ad ad

राजनीति


राष्ट्रिय सभा चुनाव : आज र भोलि उम्मेदवारविरुद्धका उजुरीमा छानबिन हुने

राष्ट्रिय सभा चुनाव : आज र भोलि उम्मेदवारविरुद्धका उजुरीमा छानबिन हुने

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०८० बुधबार ८:४३, काठमाडौँ

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आज र भोलि उम्मेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि छानबिन हुँदैछ। 

राष्ट्रियसभाको आगामी फागनु २० गतेबाट रिक्त हुन लागेको २० सिटका लागि गएको सोमबार मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन हुने निर्वाचन आयोगले जनाएको छ। 

राष्ट्रियसभाका २० सिटका लागि विभिन्न राजनीतिक दलबाट ५२ जनाको उम्मेदवारी परेको छ।  ५२ मध्ये दुई जना उम्मेदवारविरुद्ध मात्रै उजुरी परेको आयोगले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णालीमा माओवादी केन्द्रबाट दलित क्लस्टरमा उम्मेदवारी दिएका विष्णुबहादुर विकविरुद्ध उजुरी परेको छ। 

भट्टविरुद्ध अपाङ्गतासम्बन्धी प्रमाण नपुगेको तथा विकविरुद्ध प्रतिनिधि सभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

यसपछि नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २७ गते आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। 

उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि आयोगले पुस २८ गते चुनाव चिह्न दिनेछ।

यसपछि माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम छ। राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ४७ मतदाता छन्।

आगामी फागनु २० गते राष्ट्रिय सभाका रिक्त हुने २० मध्ये १९ जना निर्वाचनबाट चयन गर्न लागिएको हो। एक जना भने सरकारको सिफारिसमा  राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ। 

रिक्त हुने पदमा एक महिनाअगावै चुनाव गरी सदस्य चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .