ad ad

राजनीति


नेकपा सांसदको प्रश्न : छाउगोठ भत्काउने मात्रै कि त्यहाँका महिलाको अवस्था पनि बुझ्ने?

नेकपा सांसदको प्रश्न : छाउगोठ भत्काउने मात्रै कि त्यहाँका महिलाको अवस्था पनि बुझ्ने?

नेपालखबर
माघ २९, २०७६ बुधबार ११:३१,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपालबहादुर बमले छाउगोठ भत्काइएका कर्णाली र सुदूरपश्चिम प्रदेशका महिलाको अवस्थाका विषयमा बुझ्न आग्रह गरेका छन्।

सरकारले सुरु गरेको छाउगोठ भत्काउने अभियानमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै बमले छाउगोठ भत्काएपछि ती क्षेत्रका महिलाको अवस्था कस्तो छ ? भन्ने विषयमा बुझ्न सरकारलाई आग्रह गरेका हुन्।

सरकार र अभियानकर्ताहरुले छलफल, सेमिनार गोष्ठी गरे पनि त्यहाँको वास्तविक समस्याको विषयमा छलफल नभएको बताउँदै उनले भने, ‘कर्णालीका महिलाले भोगेका पीडा, छाउगोठ बन्नुका बाध्यता के हुन्? किन त्यो बाध्यताले छाउगोठ बने? भन्ने कुराको अध्ययन गर्न पनि गर्नुहोस्।’

आजसम्म गृहमन्त्रालयले सयौँ छाउगोठ भत्कासकेको बताउँदै उनले गोठ भत्काएपछि महिलाले अहिले के गरिरहेका छन् भन्ने कुराको विश्लेषण आवश्यक रहेको बताए। ‘आजसम्म सयौँ छाउगोठ भत्किएपछि ती महिलाहरुले के गरिरहेका छन् भन्ने भन्ने कुराको विश्लेषण हुनु जरुरी छ’, उनले भने, ‘सरकार र अभियानकर्ताहरुको ध्यानाकर्षण गर्न चाहन्छु।’

कर्णालीमा बन्ने घरहरुको अवस्थाका कारणले पनि छाउगोठ छुट्टै बन्ने गरेको उनले बताए। २ तले घरमा एक तलामा गाईगोरु र अर्को एक तलामा भान्सा, पुजाकोठा, सासू–ससुरा र छोरा बुहारी बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो।

‘भत्काउने कुरा ठिक छ। उनीहरुको अवस्था के हो त? आज ७० प्रतिशत केन्द्र सरकारी बजेट विनियोजन गरेको छ तर कर्णालीका गाउँमा पुगेको छैन्। कुनै राष्ट्रिय गौरवका आयोजना पुगेका छैनन्। त्यहाँको खानेपानी, सिँचाइका कुनै समस्याहरुका बारेमा केही बोलेका छैनन्’, उनले भने, ‘अब अभियान चलाऊँ। भूकम्पका बेला धेरै क्षति भयो पूनर्निमाणको अभियान चलाइयो । अब भत्केका छाउगोठका मान्छेहरुको घरको अवस्था के छ? जसको एउटै कोठा छ, त्यसको घर बनाउने अभियान चलाउने कि नचलाउने सरकारले?’

कर्णालीका महिलाहरुलाई अहिलेसम्म सेनेटरी प्याडको विषयमा समेत जानकारी नभएको उल्लेख गर्दै उहाँले भने, ‘कर्णालीका महिलाले लगाउने लुगाको पनि विश्लेषण हुनुपर्छ। सहरिया महिला जस्तै सुट, पाइन्ट र टाउजर लाएर हिड्ने हुँदैनन्। धोती, चोलो र गुनिउ लगाएका हुन्छन्। सेनेटरी प्याड किन्ने पैसा त्यहाँको महिलासँग हुँदैन्। कति महँगो छ प्याड? सुनेकी पनि छैनन्।’ उनले प्याडलाई सपोर्ट गर्ने लुगा त्यहाँका महिलाले नलगाउने भन्दै त्यसको विश्लेषण गरेर ती महिलाहरुका समस्या सम्बोधन गर्नुपर्ने बताए। महिलाका समस्या र घरका समस्यालाई सम्बोधन गर्नेगरी आगामी कार्यक्रममा बजेट छुट्याउन समेत उनले माग गरे।

उनले अभियानकर्ताहरुलाई ठूला होटलमा कार्यक्रम गरेर मात्रै नहुने भएकाले त्यहाँको वास्तविकता बुझ्न पनि आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .