राजनीति


उम्मेदवार छनोटबारे कांग्रेसमा विवाद, देउवाले नमानेपछि शेखर बैठक छाडेर हिँडे

उम्मेदवार छनोटबारे कांग्रेसमा विवाद, देउवाले नमानेपछि शेखर बैठक छाडेर हिँडे

फाइल तस्बिर


नेपालखबर
चैत २०, २०८० मंगलबार १८:५१, काठमाडौँ

आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभाका लागि हुन लागेको उपनिर्वाचनको उम्मेदवार छनोटलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा विवाद भएको छ।

मंगलबार दिउँसो सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठकमा उम्मेदवार चयनको विषयमा विवाद भएको हो।

खास गरी सभापति देउवा र नेता डा. शेखर कोइरालाबीच इलाम २ का लागि उम्मेदवार छनोटमा विवाद भएको हो। 

बूढानीलकण्ठमा केन्द्रीय कार्यसम्पादन समिति बैठकअघि संसदीय बोर्डको बैठक बसेको थियो। जहाँ सभापति देउवादेखि उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासमेत सहभागी थिए।

स्रोतका अनुसार इलाम उपनिर्वाचनका लागि जिल्ला कार्यसमितिबाट सिफारिसमध्ये देउवा र उपसभापति खड्का २०७९ को निर्वाचनमा पराजित डम्बर खड्कालाई टिकट दिनुपर्ने पक्षमा थिए।

तर, उता महामन्त्रीद्वयले भेषराज आचार्यले चुनाव जित्ने सम्भावना बलियो रहेकाले उनैलाई टिकट दिनुपर्ने अडान राखेका थिए। भेषराजलाई टिकट दिनुपर्ने दुवै महामन्त्रीको प्रस्तावलाई देउवाले अस्वीकार गरेपछि कार्यसम्पादन समितिको बैठक कुरिरहेका नेता शेखर कोइराला छिरे।

महामन्त्री थापा स्थानीय समितिको रिपोर्टका आधारमा पनि भेषराजलाई टिकट दिनुपर्ने कुरा देउवाले नसुनेको भन्दै निस्किएपछि छिरेका शेखरले पनि आफ्ना कुरा राखे।

दिउँसो २ बजेबाट हुने भनिएको कार्यसम्पादन बैठकअघिको संसदीय बोर्ड बैठकस्थलमा पुगेर डा. कोइरालाले तल्लो समिति र महामन्त्रीहरूले समेत भेषराजले जित्ने सम्भावना रहेको बताइरहेको कुरालाई देउवाले अस्वीकार गरेको भन्दै आपत्ति जनाए। 

‘महामन्त्रीहरू विश्वप्रकाश र गगनले भेषराजलाई नै टिकट दिनुपर्ने कुरा उठाउनु भएको थियो। तर उहाँहरूले राखेको कुरामा शेरबहादुर र पूर्णबहादुर मान्नु भएन’, बूढानीलकण्ठमा रहेका एक नेताले नेपालखबरलाई भने, ‘त्यसपछि शेखर कोइरालाले सभापतिसँग त्यही कुरा राख्नु भयो। तर सभापति नमानेपछि उहाँ बाहिरिनु भयो। शेखरसँगै शशांकले पनि भेषराजलाई टिकट दिनुपर्ने कुरा राखेर बाहिरिनु भएको छ।’

नेता शेखरले बझाङ प्रदेशसभा निर्वाचनमा पनि स्थानीय चुनावमा तेस्रो मत ल्याएकालाई टिकट दिन लागेको भन्दै आपत्ति जनाएका थिए।

 ‘यसअघिका निर्वाचनमा हारेकालाई टिकट नदिने कुरा भएको थियो। तर बझाङमा स्थानीय तह निर्वाचनमा वडामा तेस्रो मत ल्याएकोलाई टिकट दिन लागियो’, शेखरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘हाम्रो र भूगोलको सुझाव र सिफारिस नमान्ने भए तपाईंहरू नै दोषको भारी बोक्नुस् र जिम्मा पनि लिनुस्।’

शेखरले उक्त कुरा भनिरहँदा पूर्वमहामन्त्री शशांक पनि साथमै थिए। उनले पनि ‘दाइले भनेकै कुरामा समर्थन छ’, भनेर बूढानीलकण्ठ छाडेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .