ad ad

राजनीति


उपनिर्वाचनमा रक्षामन्त्री खड्काको चासो

उपनिर्वाचनमा रक्षामन्त्री खड्काको चासो

नेपालखबर
माघ २१, २०८० आइतबार १६:५५, काठमाडौँ

निर्वाचन आयोगले संघ, प्रदेश र स्थानीय तहमा रिक्त रहेका स्थानहरूमा उपनिर्वाचनको तयारीका लागि सरकारको ध्यानाकर्षण गराएको छ।

प्रमुख  निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा गएको आयोगको प्रतिनिधिमण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर हालसम्म रिक्त रहेका स्थान र त्यहाँ निर्वाचन गराउन आवश्यक पर्ने तयारीका विषयमा ध्यानाकर्षण गराएका हुन्।

आयोगको सम्पर्क विभाग पनि गृह मन्त्रालयले नै हो। गृहमार्फत् नै उसले सरकारसँग सञ्चार गर्छ।

तर, प्रमुख आयुक्त थपलिया नेतृत्वको टोलीले अर्का उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग पनि भेटेर छलफल गरेका छन्।

उपप्रधानमन्त्री खड्काको सचिवालयले दिएको जानकारीअनुसार, प्रमुख निर्वाचन आयुक्त थपलियाले आज सिंहदरबारस्थित रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचन र अब गर्नुपर्ने  उपनिर्वाचनका विषयमा छलफल गरेका हुन्।

गृहलाई सम्पर्क मन्त्रालय तोकिएको भए पनि किन रक्षामन्त्रीकहाँ समेत आयोग टोली रिपोर्टिङ गर्न पुग्यो त?

प्रमुख आयुक्त थपलियाले नेपालखबरसँग भने, ‘हामीले पहिला गृहसँग छलफल तथा जानकारी आदानप्रदान गर्‍यौँ। चुनावसँग सुरक्षाको विषयसमेत जोडिने भएकाले हामीले रक्षा मन्त्रालयसँग पनि छलफल गरेका हौँ। मैले आफैँले समय मागेको थिएँ। बजेटका लागि अर्थसँग पनि छलफल गर्नुपर्छ।’  

२५ स्थानमा उपचुनाव 

विभिन्न कारणले रिक्त रहेका २५ स्थानमा आयोगले उपनिर्वाचनको तयारी गरेको छ। केही दिनमै सम्भावित मितिबारे सिफारिस र परामर्श दिने गरी आयोगले गृहकार्य अघि बढाएको छ।

आयोगको सिफारिसमा सरकारले मिति तोक्ने संविधानको व्यवस्था छ।

हालसम्म संघ, प्रदेश र स्थानीय तह गरी २५ स्थान रिक्त छन्। 

निर्वाचन आयोगका अनुसार, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा एक/एक पद रिक्त छन्।

इलाम निर्वाचन क्षेत्र-२ बाट निर्वाचित नेकपा (एमाले)का सांसद सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएको थियो भने सुदूरपश्चिम प्रदेश बझाङ निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको थियो।

यस्तै, जिल्ला समन्वय समिति प्रमुखमा २, नगर उपप्रमुखमा १, गाउँपालिका अध्यक्ष १, गाउँपालिका उपाध्यक्ष २ र १७ वडाध्यक्ष गरी स्थानीय तहमा २३ स्थान रिक्त छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .