राजनीति


कांग्रेसले दोस्रो दिन पनि छान्न सकेन इलाम र बझाङको उम्मेदवार

कांग्रेसले दोस्रो दिन पनि छान्न सकेन इलाम र बझाङको उम्मेदवार

फाइल तस्बिर


नेपालखबर
चैत २१, २०८० बुधबार १९:१, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दोस्रो दिनको बैठकबाट पनि वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका उम्मेदवार छान्न सकेन।

बुधबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ गम्भीर छलफल भए पनि बिहीबार मात्रै निर्णय हुने जानकारी कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले दिए।

धेरैजना आकांक्षी भएका कारण बिहीबार बिहान संसदीय बोर्डको बैठकमा उनीहरूलाई राखेर छलफल पनि दिउँसो ३ बजे बस्ने कार्य सम्पादन समितिको बैठकले निर्णय लिने उनले बताए। 

‘आज पनि निर्णय हुन सकेन। आजको बैठकले इलाम २ र बझाङ प्रदेश सभाका निर्वाचनका सबै आकांक्षीहरूलाई राखेर भोलि छलफल गर्ने, त्यसपछि सहमति जुटाउने कुरा भएको छ’, विश्वकर्माले भने, ‘भोलि बिहान साढे ९ बजे संसदीय बोर्डको बैठक बस्नेछ। त्यहाँ दुवै क्षेत्रका आकांक्षीहरूलाई बोलाएर छलफल गर्छौँ। त्यसपछि ३ बजे बस्ने कार्यसम्पादन समितिको बैठकले उम्मेदवार तय गर्नेछ।’

उनले सबै आकांक्षीसँग छलफलपछि जिल्लामा असन्तुष्टि नहुने गरी टिकट दिइने बताएका छन्। ‘जसले टिकट पाउनु हुन्छ, उहाँलाई सबै मिलेर जिताउने वातावरण बनाउँछौँ। सबै दाबेदारहरूलाई पार्टीको नेतृत्वले भेटेर टिकट पाउनेलाई जिताउने वातावरण बनाउनु हुन्छ’, उनले भने, ‘इलाम २ र बझाङ प्रदेश सभामा आकांक्षीहरू जिल्लाको नेतृत्व गर्ने नै हुनुहुन्छ। जिल्लाको नेतृत्वलाई असन्तुष्ट हुने गरी टिकट दिँदा परिणाम पार्टीको पक्षमा नआउने भएकाले सबै दाबेदारसँग छलफल गर्ने निर्णय भएको हो।’

यसअघि सभापति देउवाको निवास बूढानीलकण्ठमा मंगलबार ४ घन्टासम्म भएको छलफलमा पनि सहमति जुटेको थिएन। खासगरी इलाम २ लाई लिएर सभापति देउवा र नेता डा. शेखर कोइराला पक्षबीच विवाद छ। 

इलाम २ का लागि सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का २०७९ मा पराजित डम्बर खड्काको पक्षमा छन्। उता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पूर्वमहामन्त्री डा. शशांक कोइराला भेषराज आचार्यको पक्षमा छन्। 

दुवै पक्षले खड्का र आचार्यका लागि अडान नछाडेपछि केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकमा पनि कुरा नमिलेको हो। 

‘धेरै ढिला त भइसक्यो, अब बिहीबार सबै कुरा मिल्छ’, विश्वकर्माले भने, ‘टिकट नपाउने साथीहरूलाई पनि सन्तुष्ट बनाएर हामी जिल्ला फर्काएर चुनाव जित्ने वातावरण बनाउँछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .