ad ad

राजनीति


खगराज भट्ट : पहिले लेखराजको छायामा परे, अहिले प्रचण्डले पेले

माओवादीमा किनारकृत भए, अब के गर्लान्?
खगराज भट्ट : पहिले लेखराजको छायामा परे, अहिले प्रचण्डले पेले

फाइल तस्बिर


गोकुल जोशी
फागुन १६, २०८० बुधबार १८:५७, कञ्चनपुर

‘सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ वर्षको राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छ,’ माओवादी स्थायी समिति सदस्य खगराज भट्टले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखे।

त्यसको केही बेरपछि उनले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै आफ्नो लिखित असहमति पत्र बुझाएका छन्। 

भट्टले स्थायी समितिको निर्णयमा असहमति जनाउँदै प्रचण्डलाई लेखेको पत्रमा माओवादीको प्रथम विधान अधिवेशनको दिशा–निर्देशनलाई लत्याउँदै गरिएको संगठनात्मक र संसदीय कार्यविभाजनमा आपत्ति जनाएका छन्।

भट्टको असहमति पत्र त्यो बेला माओवादी हेडक्वार्टरमा पेस गरिएको छ, जुनबेला माओवादी स्थायी समिति बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गर्दा उनी भूमिकाविहीन बनाइएका थिए।

यसअघि गत साउनमा उनीबाट प्रदेश इन्चार्ज र माघमा सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताको जिम्मेवारी पनि खोसिएको थियो। मंगलबार र बुधबार बसेको स्थायी समिति बैठकल त्यसलाई अनुमोदन गर्दै जनप्रतिनिधिलाई इन्चार्ज नबनाउने निर्णय भएको छ। जुन निर्णय भट्टतिर लक्षित छ।

यिनै प्रसंगलाई जोड्दै भट्टले सामाजिक सञ्जालमार्फत नेतृत्वप्रतिका असन्तुष्टि पोख्दै लिखित असहमति पत्र हेडक्वार्टरमा दर्ता गराएका छन्। भट्ट सुदूरपश्चिममा प्रभावशाली नेतामध्ये पर्छन्। उनी जनयुद्धताकाबाटै माओवादीमा संलग्न थिए। 

माओवादीको यो निर्णयमा माओवादी उपमहासचिव जनार्दन शर्मा प्रभाकारसहित स्थायी समिति सदस्य खगराज भट्टले पनि गम्भीर आपत्ति जनाए। उनीहरु दुवैले यो निर्णयविरुद्ध पार्टीमा लिखित फरक मत नै राखेका छन्।

पेरिसडाँडा बैठकबाट अब माओवादी केन्द्र सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी गिरिराजमणि पोखरेल र सह–इन्चार्जको जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई दिइएको छ।

तर प्रचण्डले आफ्ना भाइ नारायण दाहाल र बुहारी बिनालाई प्रदेशको सह–इन्चार्ज बनाउँदा सुदूरपश्चिममा माओवादीका पाका नेता भट्ट किनारामा पारिए।

उनी सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने पार्टीका एक्ला स्थायी समिति सदस्य पनि हुन्।

कुनैबेला हाल एमाले सचिव रहेका लेखराज भट्ट माओवादीमा हुँदा सधैँ छायामा परेका खगराज पछिल्लो समय पार्टीमा तग्रिँदै गएका थिए। 

लेखराज माओवादी सुदूरपश्चिम इन्चार्ज हुँदा खगराज सह–इन्चार्ज थिए। लेखराज एमाले बनेपछि खगराज माओवादी सुदूरपश्चिम इन्चार्ज बने।

तर, उनको इन्चार्ज पद गत साउनमा खोसियो। माओवादीले चलाएको ‘गाउँ फर्क अभियान’का क्रममा सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी जनमोर्चाबाट आएका डिलाराम आचार्यलाई दिइएको थियो। 

खगराजलाई किनारा पार्ने क्रममा त्यतिमै रोकिएन। गत माघमा खगराज माओवादी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताबाट पनि हटाइए। माओवादी सांसदहरुले बहुमत जुटाउँदै मानबहादुर धामीलाई दल नेता बनाए।

प्रदेश इन्चार्ज र माओवादी संसदीय दलको जिम्मेवारी खोसिएका उनै खगराजलाई २०७९ मंसिरको चुनावमा मुख्यमन्त्री बनाउने आश्वासनसहित अध्यक्ष प्रचण्डले प्रदेशमा पठाएका थिए। डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवाको जित पक्का गर्न खगराज प्रदेशमा झारिएका थिए। 

तर खगराजलाई दिइएको उक्त आश्वासन प्रचण्डले पूरा गरेनन्। बरु सुदूरपश्चिम सिनियर नेता उनै खगराजका जिम्मेवारी अहिले सबै खोसिएका छन्। नयाँ जिम्मेवारी तोकिँदा पनि खगराजलाई माओवादी नेतृत्वले किनारा पारिदिएको छ। 

स्थायी समिति सदस्य भट्टलाई पाखा लगाउँदै अब केन्द्रीय सदस्य बिना मगरलाई प्रदेश सह–इन्चार्जको जिम्मेवारी दिइएको छ।

पार्टीमा जुनियर उनलाई अध्यक्ष प्रचण्डकी बुहारी भएकै कारण उच्च जिम्मेवारी दिइएको भन्दै उपमहासचिव शर्माले असहमति पत्र पार्टीमा दर्ता गराएका छन्। 

अध्यक्ष प्रचण्डको संलग्नतामै भट्टलाई विस्थापित गरिएको उनले उल्लेख गरेका छन्। शर्माले अझै एक कदम अघि बढेर सुदूरपश्चिममा अध्यक्ष प्रचण्डले आफ्नो परिवारका सदस्य स्थापित गर्न गुट नै चलाएको आरोप लगाएका छन्। 

माओवादीम भट्ट जनार्दन शर्मानिकट मानिन्छन्। भट्टलाई संसदीय दलको नेताबाट हटाउँदा सुदूरपश्चिममा प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन गुट एकै ठाउँ थिए।

आफूलाई जिम्मेवारीविहीन बनाएकोमा भट्टले अध्यक्ष प्रचण्डलाई लिखित पत्र लेख्दै आपत्ति जनाएका छन्। डा. बाबुराम भट्टराई माओवादीमा हुँदा खगराज उनीनिकट थिए। लेखराज माओवादीमा हुँदा प्रचण्डनिकट भएर खगराजलाई चेपुवामा पारेका थिए।

बाबुरामले माओवादी छोड्दा पनि खगराज उनीसँग गएनन्। बरु कांग्रेस सभापति देउवाको दबदबा रहेको डडेल्धुरामा माओवादीलाई स्थापित गर्न संघर्ष गरिरहे। 

उनै खगराज अहिले अध्यक्ष प्रचण्डको पेलानमा परेका छन्। त्यहीकारण गृहप्रदेशमै उनी माओवादीबाट कित्ताकाट भएर एक्लाइएका छन्।

स्थायी समिति सदस्य भएर पनि यतिबेला खगराज प्रदेशका सबै भूमिकाबाट बिखुम बनाइएका छन्।

स्थायी समितिको निर्णयले आफ्नोे राजनैतिक र व्यक्तिगत जीवन समाप्त गरेको उनले बताएका छन्। स्थायी समितिको निर्णयबाट २४ वर्षको राजनैतिक र संगठनात्मक जीवनलाई समाप्त पार्ने डिजाइनअन्तर्गत राजनैतिक आत्महत्याको दिशामा धकेल्ने कदम भएको उनले बताएका छन्। 

यस निर्णयको प्रतिवाद गर्दै आगामी दिनमा सुदूरपश्चिमका नेता, कार्यकर्ता र जनसमुदायको सल्लाह बमोजिम अगाडि बढ्ने खगराजले प्रचण्डलाई लेखेको पत्रमा भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .