ad ad

राजनीति


पूर्वराजाको साथ लिने प्रयासमा प्रसाईँ, नागरिक अभिनन्दनको निम्तो


नेपालखबर
माघ १६ , काठमाडौँ

व्यवसायी दुर्गा प्रसाईँ पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत आफ्नो अभियानमा जोड्ने प्रयासमा लागेका छन्।

देशव्यापी नागरिक बचाउ अभियान सञ्चालन गरिरहेका उनले सोमबार सिमरामा पूर्वराजा शाहलाई भेटे। त्यस क्रममा अभियानको अनुभव र हालसम्म आफूले विस्तार गरेको संगठन सञ्जालका बारेमा जानकारी दिए।

भेटपछि उनले फेसबुकमा लेखेका छन्, ‘श्री ५ महाराजधिराज सरकारसँगको अर्थपूर्ण भेट। लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरुले र भ्रष्ट नेताबाट प्रताडित देशले छिट्टै निकास पाउनेछ। धैर्य गर्नुहोला।’

प्रसाईँले आउँदो फागुन १ गते काठमाडौँकेन्द्रित कार्यक्रम गर्दै छन्। आफ्नो अभियान एक वर्ष पुग्न लागेको अवसर पारेर उनले गर्ने कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रलाई समेत निम्त्याउने उनको प्रयास छ। त्यही कार्यक्रममा निम्ता दिन उनले आज भेटेको उनको सचिवालयले जनाएको छ।

पूर्वराजा शाहले भने प्रसाईँको अभियानमा भन्दा पनि अभिनन्दनजस्तो कार्यक्रम राखेमा आफू उपस्थित हुन सक्ने जनाउ दिएका छन्। त्यसैले काठमाडौँको कार्यक्रममै शाहको अभिनन्दन गर्ने तयारीमा लाग्न मातहत समितिलाई प्रसाईँले निर्देशन दिएका छन्। उनले अभिनन्दनका लागि निम्तो पनि दिएको उनको सचिवालयले जानकारी दिएको छ।

यसअघि अभियानको उद्घाटन कार्यक्रममा शाह परिवारसहित उपस्थित भएका थिए।

गत वर्षको फागुन १ गते झापाको काकडभिट्टा पुलमा गरिएको कार्यक्रममा पूर्वराजा शाहसँगै उनका छोरा पारस र छोरी प्रेरणा मञ्चमै बसेका थिए। ‘अभियानको एक वर्ष पुगेको अवसरमा अब केही महत्त्वपूर्ण सन्देश दिने कार्यक्रमको तयारीमा छौँ,’ अभियानका संगठन विभाग प्रमुख हरि कार्कीले नेपालखबरलाई भने।

कार्कीका अनुसार, हालसम्म १४ अञ्चल र ६३ वटा जिल्लामा संगठन विस्तार गरिसकिएको छ। प्रसाईँले आफ्नै नेतृत्वमा नागरिक सरकार घोषणा पनि गर्दै छन्।

हिजो मात्र उनले बलिउड अभिनेत्री मनीषा कोइरालासँगको भेटको तस्बिर सार्वजनिक गरेका थिए। प्रसाईँले मनीषासँगको फोटो सामाजिक सञ्जालमा हाल्दै 'अर्थपूर्ण भेट' भनेका थिए। मनिषाले पनि पछिल्लो समय अहिलेको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आएकी छन्। 
 

माघ १५, २०८० सोमबार १४:७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .