राजनीति


भारत भ्रमणमा रहेको संसदीय प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्री भेट

भारत भ्रमणमा रहेको संसदीय प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्री भेट

नेपालखबर
माघ १९, २०८० शुक्रबार १८:१९, काठमाडौँ

भारत भ्रमणमा रहेको नेपाली सांसदहरुको प्रतिनिधिमण्डलले आज राजधानी नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा रहेको सो प्रतिनिधिमण्डलले विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गरेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ  

उक्त भेटमा दुई देशको सम्बन्ध, पारस्परिक सहयोग र हितका विविध विषयमा महत्वपूर्ण कुराकानी भएको विदेशमन्त्री एस जयशङ्करले सामाजिक सञ्जालमार्फत् जानकारी दिए।

भारतको लोकसभाको निमन्त्रणामा सभापति यादव नेतृत्वको सो संसदीय प्रतिनिधिमण्डल यही माघ १६ गते भारतको राजधानी नयाँ दिल्ली पुगेको थियो। 

यसअघि भारत यात्रामा रहेका नेपालका ८ जना सांसदहरूको टोलीले त्यहाँस्थित लोकसभाका अध्यक्षसँग भेटवार्ता गरेका थिए। 

उनीहरू भारतीय लोकसभाको विदेश मामिला समितिको निम्तोमा त्यहाँ पुगेका हुन्। अनुभव आदानप्रदानका लागि यो भ्रमण गरिएको समितिका सभापति यादवले मंगलबार नयाँ दिल्लीस्थित पत्रकारहरूसँग बताएका थिए। 

यादवले लोकसभाले गरेको निम्तो मान्न आफूहरू भारत भ्रमणमा निस्किएको बताए। उनले भारतीय लोकसभाको अभ्यास हेरेर तिनबाट आफूहरूले धेरै सिक्न सकिने बताए।

भारत यात्रामा रहेका नेपाली सांसदहरूमा टोली नेता राजकिशोर यादव, सांसदहरू छिरिङ शेर्पा, हरिप्रसाद उप्रेती, शिशिर खनाल, योगेश गौचन, सम्झना थपलिया, गंगाराम चौधरी र सुनिता बराल  छन्। 

यो टोलीमा संसदीय समितिका समितिका सहसचिव बबिता मिश्र र शाखा अधिकृत प्रमिला पौडेल गौतम पनि छन्।

नेपाली टोली नयाँ दिल्लीमा राजनीतिक संवाद सकेर पर्यटकीयस्थल गोवा पनि जाने भएको छ। त्यहाँपछि मुम्बई, लखनऊ र हिन्दु धर्मावलम्बीको तीर्थस्थल बनारस पनि यो टोली जाने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .