ad ad

राजनीति


नवनियुक्त शिक्षामन्त्री सुमनाको आग्रह: अहिलेलाई शुभकामना मात्र दिनूस्, बधाई होइन

‘मेरी हजुरआमालाई यो क्षणको साक्षी राखेर आशीर्वाद लिन पाएको भए...!’
नवनियुक्त शिक्षामन्त्री सुमनाको आग्रह: अहिलेलाई शुभकामना मात्र दिनूस्, बधाई होइन

नेपालखबर
फागुन २४, २०८० बिहिबार ७:३९, काठमाडौँ

नवनियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले आफूले काम गरेर देखाउन सकेको दिन मात्र आफूलाई बधाई दिन आग्रह गरेकी छन्। 

अहिलेलाई शुभकामना मात्र दिन उनले शुभेच्छुक तथा आम नागरिकलाई अनुरोध गरेकी छन्। 

‘कृपया! हामीलाई त्यस दिन मात्र बधाई दिनुहोला, जुन दिन हाम्रो काम देखिन थाल्नेछ। जुन दिन शिक्षा, विज्ञान तथा प्रविधिका क्षेत्रमा हाम्रा उपलब्धिहरू बधाईका पात्र बन्नेछन्’, शिक्षामन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘अहिलेलाई तपाईंहरूको शुभेच्छा र शुभकामना आवश्यक छ।’

उनले सम्बन्धित क्षेत्रमा आफूले देखेको सपना पूरा गर्न आम नागरिक र कर्मचारीसँग सहयोगको अपेक्षा पनि गरेकी छन्। 

उनले लेखेकी छन्, ‘हामीले देखेको सपना पूरा गर्न र गन्तव्यसम्म पुग्नका लागि हामीलाई निरन्तर तपाईंहरू सबै नागरिकको साथ र कर्मचारी संयन्त्रको सहयोग चाहिन्छ।’ 

यो अन्तिम उपलब्धि नभएर सुरुवात भएको उल्लेख गर्दै उनले १४ महिनामा आम नागरिकबाट प्राप्त साथ, सहयोग र विश्वासका निम्ति आभार प्रकट गरेकी छन्। 

अगाडि लेखेकी छन्, ‘तपाईंहरूकै कारण आज प्रश्न गर्ने ठाउँबाट काम गर्ने ठाउँमा आइपुगेका छौँ।’

यसमा क्रममा शिक्षामन्त्री श्रेष्ठले पारिवारिक भावुक कुरा पनि गरेकी छन्। 

लेखेकी छन्, ‘आजको दिनमा एउटै कुरा खट्किरहेको छ, मैले मेरी माँ (हजुरआमा) लाई यो क्षणको साक्षी राखेर उहाँको आशीर्वाद लिन पाएको भए...!’

यस्तो छ उनको पूरा वक्तव्य-

यो अन्तिम उपलब्धि होइन, सुरुवात हो। विगत चौध महिनामा यहाँहरूले दिनुभएको साथ, सहयोग र विश्वास निम्ति अनुग्रहित छौँ। तपाईंहरूकै कारण आज प्रश्न गर्ने ठाउँबाट काम गर्ने ठाउँमा आइपुगेका छौँ।

हामीले प्रश्न गरिरहँदा हाम्रो मूल मन्त्र थियो- प्रश्न सही भए उत्तर त्यहीँभित्र लुकेको हुन्छ। त्यसै कारण हामीले सही प्रश्न पहिल्याउन नै अथक मिहिनेत, लगनशील अध्ययन र इमानदार प्रयास गरिरह्यौँ। समस्या पहिल्याउने प्रतिबद्ध प्रयास गर्दागर्दै समाधान पनि त्यहीँ कतै भेटिन्थ्यो। आगामी दिनमा पनि हाम्रो कार्यशैली यस्तै रहनेछ। सतही विश्लेषण र लोकप्रिय समाधानमा केन्द्रित नरहेर हामी समस्याको जरासम्म पुग्ने प्रयास गर्नेछौँ र प्रश्नको उत्तर खोज्नेछौँ, समाधान पहिल्याउनेछौँ।

सांसदका रूपमा काम गरिरहँदा जसरी हामी सरोकारवाला र आम नागरिकको अर्थपूर्ण सहभागिता, पारदर्शिता र अपनत्वलाई केन्द्रमा राख्थ्यौँ, त्यही कार्यशैली अब पनि अपनाउने नै छौँ। हामीले हाम्रै देश बनाउनका लागि काम गर्ने हो। सजिलो बाटो त पक्कै छैन, तर सबै जनाको साथ, सहयोग र सहकार्यमा पक्कै पनि हामी त्यहाँ पुग्नेछौँ।

हामीले बोकेको लक्ष्यमा काम गर्दै गर्दा वर्तमान समयमा नेपालमा शिक्षाको आधारभूत अवस्था कस्तो छ भनेर बुझ्न आवश्यक छ। मुलुकको आर्थिक अवस्थाका कारण हामीसँग पर्याप्त स्रोत नभएकाले उपलब्ध स्रोत शिक्षाको क्षेत्रमा कहाँ-कहाँ र कस्तो कस्तो लगानी गर्ने भन्ने विषयमा हामी अत्यन्त सचेत हुनुपर्छ।

कृपया! हामीलाई त्यस दिन मात्र बधाई दिनुहोला, जुन दिन हाम्रो काम देखिन थाल्नेछ। जुन दिन शिक्षा, विज्ञान तथा प्रविधिका क्षेत्रमा हाम्रा उपलब्धिहरू बधाईका पात्र बन्नेछन्। अहिलेलाई तपाईंहरूको शुभेच्छा र शुभकामना आवश्यक छ। हामीले देखेको सपना पूरा गर्न र गन्तव्यसम्म पुग्नका लागि हामीलाई निरन्तर तपाईंहरू सबै नागरिकको साथ र कर्मचारी संयन्त्रको सहयोग चाहिन्छ।

आजको दिनमा एउटै कुरा खट्किरहेको छ, मैले मेरी माँ (हजुरआमा) लाई यो क्षणको साक्षी राखेर उहाँको आशीर्वाद लिन पाएको भए ...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .