ad ad

राजनीति


किराँतीविरुद्ध रोकिएन साम्पाङको गालीगलौज, मन्त्रीको सचिवालयले पनि फर्काउन थाल्यो जवाफ

किराँतीविरुद्ध रोकिएन साम्पाङको गालीगलौज, मन्त्रीको सचिवालयले पनि फर्काउन थाल्यो जवाफ

नेपालखबर
फागुन १६, २०८० बुधबार १५:४९, काठमाडौँ

नागरिक उड्डयन प्राधिकरणले धरान उपमहानर क्षेत्रमा विमानस्थल बनाउन नमिल्ने निष्कर्ष निकालेपछि आक्रोशित धरानका मेयर हर्क साम्पाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीविरुद्ध गालीगलौज गरेको गर्‍यै छन्। 

मन्त्री भएर पनि धरानमा जसरी पनि विमानस्थल बनाउने चाँजोपाँचो मिलाउन नसकेको भन्दै मेयर साम्पाङले मंगलबारदेखि मन्त्री किराँतीविरुद्ध फेसबुकमा अशिष्ट भाषामा स्टाटस लेखेको लेख्यै छन्। 

बुधबार पनि साम्पाङले किराँतीविरुद्ध ‘हुतीहारा’, ‘गाईभैँसी पालेर बस्नु’जस्ता शब्दले प्रहार गरेका छन्। 

उनले लेखेका छन्, ‘अब आउँदो दिनमा गाईभैँसी पालेर बस्नु। मन्त्री बनेर पनि केही गर्न नसक्नेले फोहोरमैला टिपेजस्तो गरेर फोटो खिचाउनुबाहेक अर्थोक केही नगरेको देख्दा पो हैरान। कुलको इज्यत राख्छ कि भनेको हुतीहारा परेछ। जनताले सम्झिरहनु पर्छ है।’ 

मेयर साम्पाङले धरानमा विमानस्थल बनाउनैपर्ने जिकिर गरेपछि मन्त्री किराँतीको निर्देशनमा नागरिक उड्डयन प्राधिकरणले धरानमा टोली पठाई ‘विस्तृत सम्भाव्यता अध्ययन’ गरेको थियो। तर अध्ययनपछि प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भव नरहेको निष्कर्ष निकालेको थियो। धरान क्षेत्रमा विमानस्थल बनाउँदा विद्यमान हवाई नीति, २०६३ विपरीत हुने प्राधिकरणको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

प्राधिकरणले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा ‘वान वे एप्रोच’ मात्र सम्भव हुँदा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको तथा अन्य विविध प्राविधिक तथा अपरेसन कन्स्ट्रेन्ट्सका कारण गर्दा उक्त ठाउँमा विमानस्थल निर्माण गर्न सम्भव नरहेको प्राधिकरणको निष्कर्ष रहेको छ।’ 

तर मेयर साम्पाङले धरानमा जसरी पनि विमानस्थल बन्नुपर्ने जिकिर गर्दै यसका लागि मन्त्री किराँतीले काम गर्न नसकेको भन्दै गालीगलौजमा उत्रिएका हुन्। 

उनी लेख्छन्, ‘एउटा नाथे नियमावली संशोधन गर्न नसक्ने मन्त्रीले के गर्छ हौ? भाषण मात्रै गर्दै बस्नु, उहिल्यै बर्गर खाको ढिँडो खाको। देश परिवर्तन गर्ने आँट हुनुपर्छ नि! खोइ त आँट? छि!’

उनी यत्तिमै रोकिएका छैनन्। 

अर्काे स्टाटस लेखेका छन्, ‘एउटा जाबो नियमावली बल्दल्न नसक्नेले भुत्रो गर्छ देशको परिवर्तन। मालिकलाई रिझायो बस्यो।’

मन्त्री किराँतीले भने यस विषयमा अहिलेसम्म मुख खोलेका छैनन्। तर उनका प्रेस सल्लाहकार राजन समिपले भने सामाजिक सञ्जालमार्फत नै जवाफ फर्काउन थालेका छन्। 

समिपले फेसबुकमै लेखेका छन्, ‘प्रिय हर्क साम्पाङ! तपाईंले हिजो जति घुर्क्याउनु भो, दंग्याउनु भो, उतानो परेर आलङ्गरी नै खेल्नु भो, छाती पिट्नु भो, त्यतिबेला तपाईंको माग सम्बोधन गरेकै हो। किनकि तपाईंको  घुर्क्याइमा धराने जनताका निम्ति लाभका सुषुप्त आवाज थिए। तर अहिले जे कुरामा बालहठ प्रस्तुत गरिरहनुभएको छ, त्यो धराने जनताको निम्ति त के राज्यकै निम्ति हानिकारक छ। सम्पूर्ण हिसाबले अवैज्ञानिक ठहरिएको आयोजना सञ्चालन गर्नु भनेको त्यो राज्य दोहन मात्रै हैन, राष्ट्रघात पनि हो। त्यति मात्रै हैन, हामी किराँतीका सन्तानहरू प्रकृति पूजक र वैज्ञानिक दुवै हौँ। मानव सृष्टिको चरणमा पुर्खाले जीवनयापनका निम्ति गरेका हरेक संघर्षहरू यो युगसम्म आइपुग्दा ठूला–ठूला वैज्ञानिक आविष्कारका रूपमा स्थापित भइसकेका छन्। तसर्थ वैज्ञानिक पुर्खाहरूका सन्तान हामी पुस्ताले विज्ञानविरोधी कुरा गर्नुचैँ पुर्खामाथिको धोका हो। तपाईंकै भाषामा भन्ने हो भने पुर्खाको बाटो न हिन्ने सन्तान त्योभन्दा नालायक र  कुलंघार कोही हुन सक्तैन। तसर्थ कुरा बुझौँ। कसैले पनि पुर्खालाई धोका नदिऊँ।’ 

हेर्नुहोस् यो खबर लेख्दासम्म बुधबार मात्र साम्पाङले किराँतीविरुद्ध लेखेका स्टाटस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .