ad ad

राजनीति


धरानमा विमानस्थल नबन्ने भनेपछि मन्त्री किराँतीविरुद्ध मेयर साम्पाङद्वारा गालीको वर्षा

मन्त्री किराँतीको सचिवालयले दियो ‘दुर्घटना निम्त्याउन’ सक्ने चेतावनी
धरानमा विमानस्थल नबन्ने भनेपछि मन्त्री किराँतीविरुद्ध मेयर साम्पाङद्वारा गालीको वर्षा

फाइल तस्बिर : मेयर हर्क साम्पाङ र पर्यटनमन्त्री सुदन किराँती


नेपालखबर
फागुन १६, २०८० बुधबार ९:५७, काठमाडौँ

नागरिक उड्डयन प्राधिकरणले धरान उपमहानर क्षेत्रमा विमानस्थल बनाउन नमिल्ने निष्कर्ष निकालेपछि धरानका मेयर हर्क साम्पाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीविरुद्ध गालीगलौजमा उत्रिएका छन्। 

धरान उपमहानगर क्षेत्रमा विमानस्थल (एअरपोर्ट) निर्माण गर्दा हवाई नीतिविपरीत हुने निष्कर्ष निकालेको प्राधिकरणले त्यहाँ विमानस्थल बनाउन नमिल्ने भनी यही फागुन १५ गते विज्ञप्ति जारी गरेयता मेयर साम्पाङले मन्त्री किराँतीविरुद्ध आक्रामक भएका हुन्। 

उनले आफ्नो सार्वजनिक ओहोदासमेत भुलेर मन्त्री किराँतीलाई असभ्य शब्दमा गाली गरिरहेका छन्। उनले एकैदिन (मंगलबार) मन्त्री किराँतीलक्षित सातवटासम्म स्टाटस लेखेका छन्। 

यस क्रममा उनले किराँतीलाई पोचा लाउने कुचिकार कि मन्त्री भन्दै ‘कुलको बदनामी’ गरेको आरोप लगाउनसमेत भ्याएका छन्। 

मन्त्री किराँतीले हालै मन्त्रालयको आफ्नो कार्यकक्ष आफैँले सफा गरेका थिए, जसको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। 

‘सुदन किराँती मन्त्री नै हुन् कि पोचा लाउने कुचीकार? खोइ त प्राधिकरणलाई तह लगाको’, साम्पाङले लेखेका छन्, ‘कुलको बदनामी!’ 
मेयर साम्पाङले मन्त्री किराँतीले राज्यको ढुकुटी ‘सत्यानाश’ पारेको आरोप पनि लगाएका छन्। 

उनले फेसबुकमा लेखेका छन्, ‘केही गर्छ कि भनेको ताइ न तुइको गफबाहेक अरू केही गरेन। मन्त्री भएपछि मन्त्रीजस्तो काम गरे पो यस भन्नु। राज्यको ढुकुटीको सत्यानाश मात्रै!’

उनले संविधान त परिवर्तन हुने उल्लेख गर्दै नियमावली संशोधन गरेर भए पनि धरानमा विमानस्थल बनाइछाड्ने दाबी गरेका छन्। 

साम्पाङले लेखेका छन्, ‘तेरो नियम संशोधन गरेर भए पनि विमानस्थल बनाउनेछौँ। ज्यादा नखोक्। संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली थु...।’

यसैबीच मन्त्री किराँतीको सचिवालयले भने यस्तो अभिव्यक्तिले ‘दुर्घटना निम्त्याउन सक्ने’ चेतावनी दिएको छ। 

मन्त्री किराँतीका प्रेस सल्लाहकार राजन समीपले फेसबुकमा लेखेका छन्, ‘हर्क भावना र काम गर्ने हुटहुटीको सम्मान गर्नैपर्छ। उहाँको निस्वार्थ समर्थकहरूलाई पूँजीको रूपमा लिन सकिन्छ। तर प्रिय हर्कमनहरू आवेगमा संवेगात्मकता मिठा साहित्य सिर्जना हुन्छन् नै। तथापि वैचारिक लगामविहीन भावनाले ठूला दुर्घटना निम्त्याउन सक्छन्। तसर्थ हर्क भावनाहरूलाई निराशाको उच्चतम बिन्दुसम्म पुर्‍याउन मलजल नगर्दा नै वातावरण अनुकुलनीय हुन्छ।’

हेर्नुहोस् साम्पाङका स्टाटस-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .