राजनीतिक प्रतिशोधको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता विजय गच्छदारलाई भ्रष्टाचारको मुद्दा चलाएको आरोपमा लगाउँदै संसद अवरोध गर्दै आएको नेपाली कांग्रेसले आजबाट अवराेध नगर्ने निर्णयसँगै मंगलबारदेखि बैठक सुचारू भएको छ।
नेपाली कांग्रेसको संसदीय दलको मगलबार बसेको बैठकले गच्छदारविरुद्धका मुद्दालाई राजनीतिक र कानुनीरुपमा जारी राख्ने भए पनि संसद अवरोध भने हटाउने निर्णय गरेको हो।
यसअघि कांग्रेसले लगातार संसद बैठक तीनपटक अवरोध गरेको थियो।
‘गच्छदारविरुद्ध राजनीतिक प्रतिशोधको आधारमा जुन मुद्दा लगाइएको छ। त्यसविरुद्ध कानुनी र राजनीतिक लडाइँ जारी राख्ने भए पनि संसद अवरोध भने हटाउने निर्णय गरेको छ,’ कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले नेपालखबरसँग भनिन्।
गत आइतबार कांग्रेसले तेस्रोपटक प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो। आइतबार दिउँसो १ः४५ बजेबाट सुरु भएको बैठक प्रतिनिधिसभाको बैठक सभामुखले आरम्भ भएको घोषणा गर्नसाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए।
कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि कांग्रेसले सडक र सदनबाट विरोध गर्दै आएको थियो।

प्रतिक्रिया