बालुवाटारको सरकारी जग्गा हत्याउन विगतमा संलग्न रहेकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएको आरोप लगाउँदै शनिबार बिहान बालुवाटारमा प्रदर्शन गरिरहेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
‘प्रदर्शनमा गएका विवेकशील नेपाली दलका ११ जना नेताहरू अनि सदस्यहरुलाई प्रहरीले नियन्त्रण गरेकोमा निजहरूलाई तत्कालै रिहा गर्न माग गर्दछौं,’ विवेकशील नेपाली दलकी उपाध्यक्ष अजीता राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ। ‘वालुवाटारको ललिता निवासको सरकारी जग्गा हत्याउन विगत ३० वर्षमा भएका हतकन्डाहरूको बारेमा सार्वजनिक भएपछि विवेकशील नेपाली दलले निरन्तर दबाब कार्यक्रम गर्दै आएको जानकारी गराउन चाहन्छौँ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसमा संलग्न भएका भनिएका व्यक्तिहरूलाई मुद्दा लगाउने निर्णयको भने उसले स्वागत गरेको छ।
‘पक्षधरता देखिएर मुद्दा चलाउने तथा नचलाउने निर्णय भएको हुँदा विवेकशील नेपाली दलले अदुअआको ध्यानाकर्षण गर्न विवेकशील दलका नेतृत्व वर्ग, सदस्य तथा शुभेच्छुकहरूले आज बिहान ललिता निवास अगाडि गएर प्रदर्शन गरेका थियौँ,’ विवेकशीलले भनेको छ।
पक्राउ पर्नेमा संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, रन्जु दर्शना न्यौपाने, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शीशिर राई, मनिष खनाल, प्रदिप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु छन्।

प्रतिक्रिया