ad ad

राजनीति


मध्यपहाडको प्रमुख चुनौती बसाइँसराइ : एमाले

मध्यपहाडको प्रमुख चुनौती बसाइँसराइ : एमाले

नेपालखबर
माघ ९, २०८० मंगलबार १२:७, काठमाडौँ

नेकपा (एमाले)ले मध्यपहाडको प्रमुख चुनौती बसाइँसराइ रहेको निष्कर्ष निकालेको छ। यसका कारण मध्यपहाडका बस्ती नै निर्जन हुने स्थिति देखापरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो। उक्त समयमा स्थानीयले माग गरेका विषय समेटेर एमालेले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण पत्र बुझाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जनताका मागसहितको ध्यानाकर्षण पत्र बुझाएको हो।

ध्यानाकर्षण पत्र बुझाएपछि सञ्चारकर्मीसँग बोल्ने क्रममा उपमहासचिवले ज्ञवालीले उक्त कुरा बताएका हुन्। पूर्वाधारका हिसाबले मध्यपहाडमा धेरै काम अघि बढेको र सकारात्मक परिवर्तन ल्याएको भए पनि बसाइसराइँ प्रमुख चुनौतीका रूपमा रहेको उनले बताए।

जलस्रोत, पर्यटन, खानी र खनिजको हिसाबले मध्यपहाड समृद्धिको सेन्टर बन्नसक्ने एमालेको निष्कर्ष रहेको पनि ज्ञवालीको भनाइ छ।

‘ध्यानाकर्षण पत्रमा हामीले मध्यपहाडमा देखेको विकासका सम्भावनाहरू समेटेका छौँ,’ उपमहासचिव ज्ञवालीले भने, ‘पूर्वाधारका हिसाबले मध्यपहाडमा धेरै काम अघि बढेको, यसले ठूलो सकारात्मक परिवर्तन ल्याएको, कृषि, फलफूल र पशुपालनका दृष्टिले असाध्यै उर्बर क्षेत्रका रूपमा रहेको छ।’

उनी थप्छन्, ‘जलस्रोतको भन्डार भएको, पर्यटनको सम्भावना बढी भएको, खानी र खनिज रहेको हिसाबले मध्यपहाड समृद्धिको सेन्टर बन्न सक्छ।’

ध्यानाकर्षण पत्रमा विभिन्न ४६ क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग बुझाएको ज्ञवालीले बताए। जसमध्ये गण्डकीबाट १६१, कोसीबाट १७०, सुदूरपश्चिमबाट १३५, बागमतीबाट ११३, कर्णालीबाट ८९, लुम्बिनीबाट ७५ र मधेस प्रदेशबाट ८ वटा रहेको उनले बताए।

यी क्षेत्रमा सडक, शिक्षा, पर्यटन, कृषि, फलफूल र स्वास्थ्य बढी माग भएको उनले बताए।

उद्योग, ऊर्जा, मोटरेबल पुल, सिंचाई, भवन निर्माण, संस्कृति संरक्षण, भूमि व्यवस्था, बस्ती विकास, खेलकुद, जातीय विभेद, छुवाछुत र हिंसाको विरुद्ध, खानेपानी व्यवस्थापन, स्रोत संरक्षण, भूकम्पको पुनःनिर्माण, सुरुङ मार्ग निर्माण, भूक्षय नियन्त्रण, तटबन्ध लगायतका विषय पनि जनताको प्राथमिकतामा रहेको ज्ञवालीले बताए।

मध्यपडाही लोकमार्गको विभिन्न ठाउँमा रिएलाइन्मेन्टको कुरा एमालेले गरेको र यहाँ बसाल्ने भनिएका नयाँ सहरको काम अघि नबढेकोप्रति पनि ध्यानाकर्षण गराइएको ज्ञवालीले बताएका छन्।

ज्ञापन पत्र ग्रहण गरेसँगै प्रधानमन्त्री दाहालले यी विषयलाई आफूले गम्भीरताका साथ लिएको र एमालेको अभियानले लोकतन्त्र बलियो बनाउन मद्दत गरेको बताएको पनि उपमहासचिव ज्ञवालीले बताए।

सुझावलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने प्रतिबद्धता प्रधानमन्त्रीबाट प्राप्त भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .