माल्दिभ्सले छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीप्रति अभद्र टिप्पणी गरेका तीन उपमन्त्रीलाई निलम्बन गरेको छ। मोदीले लक्षदीप टापुको भ्रमण गरेपछि दुई देशबीच कूटनीतिक किचलो सुरु भएको थियो।
मोदीले गत बिहीबार पर्यटन प्रवद्र्धनका लागि लक्षदीप भ्रमण गरेको भन्दै एक भिडिओ सार्वजनिक गरेका थिए।
भारतीय एक्स प्रयोगकर्ताहरुले सो भिडिओ सेयर गर्दै माल्दिभ्स होइन, लक्षदीप भ्रमण गर्नुपर्ने बताए। यसबाट क्रुद्ध मालदिभ्सका नागरिकले भारतीयहरुलाई गाली गर्न थाले।
मालदिभ्सकै उपमन्त्री मरयम सिउनाले मोदीलाई ‘तमासे’ भन्दै एक्समा आपत्तिजनक टिप्पणी गरिन्।
माल्सा सरिफ र महजुम माजिद नामका उपमन्त्रीहरुको अभिव्यक्तिलाई लिएर पनि भारतीयहरुले चर्को आपत्ति जनाएका थिए। कतिपयले मालदिभ्समा भारतीय पर्यटक जान नहुने बताउन थालेका छन्।
यसलाई लिएर भारतीय दूतावासले समेत मालदिभ्सको विदेश मन्त्रालयसँग आपत्ति प्रकट गरेको बताइएको छ।

त्यसपछि सरकारले यी उपमन्त्रीहरुको अभिव्यक्तिबाट अलग गर्दै तीनै जनालाई निलम्बन गरेको मालदिभ्सको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
यसअघि केही समयअघि मात्र राष्ट्रपति निर्वाचित भएका मोहम्मद मोइजुले मालदिभ्सबाट भारतीय सेना हटाउन आग्रह गरेका थिए। यसबाट भारत क्रुद्ध बनेको थियो। एजेन्सी
Shares

प्रतिक्रिया