राजनीति


अलपत्र प्रदेश मन्त्री : न मन्त्रालय, न सरकारी निवास, शपथ लिएर काठमाडौं गएपछि फर्किनन्

अलपत्र प्रदेश मन्त्री : न मन्त्रालय, न सरकारी निवास, शपथ लिएर काठमाडौं गएपछि फर्किनन्

विनाविभागीय मन्त्री रमा आले मगर। तस्बिर : सुनिता विष्ट


सुनिता विष्ट
चैत २७, २०८० मंगलबार १५:४२, हेटौंडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने शर्तमा मन्त्री नियुक्त भएकी रमा आलेमगर अहिले अलपत्र जस्तै छिन्।

बिनाविभागीय मन्त्रीका रुपमा नियुक्त उनलाई प्रदेश सरकारले सेवा सुविधा नदिँदा प्रदेश राजधानी हेटौँडासमेत आउन नपाएको बताएकी छन्।

गत १९ चैतमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने क्रममा बार्गेनिङ गरेर मन्त्री बनेकी आलेमगरले सेवा सुविधा नपाएकै कारण संघीय राजधानीबाट प्रदेश राजधानी फर्किन नपाएको बताएकी हुन्। 

‘मन्त्रीको शपथ खाएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एउटा कोठामा एक-डेढ घण्टा बसेर काठमाडौं फर्किएँ,’ आलेमगरले नेपालखबरसँग भनिन्, 'प्रदेश प्रमुख कार्यालयमा मन्त्रीको सपथपछि निलो नम्बर प्लेटको गाडी लिन आको थियो। त्यही गाडीमा मुख्यमन्त्री कार्यालयस्थित कोठमा गएर बसेँ। क्वार्टर व्यवस्था नहुने देखिएपछि काठमाडौंमै छु।’

‘गाडी चालक, स्वकीय सचिव र म आफैँ कहाँ बस्ने भन्ने समस्या देखिएपछि घर फर्किएकी हुँ। विभागीय जिम्मेवारी पाएपछि मात्रै राजधानी फर्किन्छु होला’ , उनले भनिन्।

कहिलेसम्म विभागीय जिम्मेवारी दिने सल्लाह भएको छ? नेपालखबरको प्रश्नमा मन्त्री आलेमगरले एक हप्ताभित्रै टुग्यांउने शर्तमा आफूले बिनाविभागीय मन्त्रीको सपथ लिन तयार भएको बताइन्।

‘आज साँझसम्म एक हप्ता पूरा हुन्छ। साँझसम्म कुर्छु। पाइएन भने त्यहीअनुसार अघि बढ्नुपर्ला,’ उनले भनिन्। 

चैत १९ मा मुख्यमन्त्री जम्कट्टेलले सदनबाट विश्वासको मत लिने प्रायोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा उनले तीन घण्टा ढिलो गरेकी थिइन्।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक उनकै कारण ४ बजेका लागि सारिएको थियो।

आफू काठमाडौंमै रहेको बताउँदै आलेमगर हेटौंडा आउन आनाकानी गरेपछि मुख्यमन्त्री जम्कट्टेलले मन्त्री नियुक्त गरिदिने शर्तमा प्रदेश सभा बैठकमा बोलाएका थिए।

मुस्किलले सत्ता बाहिर रहेको हाम्रो नेपाली पार्टी (हानेपा) को समर्थन जुटाएका मुख्यमन्त्रीलाई सत्ता साझेदारले नै धोका दिने स्थिति आएको थियो। तर उनले सत्ता टिकाउनका लागि त्यही दिन तुरुन्तै आलेमगरलाई मन्त्रीमा नियुक्त गरेका थिए। 

काठमाडौंको चन्द्रागिरी नगरपालिकाकी आलेमगर काठमाडौं निर्वाचन क्षेत्र नम्बर १०(ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .