ad ad

राजनीति


वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहन गर्छौं : प्रधानमन्त्री

वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहन गर्छौं : प्रधानमन्त्री

नेपालखबर
मंसिर २०, २०८० बुधबार ९:५१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्वदेशमै रहेर वैज्ञानिक अनुसन्धानको अवसर प्रदान गरिने बताएका छन्।

बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले युवा वैज्ञानिकलाई स्वदेशमै बस्न प्रोत्साहन गरिने बताएका हुन्।

‘विज्ञान तथा प्रविधि विकासको लागि सरकारले १ अर्बको कोष स्थापना गर्ने कार्यक्रम चालु आर्थिक वर्षको बजेटमा समावेश गरिसकेको छ,’ नास्टका कुलपतिसमेत रहेका प्रचण्डले भने, ‘केही प्रक्रियागत व्यवस्थापन भएपछि कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने छ।’

हेर्नुहोस् प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
आज फेरि म नास्टको ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा उपस्थित भएर केही समय वैज्ञानिक अनुभूतिको क्षणको रुपमा समय बिताउन पाउँदा मलाई खुशी लागेको छ।

यस अवसरमा नास्टको वार्षिकोत्सव कार्यक्रममा पुरस्कृत हुनुभएकोमा सम्पूर्ण वैज्ञानिक प्राविधिज्ञहरूमा हार्दिक बधाइ व्यक्त गर्दछु। 

मैले तपाईहरूको विज्ञान तथा प्रविधिको क्षेत्रमा दिनुभएको योगदानको बारेमा सर्सति हेर्ने मौका पाएँ। मलाई अत्यन्त खुशी लाग्यो। हाम्रो विज्ञान तथा प्रविधि क्षमता विकासमा तीव्रता आएको रहेछ। भलै नेपाल सरकारले तपाईहरूले अपेक्षा गरे अनुसारको स्रोत प्रदान गर्न सकेका छैनौं। सरकारका पनि विभिन्न बाध्यताहरू हुँदा रहेछन्। यसमा तपाईहरूले बुझिदिनुभएकै छ। म आफै पनि विज्ञानको विद्यार्थी भएको कारण विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसकेका कारक तत्वहरू म राम्रोसँग बुझ्दछु।

भर्खरै मैले नास्टको प्रविधि भवन र बायोमेडिकल रिसर्च ल्याबोरोटरी भवन उद्घाटन गरें। मलाई विश्वास छ यी अनुसन्धान र प्रविधि केन्द्रहरूबाट अन्तर्राष्ट्रिय स्तरका अनुसन्धान परीक्षणहरू हुने वातावरण सिर्जना हुँदै जानेछन्।  

विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले १ अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ। केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने नै छ।
जनताको अपेक्षा नास्टप्रति बढी रहेको छ। यसर्थ यहाँ सञ्चालन हुने कार्यक्रमहरूको स्तरीयताका बारेमा टिकाटिप्पणी हुनु तपाईहरूको लागि पृष्ठपोषण हुने मैले ठान्दछु।

आगामी सोह्रौं पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिमा के कस्ता कार्यक्रमहरू समावेश गरी यस क्षेत्रमा स्थापित हुन सम्भव हुन्छ गहन छलफल र मन्थन गरेर भावी योजना तय गर्न उपयुक्त हुन्छ जस्तो मलाई लाग्दछ। देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी नेपाल सरकारको सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाहरूको खाका तयार गर्न तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु। अहिलेको अवस्था भनेको सहकार्य र समभावको हो न कि एकांकी भएर गन्तव्य पुग्न कठिन हुने राजनीतिक लगायत अन्य उदाहरणहरू हामीसँग धेरै रहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .