ad ad

राजनीति


प्रधानमन्त्रीलाई बुझाएको हरिबोलको राजीनामा पत्रमा के छ?

प्रधानमन्त्रीलाई बुझाएको हरिबोलको राजीनामा पत्रमा के छ?

फाइल तस्बिर


नेपालखबर
पुस १९, २०८० बिहिबार १६:३, काठमाडौँ

गत मंसिर २० गते हरिबोल गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको राजीनामा पत्र सार्वजनिक भएको छ।

एक महिनापछि प्रधानमन्त्री प्रचण्डले स्वीकृत गरेको राजीनामा पत्र बिहीबार सार्वजनिक भएको छ।

उक्त एक पृष्ठको राजीनामा पत्रमा भ्रष्टाचारविरोधी अभियान चलाएर जनताको विश्वास जित्ने अवसर माओवादीले गुमाएको निष्कर्ष गजुरेलले निकालेका छन्। 

गजुरेलले सरकारको तर्फबाट प्रधानमन्त्रीले अगाडि बढाएको भ्रष्टाचारविरुद्धको सङ्घर्षलाई केन्द्रमा राखेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा वातावरण बनाउन र नेतृत्वलाई सजग गराउन गरेका प्रयासहरूले जनतामा राम्रो छाप परेको उनले बताएका छन्।

‘वास्तवमै भ्रष्टाचारविरुद्ध प्रधानमन्त्रीको सङ्घर्ष गर्व गर्न लायक थियो। यसमा आमजनताको साथ र सहयोग अभूतपूर्व रह्यो। परिवर्तनविरोधी मुख बन्द भयो’, उनले पत्रमा भनेका छन्, ‘खासगरी भ्रष्टाचारविरोधी सङ्घर्षलाई तार्किक निष्कर्षमा पुऱ्याएर जनतामा परिवर्तनकारी राजनीतिक दलमाथि विश्वास पैदा गराउन आफ्नो तर्फबाट प्रधानमन्त्री र गृहमन्त्रीलाई गम्भीर र ठोस सुझाव दिएको स्मरण गराउन चाहन्छु।’

तर, सरकारले भ्रष्टाचारविरोधी संघर्षलाई तार्किक निष्कर्षमा पुऱ्याउँदैन कि भन्ने जनताको आशंकालाई प्रचण्ड नेतृत्वको सरकारले चिर्न नसकेको उनले बताएका छन्। 

‘हामीले पछिल्ला दिनहरूमा जनतामा रहेको भ्रम मेटाउन सकेनौँ’, उनले भनेका छन्, ‘आफ्नो सन्दर्भमा माओवादीले के गर्छ भन्ने जनताको शंकालाई पनि हामीले निराकरण गर्न सकेनौँ। हाम्रा यिनै कमजोरीमा टेकेर टपरटुइयाँहरूले टाउको उठाउने मौका पाएका छन्। जुन अत्यन्तै दुःखद कुरा हो।’

भ्रष्टाचारविरोधी अभियान कमजोर भएसँगै जनअपेक्षा पूरा गर्ने वातावरण नभएको वर्तमान अवस्थामा जिम्मेवारीमा रहिरहन उचित नहुने भएकाले मुख्य सल्लाहकारको जिम्मेवारीबाट अलग रहेको कुरा हरिबोलले पत्रमा उल्लेख गरेका छन्। 

उनले आफू १० महिना सल्लाहकार रहँदा सरकारको तर्फबाट प्रधानमन्त्रीले केही राम्रा काम गर्न खोजको पनि बताएका छन्। 

असहज वातावरणमा उक्त जिम्मेवारी प्राप्त भएको कुराको राम्रो हेक्का राखेर सरकारलाई सफल पार्न पहल र प्रयत्न गरेको पनि गजुरेलले भनेका छन्।

रासायनिक मलको अभावमा किसान र पाठ्यपुस्तकको अभावमा बालबालिकाले झेल्नुपरेको दुःखबाट राहत पाउनुलाई उनले उपलब्धि भनेका छन्। 

‘यसपटक किसान र विद्यार्थीले देशमा सरकार भएको अनुभूति गर्न पाए। प्रधानमन्त्रीका विदेश भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित गर्न मात्र होइन, परिणाममुखी बनाउन सफलता हासिल गरे,’ उनले भनेका छन्, ‘’प्रधानमन्त्री र मन्त्री तथा राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूको कामसँग सम्बन्धित भेटघाटलाई व्यवस्थित गराउन तयार गरिएको कार्यतालिका, सरकारको नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी बनाउन गरेका अथक प्रयास सर्वविदितै छ।’

उनले मुख्य सल्लाहकारको जिम्मेवारी दिई राष्ट्र र जनतालाई बुझ्ने र सेवा गर्ने मौका दिएकव भन्दै प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .