ad ad

राजनीति


बालेनलाई शंकर पोखरेलको जवाफ: धरहरा निर्माण उतिबेलै सकिएको हो

‘यो परियोजनाको दूरदर्शी दृष्टिकोण र महत्त्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वाभाविक हो’
बालेनलाई शंकर पोखरेलको जवाफ: धरहरा निर्माण उतिबेलै सकिएको हो

नेपालखबर
माघ २३, २०८० मंगलबार ११:५१, काठमाडौँ

तत्कालीन प्रधानमन्त्री आफ्ना अध्यक्ष केपी शर्मा ओलीले निर्माण पूरा नहुँदै धरहरा उद्घाटन गरेको भनेर आलोचना भइरहेका बेला नेकपा एमालेका महासचिव शंकर पोखरेलले धरहरा निर्माण उतिबेलै पूरा भएको दाबी गरेका छन्। 

धरहरामा निर्माण पूरा हुन बाँकी रहेको भन्दै त्यहाँ निःशुल्क पार्किङ बन्द गर्न सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन एकाइबाट पत्र आएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आक्रोश व्यक्त गर्दै यस्तो पत्र तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पठाउनू भनी सोमबार सामाजिक सञ्जालमा लेखेका थिए। र, ओलीको कडा आलोचना गरेका थिए।

त्यसको भोलिपल्ट मंगलबार बिहान एमाले महासचिव पोखरेलले आफ्ना अध्यक्षको प्रतिरक्षा गर्दै नाम नलिईकन मेयर बालेनविरुद्ध व्यंग्य गरेका हुन्।  

‘तात्कालिक प्रधानमन्त्री (केपी ओली) ले नवनिर्मित धरहरा उद्घाटन गरेको हो। जसको निर्माण कार्य उतिबेलै सम्पन्न भइसकेको छ। अरू परियोजनाको काम सरकार परिवर्तनका कारणले विलम्ब भएको छ’, महासचिव पोखरेलले लेखेका छन्, ‘तर निर्माण सम्झौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा जारी छ। यो परियोजनाको दूरदर्शी दृष्टिकोण र महत्त्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वाभाविक हो।’

यस्तो छ शंकर पोखरेलको स्टाटस-

धरहरा पुननिर्माणको परियोजनाअन्तर्गत त्यसलाई नयाँ स्वरुपमा निर्माण गर्नेगरी पाँच भागमा विभक्त गरिएको थियो। पहिलो पुरानो धरहराको बचेको भागलाई परदर्शी सिसाले छोपेर जस्ताको त्यस्तै संरक्षण गरी सुरक्षित राख्ने। दोस्रो- त्यसको छेवैमा पुरानो स्वरुपमा तर नयाँ प्रविधिको प्रयोगरी सुरक्षित धरहराको निर्माण गर्ने। तेस्रो- भूकम्पको बारेमा जानकारी गराउने हिसाबले म्युजियमको निर्माण गर्ने। चौथो- भित्री सहर र पर्यटकको सुविधालाई समेत ध्यानमा राखेर अन्डर ग्राउन्ड पार्किङ स्थल निर्माण गर्ने र पाँचौ- अन्डर ग्राउन्ड पार्किङको माथिल्लो भागमा बगैँचा निर्माण गर्ने र सुन्धारालाई सौन्दर्यीकरण गर्ने।

त्यसका लागि गोस्वारा हुलाकसमेतको वरिपरिको सरकारी जमिनसमेत प्रयोग गरिएको छ। तात्कालिक प्रधानमन्त्रीले नवनिर्मित धरहरा उद्घाटन गरेको हो। जसको निर्माण कार्य उतिबेलै सम्पन्न भइसकेको छ। अरु परियोजनाको काम सरकार परिवर्तनका कारणले विलम्ब भएको छ। तर निर्माण सम्झौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा जारी छ।

यो परियोजनाको दूरदर्शी दृष्टिकोण र महत्त्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वाभाविक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .