नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धन परिवर्तन गर्ने सोमबारको घटना सामान्य नभएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमाले–रास्वपासहितको नयाँ गठबन्धन बनाएको भोलिपल्ट मंगलबार बिहान कोइरालाले यो असामान्य घटना भएको टिप्पणी गरेका हुन्।
यो राजनीतिक परिवर्तनबाट कांग्रेस नेतृत्वले पाठ सिक्नुपर्ने सुझाव उनले दिएका छन्।
‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो, तर हिजो (फागुन २१) को घटना सामान्य होइन’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो साबित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि? भविष्यको लागि सजग बनौँ।’
कोइराला तिनै नेता हुन्, जसले कांग्रेसले माओवादीसँग गठबन्धन गरेको मन पराइरहेका थिएनन् भने कोसी प्रदेशमा माओवादीलाई ‘धोका’ पनि उनैको कारण भएको थियो।
Shares

प्रतिक्रिया