राजनीति


राष्ट्रिय सभा चुनावका मतदाताको अन्तिम नामावली सार्वजनिक (सूची)

राष्ट्रिय सभा चुनावका मतदाताको अन्तिम नामावली सार्वजनिक (सूची)

नेपालखबर
पुस २२, २०८० आइतबार १८:२२, काठमाडौँ

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार निर्वाचन आयोगले मतदाताहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ। 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन्। 

आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीअनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ९३ र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुखतर्फ २७४ जना  गरी जम्मा मतदाता ३६७ छन्।

यसअनुसार कोशी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार ४,९२९ र गाउँपालिका/नगरपालिकातर्फको मतभार ५,२०६ गरी कूल मतभार १०,१३५ हुने आयोगले जनाएको छ।

यस्तै मधेश प्रदेशमा प्रदेशसभा सदस्यतर्फ १०७ र गाउँपालिका/नगरपालिकातर्फ २६७ गरी जम्मा ३७४ जना मतदाता कायम भएका छन्‌। जसअनुसार मधेशमा प्रदेशसभा सदस्यको मतभार ५६७१ र गाउँपालिका/नगरपालिकातर्फ मतभार ५०७३ गरी कूल १०७४४ मतभार  हुने आयोगले उल्लेख गरेको छ। 

आयोगका अनुसार, बागमतीमा प्रदेश सभा सदस्यतर्फ ११० र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुखतर्फ २३७ गरी कूल ३४७ जना मतदाता छन्‌। जसअनुसार बागमतीमा प्रदेश सभा सदस्यको मतभार ५,८३० र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुखको मतभार ४,५०३ गरी कूल मतभार १०,३३३  कायम हुनेछ। 

यसैगरी गण्डकी प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ६० र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुखतर्फ १७० गरी कूल २३० जना मतदाता छन्‌। यसअनुसार गण्डकीमा प्रदेश सभा सदस्यको मतभार ३,१८० र गाउँपालिका/नगरपालिकातर्फ मतभार ३,२३० गरी कूल ६,४१० मतभार कायम हुने आयोगले जनाएको छ। 

आयोगका अनुसार, लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ८७ र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुखतर्फ २१८ गरी कूल ३०५ जना मतदाता कायम भएका छन्‌। जसअनुसार लुम्बिनीमा प्रदेशसभा सदस्यको मतभार ४६११ र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुखतर्फको मतभार ४,१४२ गरी कूल ८,७५३ मतभार हुनेछ।

यसैगरी कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ४० र गाउँपालिका अध्यक्ष/ उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुखतर्फ १५६ गरी कूल मतदाताको संख्या १९६ कायम भएको आयोगले जनाएको छ। जसअनुसार कर्णालीमा प्रदेश सभा सदस्यको मतभार २,१२० र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुखतर्फको मतभार २,९६४ गरी कूल ५,०८४ मतभार हुनेछ।

आयोगका अनुसार सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ५२ र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुखतर्फ १७६ जना गरी कूल २२८ जना मतदाता छन्‌। यसअनुसार सुदूरपश्चिममा प्रदेश सभा सदस्यको मतभार २७५६ र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिका प्रमुख/उपप्रमुखको मतभार ३,३४४ गरी कूल ६१०० मतभार कायम हुनेछ। 

हेर्नुहोस् मतदाताको अन्तिम नामावलीको सूची

यी हुन् फागुन २० गते बिदा हुने २० जना राष्ट्रियसभा सदस्य 
आगामी फागुन २० गते राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सदस्यको ६ वर्षे कार्यकाल पूरा हुँदै छ। जसमा एमालेका ९, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाका १ र एक जना स्वतन्त्र निर्वाचित सदस्य छन्।  

जसअनुसार एमालेका गणेशप्रसाद तिमिल्सिना (अध्यक्ष) दीपा गुरुङ (गण्डकी), इन्दु कडरिया (सुदूरपश्चिम), खिमलाल भट्टराई (लुम्बिनी), दिलकुमारी रावल थापा (बागमती), रामचन्द्र राई (बागमती), नरपती लुवार (कर्णाली), भैरव सुन्दर श्रेष्ठ (कर्णाली) र राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल हुन्। 

यस्तै फागुन २० गते नेपाली कांग्रेसका अनिता देवकोटा (लुम्बिनी), जितेन्द्रनारायण देव (मधेश), प्रकाश पन्थ (गण्डकी) र रमेशजंग रायमाझी (कोशी) पनि राष्ट्रिय सभा सदस्य पदबाट बिदा हुँदै छन्। 

यसैगरी नेकपा माओवादी केन्द्रका महेश कुमार महरा (सुदूरपश्चिम), हरिराम चौधरी (सुदूरपश्चिम) र विना पोखरेल (कोशी) को कार्यकाल सकिँदै छ।

यस्तै एकीकृत समाजवादीबाट नन्दा चपाईं (कर्णाली) र सिंगबहादुर विश्वकर्मा (बागमती) को कार्यकाल पनि फागुन २० मा सकिँदै छ।

यसैगरी जनता समाजवादी पार्टी (जसपा) की प्रमिला कुमारी (मधेश प्रदेश) र बागमती प्रदेशबाट स्वतन्त्र रूपमा निर्वाचित खिमलाल देवकोटाको कार्यकाल पनि सकिँदै छ। 

राष्ट्रिय सभाका कूल ५९ सदस्यमध्ये गोला प्रथाबाट एकतिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एकतिहाइको ४ वर्ष र बाँकी एकतिहाइ सदस्यको २ वर्ष कार्यकाल निर्धारण गरिएको थियो। फागुन २० गते ६ वर्षेवाला २० सदस्यको कार्यकाल पूरा हुने भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .