कामना पनि उनले त्यसक्रममा गरे।
‘हामीलाई आशा छ, यो मञ्च एक उत्कृष्ट मञ्चको रुपमा विकसित हुनेछ। साथै यो मञ्च एसियाली मुलुकहरूको आकांक्षा तथा भावना व्यक्त गर्ने थलो बन्नेछ,’ उनले बोआओ फोरमलाई शुभकामना दिँदै भने, ‘आपसी समझदारीका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा सहयोग अभिवृद्धि गर्ने आफ्नो लक्ष्यमा सफल हुनेछ।’
त्यसअघि चिनियाँ राष्ट्रपति च्याङले बोआओ फोरमको उद्घाटन गरेका थिए। र, ‘एसियाका सबै क्षेत्रका जनताबीच विभिन्न विषयमा छलफल गर्ने साझा थलोका रुपमा मञ्च विकसित हुने’ विश्वास व्यक्त गरेका थिए।
मलेसियाका तत्कालीन प्रधानमन्त्री डा. मोहम्मद महाथिरले ‘विश्व समुदायमा तनाव र कष्ट बढिरहेको’ बताउँदै ‘सीमारहित विश्व स्थापनाका लागि बोआओ फोरमको निर्माण सामयिक कदम’ भएकोमा सन्तोष व्यक्त गरेका थिए।
बेइजिङ जाने कार्यक्रमलाई मोडेर राजा वीरेन्द्रलाई हाइनान लगिनु र ‘बोआओ फोरम’ मा सम्मानित अतिथिको अवसर दिनुलाई पूर्वराजदूत आचार्य राजसंस्थाप्रतिको चिनियाँ विश्वासको परिणाम मान्छन्।
‘ट्रपिकल क्लाइमेट’ का कारण हाइनान आफैमा न्यानो टापु हो। ‘बोआओ फोरम’ को उद्घाटन भएको दोङ्यू टापुभित्रको पनि अर्को सुन्दर टापु हो। यति सुन्दर टापुको भ्रमण र यहाँ पाएको सम्मानका कारण वीरेन्द्र बोआओमा निकै खुसी देखिन्थे।
राजा वीरेन्द्रमा खुसीको अनुभव राजदूत आचार्यले बोआओमै गर्न पाए।
‘बोआओ फोरम’ को मुख्यालय स्थापनापछि दोङ्यू टापु अहिले अन्तर्राष्ट्रिय सम्मेलनहरूको केन्द्रस्थल बनेको छ। त्यतिबेला भने यो ठाउँ मछुवार र खेतीपाती गर्ने अल्पसंख्यक ‘ली’ जातिका मानिसहरूको गाउँ थियो। बोआओ फोरम निर्माणपछि यसले चर्चा पाउन थालेको हो।
आफ्नो गाउँको भ्रमणमा आउने अतिथिहरूलाई ली जातिका स्थानीयले लामा–लामा बाँसको टुक्रासहित विशेष नाच देखाउँछन्। कृषिकर्मसँग अभिन्न रुपमा जोडिएको यो नाचका लागि बाँसका टुक्राका छेउमा समातेर तिनलाई यताउता चलाइन्छ।
नाचमा सरिक हुनेले उफ्रँदै ती बाँसका टुक्रालाई नाघ्नुपर्छ। स्थानीय ‘ली’ समुदायले राजा वीरेन्द्रलाई पनि त्यही नाच देखाए।
‘राजा वीरेन्द्रले नेपालको तर्फबाट नाचमा सहभागिता जनाउन परराष्ट्र सचिवलाई अह्राउनु भएको थियो,’ आचार्यले भने, ‘मोटो जिउका परराष्ट्र सचिव नारायण शमशेर थापा बाँस नाघ्दै उफ्रेको दृश्य रोचक थियो। थापाको नाच राजाले पनि रमाइलो मान्नुभयो।’
आचार्यले थपे, ‘राजकीय मर्यादाका कारण राजा आफै अघि सरेर नाच्नु नभएको होला। तर, बोआओ भ्रमणबाट उहाँ यति खुसी हुनुहुन्थ्यो कि त्यही कारण परराष्ट्र सचिव थापालाई नेपालको तर्फबाट नाच्न अनुरोध गर्नुभयो।’
विमानभित्र फोटो सेसन
बोआओ फोरम उद्घाटनको भोलिपल्ट (१७ फागुन) राजा वीरेन्द्र बेइजिङ प्रस्थान गरे। बोआओ–बेइजिङबीचको तीन घण्टा लामो उडानका क्रममा विमानभित्रको एक घटना राजदूत आचार्यका लागि जीवनभरका लागि सुखद स्मृति बनेको छ।
राजा वीरेन्द्रलाई बेइजिङ पुर्याउन चिनियाँ पक्षले विशेष विमानको व्यवस्था गरेको थियो। विमानको विशिष्ट क्याबिनभित्र राजा वीरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार निराजन बस्ने प्रबन्ध थियो।
परराष्ट्रमन्त्री चक्रप्रसाद बास्तोला पनि त्यही क्याबिनमा थिए। राजदूत आचार्य दम्पती र नेपालका लागि चिनियाँ राजदूत चेङ सुयोङ दम्पतीका लागि पनि त्यही क्याबिनमा सिट बन्दोबस्त गरिएको थियो।
क्याबिनमा विशिष्ट अतिथिहरूको सहयोगका लागि परिचारिकाहरूको टोली थियो। उडिरहेको विमानभित्र ती परिचारिकाहरूले राजा वीरेन्द्र र रानी ऐश्वर्यसँग बसेर फोटो खिच्ने अनुमति मागे।
राजा–रानीले परिचारिकाहरूसँग तस्बिर खिच्न सहमति जनाए।
फोटो खिच्न उनीहरूले ‘पोलोराइड क्यामरा’ प्रयोग गरेका रहेछन्। ‘पोलोराइड क्यामरा’ बाट खिचिएको फोटो तत्काल प्रिन्ट गर्न सकिन्छ।
ती फोटो पनि तत्काल प्रिन्ट गरिए।
विमानभित्र नेपालका राजा–रानीसँग फोटो खिच्न पाउनु परिचारिकाहरूका लागि महत्वपूर्ण अवसर थियो। तस्बिरमा हस्ताक्षर समेत गरिदिएर राजा–रानीले तस्बिरलाई थप महत्वपूर्ण बनाइदिए।
राजा–रानीसँगको फोटो सेसन र हस्ताक्षरपछि परिचारिकाहरू अधिराजकुमार निराजनतिर फर्के। अविवाहित थिए, ‘परिचारिकाहरूसँग खिच्दा बाबु–आमाले के भन्लान्’ भन्ने सोचे होलान्, प्रतिक्रिया बुझ्न राजा–रानीतिर आँखा फर्काए।
राजा–रानीले निराजनको संकोच फुकाइदिए। आँखाको भाकामा निराजनलाई फोटो खिच्दा केही फरक पर्दैन भन्ने संकेत गरे। खिचिएका फोटामा निराजनले पनि तस्बिरमा हस्ताक्षर गरे।
त्यसपछिको पालो परराष्ट्रमन्त्री चक्रप्रसाद बास्तोलाको थियो। मन्त्री बास्तोलाले फोटो खिच्न मानेनन्।
‘अहँ, म त फोटो खिच्दिनँ,’ बास्तोलाले जवाफ दिए, ‘तपाईंहरूसँग बसेको फोटो मेरी श्रीमतिले देखिन् भने मलाई मार्छिन्।’
राजदूत आचार्यका भनाइमा बास्तोलाको ठट्टाले राजा–रानीसहित क्याबिनका सबैलाई हँसायो। बास्तोलाको ठट्टापछि तस्बिरका लागि उनीहरूले थप जोड गरेनन्।
राजदूत आचार्यका लागि पनि विमानभित्रको यो फोटो सेसन यसकारण अविस्मरणीय रह्यो, उनले पनि राजा–रानी र अधिराजकुमार निराजनसँग फोटो खिच्ने अवसर पाए।
परिचारिकाहरूले खिचेर दिएको ती फोटोमा राजा वीरेन्द्र, रानी ऐश्वर्य र निराजन तीनै जनाले हस्ताक्षर गरेका छन्।
हस्ताक्षरसहितको पहिलो फोटोमा राजा वीरेन्द्र र रानी ऐश्वर्य छन्, साथमा राजदूत आचार्य दम्पती छन्। दोस्रो फोटोमा अधिराजकुमार निराजनका साथमा राजदूत दम्पती छन्।
परिचारिकाहरूसँग छुट्टै फोटो खिचाउन नमानेका मन्त्री बास्तोला यो दोस्रो फोटोमा निराजन र राजदूत दम्पतीको साथ देखिन्छन्। अर्को एउटा फोटोमा रानी ऐश्वर्य चिनियाँ राजदूत पत्नी र आचार्य पत्नीको बीचमा उभिएकी छन्।
‘तीन महिनापछि दरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार निराजनको निधन भयो,’ आचार्यले भने, ‘दरबार हत्याकाण्डको तीन महिनाअघि मात्र विमानभित्र खिचिएको यो फोटो वीरेन्द्र–ऐश्वर्यको स्मरणलाई चिरस्थायी बनाउने दस्तावेज बनेको छ।’
बेइजिङमा ऐश्वर्यका गीत गुन्जिँदा
१८ फागुन (१ मार्च २००१) बिहान शाही अतिथिलाई दियोताई गेस्टहाउसबाट बेइजिङको केन्द्रभाग तियानमेन स्क्वायरमा अवस्थित ग्रेट ‘हल अफ दि पिपुल’ मा चिनियाँ राष्ट्राध्यक्षले विदेशी समकक्षीहरूसँग भेट गर्ने बैठक कक्षमा लगियो, जहाँको माहौल साङ्गीतिक थियो।
सभाकक्षमा केही कालजयी नेपाली गीतहरूको मधुर धुन बजिरहेको थियो। तिनमा तारादेवीको स्वर र नातिकाजीको संगीत रहेको ‘तिम्रा पाउहरूमा म सधैँ झुकिरहन्छु’ र ‘शुभकामना भरी’, नारायण गोपालको स्वर–संगीतको ‘एउटा मान्छेको मायाले’ लगायत थिए।
‘ग्रेट हल अफ दि पिपुल’ भित्रको त्यो माहोलमा ती गीतकी सर्जक चाँदनी शाह समेत उपस्थित थिइन्। राजा वीरेन्द्र र रानी ऐश्वर्यको स्वागतमा आयोजित दिवाभोज भएकाले चिनियाँ पक्षले रानी ऐश्वर्य (जसको साहित्यिक नाम चाँदनी शाह थियो) द्वारा रचित गीतका धुनको व्यवस्था गरेको थियो।
राजा वीरेन्द्रसँगको भेटमा राष्ट्रपति च्याङ आल्हादित थिए। यी दुई राष्ट्राध्यक्षबीच त्यसअघिको भेट राष्ट्रपति च्याङको सन् १९९६ मा भएको नेपाल भ्रमणको क्रममा भएको थियो।
‘ग्रेटहल अफ दि पिपुल’ भित्र रानी ऐश्वर्यका गीतका धुनहरूले वातावरणलाई आत्मीय बनाइरहेका बेला राष्ट्रपति च्याङ आफै पनि गीत गाउन अघि सरे। उनले एक अंग्रेजी गीत गाएर वातावरणलाई थप आत्मीय बनाए।
दिवाभोजअघि दुई राष्ट्राध्यक्षबीचको द्विपक्षीय भेटवार्ता पनि उत्तिकै आत्मीय थियो।
राजदूत आचार्यका अनुसार सुरुमा दुई राष्ट्राध्यक्षबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो। त्यसपछि प्रतिनिधिमण्डल तहमा अर्को वार्ता भयो।
‘म आफ्नो सरकारी निवासबाट प्रत्येक दिन मर्निङ वाकका लागि निस्कन्छु,’ द्विपक्षीय भेटवार्तामा च्याङले वीरेन्द्रलाई भने, ‘त्यो बेला ह्वाइट प्यागोडा (नेपाली कलाकार अरनिकोद्वारा निर्मित) देख्न पाउँछु। ह्वाइट प्यागोडाले चीनको नेपालसँगको सम्बन्धलाई सधैँ ताजा बनाइराख्नेछ।’
बोआओ र बेइजिङ गरी दुई–दुई पटक राजा वीरेन्द्रलाई भेट्ने अवसर प्राप्त गरेकोमा आफूलाई खुसी लागेको पनि उनले सुनाए।
राजा वीरेन्द्रले नेपालमा लगानी र परियोजनाहरूको संख्या बढाउन चिनियाँ राष्ट्रपतिसँग आग्रह गरेका थिए।
‘नेपालमा अन्य मुलुकको तुलनामा चिनियाँ लगानी अलिक कम छ, चिनियाँ परियोजनाहरू पनि कम छन्,’ चिनियाँ राष्ट्रपतिसँग वीरेन्द्रले आग्रह गरे, ‘हामी चिनियाँ लगानी प्रबद्र्धन गर्न चाहन्छौँ, चिनियाँ परियोजनाहरूको संख्या वृद्धि होस् भन्ने चाहन्छौँ।’
म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्मको सडकमार्ग निर्माणमा सहयोग गरिदिन वीरेन्द्रले चिनियाँ राष्ट्रपतिसँग विशेष आग्रह गरेका थिए।
यो सडक निर्माणमा सहयोगका लागि चीन सकारात्मक रहेको जवाफ राष्ट्रपति च्याङले दिए।
‘नेपालले चीनलाई दिँदै आएको राजनीतिक–कूटनीतिक सहयोग महत्वपूर्ण छ,’ च्याङले भने ‘नेपालको शान्ति सुरक्षा, स्थिरता र विकासका लागि चीनको सहयोग सदैव रहनेछ।’
राष्ट्रपति च्याङसँगको भेटको भोलिपल्ट (२ मार्च) वीरेन्द्रको थप दुई चिनियाँ शीर्ष नेतासँग भेटवार्ता भयो। तिनमा उपराष्ट्रपति हु चिन्ताओ र प्रधानमन्त्री चु रोङ्ची थिए।
‘कूटनीतिक डायरी’ हेर्दा के देखिन्छ भने राजा वीरेन्द्रसँगको कुराकानीमा उपराष्ट्रपति हु र प्रधानमन्त्री चु दुवैले तिब्बतको विषयमा आफूलाई केन्द्रित गरेका थिए।
‘आगामी चार वर्षभित्र तिब्बतको राजधानी ल्हासासम्म रेलमार्ग पुग्दैछ,’ प्रधानमन्त्री चुले भनेका थिए, ‘ल्हासासम्म पुग्ने रेलमार्ग नेपालको विकासका लागि पनि उपयोगी हुनसक्छ भन्नेमा हामी आशावादी छौँ।’
कुराकानीमा निर्वासित तिब्बती धार्मिक नेता दलाई लामाको प्रसंग पनि निस्कियो।
‘हामी दलाई लामासँग सम्पर्कमै छौँ,’ प्रधानमन्त्री चुले सुनाए, ‘चीनको एकीकरण र अखण्डतालाई स्वीकार गरेमा दलाई लामालाई स्वागत गर्न चीन तयार छ।’
त्यसअघि ९ पटक चीन भ्रमणमा गइसके पनि राजा वीरेन्द्रसँग प्रधानमन्त्री चुको भेट भएको रहेनछ। पहिलो पटक नेपालका राष्ट्राध्यक्षसँग भेट गर्न पाएकोमा उनले खुसी प्रकट गरे। र, नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
प्रधानमन्त्री चुसँग पनि वीरेन्द्रले नेपालको विकासका लागि चिनियाँ लगानी र परियोजना वृद्धिको अपेक्षा गरेका थिए। उनले नेपालको आर्थिक विकासमा ‘सन्तुलित लगानी’ को आवश्यकता औँल्याएका थिए।
नेपालमा भारतीय लगानी धेरै छ, यसले (सम्भवतः भूराजनीतिक) असन्तुलन ल्याउन सक्छ– राजा वीरेन्द्रको भनाईको आशय थियो– सन्तुलनका लागि चीनले पनि लगानी बढाउनु पर्यो।
राजा वीरेन्द्रको भ्रमण दलमा उद्योगी—व्यापारीहरू पनि थिए। ‘उनीहरूलाई भ्रमण दलमा सामेल गराइनुको उद्देश्य नेपालमा चिनियाँ लगानीको वातावरण बनाउनु हो,’ वीरेन्द्रले चिनियाँ प्रधानमन्त्रीलाई भनेका थिए।
राजा वीरेन्द्रसँग भेट गरेका अर्का शीर्ष चिनियाँ अधिकारी थिए– उपराष्ट्रपति हु चिन्ताओ, जो हालका राष्ट्रपति सी चिनफिङअघि राष्ट्रपति थिए।
राष्ट्रपति च्याङ प्रशासनमा उपराष्ट्रपति हुनुभन्दा १० वर्षअघि (डिसेम्बर १९८८ देखि डिसेम्बर १९९२ सम्म) हु चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को तिब्बत प्रान्तीय कमिटीका सचिव थिए।
नेपालसँग सीमा जोडिएको प्रान्तका सचिव भएकाले उनलाई नेपालबारे राम्रो जानकारी थियो।
‘नेपाल भ्रमण गर्ने अवसर त मलाई अहिलेसम्म जुरेको छैन,’ उपराष्ट्रति हुले वीरेन्द्रसँग भने, ‘तर तिब्बतमा काम गर्दा भृकुटी र श्रङचङ गम्पोबारे थुप्रै जानकारी हासिल गरेको छु। राजकुमारी भृकुटी नेपालकी छोरी हुन् भन्ने मलाई राम्रो जानकारी छ।’
हु चिनियाँ राजनीतिका उदाउँदा नेता थिए। राष्ट्रपति च्याङको उत्तराधिकारी उनै हुने कुरा सम्भवतः तय भइसकेको थियो। यसको छनक पनि उनले दिए, राजा वीरेन्द्रलाई थप चीन भ्रमणको निम्तोमार्फत्।
‘१० औँ भ्रमणजस्तै ११औँ, १२ औँ गरी थुप्रै भ्रमण चीनमा भइरहोस्,’ हुले भनेका थिए, ‘यहाँलाई चीनमा पटक–पटक स्वागत गरिरहने अवसर हामीलाई प्राप्त होस्।’
राष्ट्रपति बनेपछि पक्कै राजा वीरेन्द्रलाई उनका पूर्ववर्तीहरूले झैँ हुले पनि बेइजिङमा स्वागत गर्ने थिए होलान्, दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको निधन नभएको भए।
सांघाईमा देखिएको राजाको झोँक
अन्तिम चीन भ्रमणमा राजा वीरेन्द्र पुगेको तेस्रो (र अन्तिम) सहर सांघाई थियो। युवराजका रुपमा सन् १९६६ मा पहिलो पटक चीन भ्रमण गर्दा पनि उनी सांघाई पुगेका थिए। राजा वीरेन्द्र तीन दिन (१९–२१ फागुन) सांघाईमा रहे र त्यतैबाट स्वदेश प्रस्थान गरे।
चीनको व्यापारिक राजधानी सांघाईमा नेपाली व्यापारिक प्रतिनिधिमण्डल पनि राजासँगै थियो।
सांघाईमा आफू बसेकै होटलमा राजा वीरेन्द्रले २० फागुन (३ मार्च) मा उद्योगी व्यापारीहरूसँग अन्तर्क्रिया गरे। अन्तर्क्रियाका बेला रानी ऐश्वर्य किनमेलका लागि बजार गएकी थिइन्।
अन्तर्क्रियामा परराष्ट्रमन्त्री बास्तोला समेत सहभागी थिए।
अन्तर्क्रियामा भने राजा वीरेन्द्र निकै आक्रामक रुपमा प्रस्तुत भए। नेपाल ‘बनाना रिपब्लिक’ तर्फ उन्मुख भएको बताउँदै चिन्ता प्रकट पनि गरे।
उद्योगी–व्यापारीहरूले नाफा कमाउनुपर्ने, तर देशप्रतिको जिम्मेवारी र आफ्नो कर्तव्य पनि निर्वाह गर्नुपर्नेमा जोड दिए।
‘तपाईंहरूले दुःख गरी कमाएर राज्यलाई तिरेको करको सदुपयोग भइरहेको छ कि छैन, त्यसको जानकारी पनि राख्नुपर्छ,’ उनले सुझाव दिए।
‘देशको रकम फजुल काममा खर्च गर्नुहुँदैन। यही सोचेर म अहिले पनि २० वर्ष पुरानो गाडी चढ्ने गर्छु,’ आफ्नो भनाइलाई थप प्रष्ट पार्दै भने, ‘तपाईंहरू उद्योग–वाणिज्य क्षेत्रका प्रतिनिधिहरूले जनताले तिरेको कर सदुपयोग भइरहेको छ कि छैन भन्ने कुराको निगरानी र खबरदारी गर्न सक्नुपर्छ।’
उनले उद्योगी–व्यापारीहरूसँग प्रश्न पनि गरे, ‘के मुलुकको अवस्था, विकासको अवस्था अहिले राम्रो छ? सरकारले गर्नुपर्ने कामहरू तदारुकताका साथ भइरहेका छन्? के तपाईंहरू अहिलेको अवस्थासँग सन्तुष्ट हुनुहुन्छ?’
‘राजाको भावभंगीले सरकारको काम गराइबाट उहाँ त्यति सन्तुष्ट नभएको अनुभूति हुन्थ्यो,’ राजदूत आचार्यले ‘कूटनीतिक डायरी’ मा लेखेका छन्, ‘उद्योगी व्यवसायीहरूलाई उहाँले ‘युज योर कमनसेन्स’ (विवेकको प्रयोग गर) भनेर बोल्न उत्प्रेरित गरिरहनु भएको थियो।’
राजाको अभिव्यक्तिबाट अप्ठेरो मानिरहेका परराष्ट्रमन्त्री बास्तोला बीच–बीचमा बोल्न खोज्थे। तर राजाले उनलाई बोल्न दिएनन्। बोल्न खोजिरहेका मन्त्री बास्तोलालाई वीरेन्द्रले प्रत्येक पटक हातको इसाराले रोके।
उद्योगी–व्यापारीले तत्कालीन बेथितिप्रति असन्तुष्टि जनाइदिऊन् भन्ने राजाको चाहना भएपनि व्यापारीहरूले कुनै असन्तुष्टि प्रकट गरेनन्।
राजाले ‘वी आर टुवार्डस् बनाना रिपब्लिक (हामी बनाना रिपब्लिक बन्ने बाटोतिर जाँदैछौ)’ भन्ने शब्दावलीसमेत प्रकट गरेको यसैक्रममा हो। आचार्यका भनाइमा यो शब्दावली उनले दुई पटक प्रयोग गरेका थिए।
‘यो (बनाना रिपब्लिक) शब्दावलीको प्रयोग उहाँले नेपाल गणतन्त्रतर्फ उन्मुख हुँदैछ भन्ने संकेत गर्न प्रयोग गर्नुभएको होइन,’ आचार्य भन्छन्, ‘उहाँको भनाइको आशय ‘कतै नेपाल असफल राज्य बन्नेतर्फ उन्मुख हुने त होइन भन्ने (चिन्ता) थियो।’
‘जनताको कर फजुल रुपमा खर्च गर्न हुँदैन भन्ने उहाँ (राजा वीरेन्द्र) को भनाइ थियो,’ आचार्यले थपे, ‘तर, सत्तामा बस्नेहरूले त्यसअनुसार राज्यकोषको सदुपयोग गरेनन् भन्नेमा उहाँको असन्तुष्टि थियो।’
उनले थपे, ‘यस्तो प्रवृत्तिले मुलुक फेल्ड स्टेटतर्फ उन्मुख हुनसक्छ भन्ने सन्दर्भमा चिन्तास्वरुप राजाले ‘बनाना रिपब्लिक’ शब्दावली प्रयोग गर्नुभएको हो।’
भ्रमणको अन्त्यताका सांघाईमा यस्तो आक्रोश देखिए पनि चीन भ्रमणप्रति वीरेन्द्र निकै खुसी थिए, सन्तुष्ट थिए।
राजदूत आचार्यको मानसपटलबाट बेइजिङमा पोखिएको राजा वीरेन्द्रको खुसी मेटिएको छैन। त्यो खुसीको अनुभूति राजा सांघाई प्रस्थान गर्नुअघि १९ फागुनमा बेइजिङस्थित नेपाली दूतावासमा आयोजित दिवाभोजमा उनले गर्न पाएका थिए।
दिवाभोजमा भ्रमण दल, दूतावासका अधिकारीहरू, चीनमा विभिन्न पेसा–व्यवसाय गरी बसेका नेपाली परिवार र दूतावास नजिकका विश्वविद्यालयमा अध्ययनरत नेपाली सहभागी थिए।
राजदूतावासका कर्मचारीहरूसँग राजारानीले सुरुवातमा सामूहिक फोटो खिचाएका थिए। त्यसपछि अन्य नेपालीहरूसँग पनि फोटो खिचाउने कार्यक्रम थियो।
राजाले चाहने जतिसँग एक्लाएक्लै फोटो खिचे। यसमा कुनै झिँजो मानेनन्, ‘शाही अभिमान’ पनि देखाएनन्।
‘उहाँ चीन भ्रमणको सफलताबाट खुसी हुनुहुन्थ्यो भन्ने कुराको संकेत थियो,’ आचार्यले भने, ‘उहाँ पुरै हर्षित भावमा हुनुहुन्थ्यो।’
तर, बेइजिङमा दुई अस्वाभाविक घटना भए, जसलाई सम्झँदा राजदूत आचार्यलाई आजकल लाग्छ, कतै ती घटना राजपरिवारका लागि ‘अपशकुन’ त थिएनन्?
चर्किएको ट्रे, ढलेको शाही झण्डा
बेइजिङमा राजा वीरेन्द्रलाई राजकीय अतिथिगृह ‘दाउताई गेस्टहाउस’ मा बस्ने प्रबन्ध गरिएको थियो।
बेइजिङ विमानस्थलमा ओर्लेपछि उच्च सम्मान र सुरक्षासहित उनी सवार गाडी दाउताई अतिथिगृहतर्फ लाग्यो।
विशिष्ट अतिथिहरूको सवारी हुनेबेला व्यस्त मार्गहरू बन्द गरिन्छन्, ताकि कुनै अवरोधबिना अतिथिलाई गन्तव्यसम्म पुर्याउन सकियोस्। अतिथिहरू रहेको सवारीसाधन तीव्र गतिमा हुइँक्याइन्छन्, बीच बाटोमा कतै रोकिँदैनन्।
राजा वीरेन्द्रको सवारीमा पनि विमानस्थलदेखि दाउताई अतिथिगृहसम्मको मार्ग बन्द गरिएको थियो। अति विशिष्ट व्यक्तिलाई गराइने सवारीको नियम अनुसार राजा वीरेन्द्र सवार गाडीलाई पछ्याउँदै सबै गाडी तीव्र गतिमा पछिपछि हुइँकिरहेका थिए।
तर, गन्तव्य (दाउताई गेस्ट हाउस) मा नपुग्दै राजा वीरेन्द्र सवार गाडी बाटोमा दुई पटक रोकियो। उनको गाडी रोकिएपछि उनलाई पछ्याइरहेको लस्कर पनि रोकियो।
केही क्षणपछि फेरि लस्कर अघि बढ्यो। तर, पाँच–सात मिनेटपछि फेरि कारकेड दोस्रो पटक रोकिन पुग्यो।
‘राजा वीरेन्द्र सवार गाडीको अघिल्लो भागमा शाही झण्डा राखिएको थियो,’ आचार्यले भने ‘दुई–पटक झण्डा ढलेकाले यसरी दुईदुई पटक कारगेड बीच बाटोमा रोकिएको रहेछ।’
सुरक्षाकर्मीहरूले ढलेको शाही झण्डा उठाए, गाडीमा रहेको पिलरमा त्यसलाई ‘फिक्स’ गरे। कारकेड अघि बढ्यो।
शीर्ष अतिथि सहभागी कारकेड दुई–दुई पटक रोकिएको घटना आफैमा अस्वाभाविक थियो।
अर्को यस्तै घटना सांघाई प्रस्थानअघि राजदूतावासमा आयोजित दिवाभोजमा भयो।
सो दिवाभोजमा राजा–रानीका लागि खाना ‘सर्भ’ गर्न छुट्टै ‘पोर्सिलिन ट्रे’ किनिएको थियो। दिवाभोज सुरु भएपछि भान्सेहरूले त्यही ‘ट्रे’ मा राखेर खाना दिने तयारी गरे।
दुर्भाग्य, राजारानीलाई खाना ‘सर्भ’ गर्न तयार पारिएको ‘ट्रे’ त चर्किएको पो रहेछ।
‘तत्काल अर्को ट्रे व्यवस्था गर्न सकिने स्थिति थिएन त्यसैले राजा–रानीलाई पनि सामान्य रुपमा खानेकुराको बन्दोबस्त गर्यौँ,’ आचार्यले भने, ‘उहाँहरूले यसलाई सामान्य रुपमा लिनुभयो, सामान्य प्लेटमा अरुहरूले जसरी नै खाना खानुभयो।’
राजा वीरेन्द्रलाई ‘सामान्य’ लागेका यी दुवै घटना पूर्वराजदूत आचार्यलाई भने आजकल असामान्य लाग्छन्।
‘त्यो घटनाको केही समयपछि दरबार हत्याकाण्ड भयो, त्यसमा राजा वीरेन्द्रको वंश नै नास हुन पुग्यो,’ दुखित आचार्य भन्छन्, ‘ती दुई घटना त्यो दुर्भाग्य (राजदरबार हत्याकाण्ड) को संकेत पो थियो कि भन्ने कुराले मेरो मन पोलिरहन्छ।’
यो प्रसंगले दुखी आचार्य फेरि बोआओ फोरमको प्रसंगतिरै फर्के। भने, ‘दरबार हत्याकाण्ड नभएको भए यस वर्ष पनि बोआओ फोरममा सायद हामीले राजा वीरेन्द्रलाई देख्न पाउने थियौँ जस्तो लाग्छ।’
‘कसरी?’ मैले जिज्ञासा राखेँ।
‘दरबार हत्याकाण्ड नभएको भए राजा वीरेन्द्र जीवितै हुने थिए। किनकि राजा वीरेन्द्र उमेरमा मभन्दा १५ महिना मात्र जेठा थिए ,’ आचार्यले भने, ‘चिनियाँहरूले राजा वीरेन्द्रलाई सम्मान र विश्वास गर्थे। उनी जीवित रहेको भए यसपटक पनि उनले निम्तो पाउँथे, बोआओ फोरममा उनको सहभागिता रहन्थ्यो।’
Shares
प्रतिक्रिया