राजनीति


माओवादीमा जनार्दनको गम्भीर असहमति : प्रचण्डका भाइ र बुहारीको जिम्मेवारीबारे उठाए प्रश्न

सुदूरपश्चिममा खगराजलाई किनारा लगाउन खोजिएको आरोप
माओवादीमा जनार्दनको गम्भीर असहमति : प्रचण्डका भाइ र बुहारीको जिम्मेवारीबारे उठाए प्रश्न

फाइल तस्बिर


नेपालखबर
फागुन १६, २०८० बुधबार १३:५६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीमा बुधबार भएको कार्यविभाजनलाई लिएर गम्भीर असहति जनाएका छन्।

माओवादीले उनीसहित अर्का उपमहासचिव वर्षमान पुनलाईसमेत पार्टी प्रदेश इन्चार्जको भूमिकाबाट बिदा गरेको अवस्थामा शर्माले असहमति पत्र नै दर्ता गराएका हुन्। 

शर्माले विधान अधिवेशनले पारित गरेको निर्णयहरूको भाषिक रुपले सम्पादन गरी कार्यान्वन गर्ने कार्यभारप्रति वेवास्ता गरेको कुरा पनि लिखित रुपमै राखेका छन्।

यसअघि बागमती प्रदेश इन्चार्ज रहेका शर्मालाई मंगलबार र बुधबार बसेको स्थायी समिति बैठकबाट बिदा गरिएको छ। उता वर्षमान पुनलाई पनि विशेष प्रदेश इन्चार्जबाट हटाइएको छ।

यस्तो अवस्थामा शर्माले विधान महाधिवेशनबाट पारित विषयलाई बेवास्ता गरी विधिविहीनतालाई निरन्तरता दिने उद्देश्य नेतृत्वले राखेको आरोप पनि शर्माले लगाएका छन्। उनले विधान अधिवेशनबाट पारित भएका निर्णयहरू सम्पादन गरी तुरुन्त कार्यान्वय गर्न पनि माग गरेका छन्। 

उनले स्थायी समितिमा कार्य विभाजन एजेन्डाबारे गृहकार्यका नाममा पटक-पटक बैठक सरेको भन्दै गुनासो गरेका छन्।

शर्माले मंगलबार प्रस्तावित भई असहमतिबीच पारित गरिएका निर्णयहरूप्रति आफ्नो गम्भीर असहमति रहेको जनाउँदै फरक मत दर्ता गराएका छन्। 

‘कार्यविभाजन गर्दा पार्टी निर्माण गर्न संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरूमा कार्यविभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत बेवास्ता गरी विधिविपरीत आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति जाहेर गर्दछु’, उनले भनेका छन्, ‘जनप्रतिनिधिहरू पार्टीको इन्चार्ज नरहने नीति म लगायतका कमरेडहरूलाई लागू गरे पनि नारायण दाहाललाई बागमती प्रदेशको सह-इन्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पस्ट गरेको छ।’

उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइसमेत रहेका नारायण दाहाललाई इन्चार्ज बनाउँदा आफूहरूलाई नियोजित योजनासहित जिम्मेवारी नदिइएको दाबी गरेका छन्। प्रचण्डका भाइ नारायण दाहाल अहिले राष्ट्रिय सभाका सदस्य छन्।

शर्माले सेती-महाकालीमा अध्यक्ष प्रचण्डकै संलग्नतामा गरिएका गतिविधिले त्यहाँ कयौँ नेताहरूलाई पाखा लगाउने काम भएको आरोप लगाएका छन्।

त्यहाँस्थित पार्टीका स्थायी समिति सदस्य खगराज भट्टलाई प्रदेश दलको नेता र इन्चार्ज दुवैबाट पदच्युत गरिएकोमा पनि उनले आपत्ति प्रकट गरेका छन्।

‘अझ गम्भीर कुरा त सेती महाकालीमा केही समयदेखि इन्चार्ज बनाउन अध्यक्षसमेतको संलग्नतामा गरिएका गतिविधिहरूका आधारमा दर्जनभन्दा बढी कमरेडहरूलाई बवास्ता गर्दै, स्थायी समिति सदस्य खगराज भट्टलाई दलको नेता र इन्चार्ज दुवैबाट पदच्युत गरी विकल्प नदिई अपमानित गरिएको छ’, शर्माले भनेका छन्, ‘उक्त प्रदेशमा बिना मगरलाई सह-इन्चार्ज बनाउनुले सेती-महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैँमा गम्भीर छ।’

शर्माले खगराज भट्टराई सबै जिम्मेवारीबाट मुक्त गरेर राजनीतिक रुपमै विस्थापित गर्ने खेल भइरहेको पनि बताएका छन्। 

‘खगराज भट्टलाई यो वा त्यो जिम्मेवारीबाट सन्तुलन नगरी राजनीतिक रुपबाट विस्थापित र अपमानित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दछु’, उनले भनेका छन्, मैले जिम्मेवारी नपाउने कुरालाई सामान्य रुपमा लिएको छु। तर यसभित्रको अन्तर्निहीत उद्देश्य, विधान सम्मेलनमा मैले प्रस्तुत गरेका एजेन्डाहरू, छलफल र हलले पदाधिकारीसमेत अधिवेशनबाट चुनिनुपर्ने मागलाई बेवास्ता गर्दै पदाधिकारी र पार्टी नामबारे पछि गरौँला भन्दै टारिएको अवस्था जगजाहेर छ।’

ती कुराप्रति सकरात्मक रहेकालाई जिम्मेवारीविहीन बनाउनुले नेतृत्वको मनसाय स्पष्ट भएको पनि उनले बताएका छन्। 

‘उक्त विधान अधिवेशनमा मैले मौखिक रुपमा त्यस सम्बन्धमा राखेको कुराप्रति व्यवास्था गरेकाले मैले पार्टीको विधि विधानभित्र रहेर आफ्नो मत राख्न खोज्दा अधिवेशनमासमेत बोल्ने अनुमति नदिएको स्मरण गराउँदै कार्य विभाजनमा आइपुग्दा त्यही आग्रहबाट निर्देशित भएको स्पस्ट हुन्छ’, उनले भनेका छन्। 

जनप्रतिनिधिले पार्टी कामको जिम्मेवारी नलिने नीतिगत व्यवस्था कर्यान्वयन गर्ने कुरा गर्दा अध्यक्ष दाहाल र सम्पूर्ण तहमा लागू गर्ने हो होइन भन्ने प्रश्न उठ्ने पनि उनले बताएका छन्। 

‘विधानको व्यवस्थाअनुसार पार्टी पंक्तिमा आफ्नो मत राख्न पाउने अधिकारको उपयोग गर्दै लिखित असहमति पत्र यस बैठकमा प्रस्तुत गरेको छु’, उनले भनेका छन्, ‘पार्टी निर्माणप्रति प्रतिबद्ध रहँदै सरकार र संसद्का कामसमेतमा सकारात्मक भूमिका निर्वाह गर्ने जिम्मेवारीप्रति स्पस्ट रहेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .