नेपाली कांग्रेसले भूकम्पपीडितलाई बस्ने अस्थायी टहरा तत्काल बनाउन इन्जिनियरसहितको स्वयंसेवक टोली पठाउने भएको छ।
कांग्रेस पदाधिकारीको आज बसेको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पीडितलाई जाडोबाट थप प्रभावित हुन नदिन तत्काल अस्थायी टहरा बनाउनका लागि स्वयंसेवक टोली पठाउने निर्णय गरेको हो।
कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले वृद्धवृद्धा र सुत्केरी भएका परिवारका लागि प्राथमिकतामा राखेर टहरा बनाउनुपर्ने सुझाव दिएको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।
बैठकमा भूकम्पप्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि हालै फर्केका कांग्रेस उपसभापति तथा उप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र पार्टीका महामन्त्री गगनकुमार थापाले प्रभावित क्षेत्रको बस्तुस्थितिबारे जानकारी गराएका थिए।
कांग्रेसले सो क्षेत्रमा तत्काल टहरा बनाउनका लागि जनशक्ति कमी देखिने भएपछि पार्टीमा आबद्ध इन्जिनियर, ओभरसियर, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल सम्मिलित संयुक्त टोली पठाउने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए।
कांग्रेसले तत्काल १०/१० जना रहेको २५ टोली प्रभावित क्षेत्रमा तत्काल पठाउने जनाएको छ। रासस
Shares
प्रतिक्रिया