राजनीति


प्रसाईँले मंसिर ७ को कार्यक्रमबारे प्रशासनलाई दिए जानकारी, शान्ति सुरक्षाको माग

प्रसाईँले मंसिर ७ को कार्यक्रमबारे प्रशासनलाई दिए जानकारी, शान्ति सुरक्षाको माग

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०८० सोमबार १७:१, काठमाडौँ

मंसिर ७ गते काठमाडौँमा प्रदर्शन गर्ने भनेका व्यवसायी दुर्गा प्रसाईँले आफ्नो कार्यक्रमबारे जिल्ला प्रशासनका कार्यालयमा जानकारी दिएका छन्। आफ्नो कार्यक्रम शान्तिपर्ण हुने र आवश्यक शान्ति सुरक्षाको प्रबन्ध गरिदिन आग्रह गर्दै प्रशासनलाई जानकारी गराएको संगठन तथा कार्यक्रम प्रमुख हरि कार्कीले बताए।

काठमाडौँको कुन ठाउँमा प्रदर्शन गर्न लागिएको हो भन्नेचाहिँ नखुलाएको उनको भनाइ छ। ‘हामीले रणनीतिकरूपमा प्रदर्शनस्थलको बारेमा जानकारी नगराएका हौँ,’ कार्कीले नेपालखबरसँग भने, ‘अन्तिम समयमा मात्र हामी यसबारे जानकारी सार्वजनिक गर्छौँ।’

सारा सत्ता र पुराना राजनीतिक दलहरू भाँड्नेतिर लागेकाले सबै कार्यक्रमबारे जानकारी सार्वजनिक नगरेको उनको दाबी छ।

नेकपा एमालेका नेता महेश बस्नेतले २३ वटा जनवर्गीय र पेसागत संगठनको प्रदर्शन पनि त्यही दिन माइतीघरमा गर्ने भनेर सरकारलाई यसअघि नै जानकारी गराइसकेका छन्।
यता प्रशासनले भने बस्नेत र प्रसाईं दुवै पक्षलाई माइतीघर मण्डलमा कार्यक्रम गर्न नपाउने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए।

एकअर्कालाई चुनौती दिँदै आएका प्रसाईं र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले सुरक्षाका लागि भन्दै माइतीघरमा कार्यक्रम गर्न उनीहरूलाई रोक लगाउने भएको हो।

युवा संघले सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थीको शक्ति प्रदर्शन गर्ने भनेका छन् भने प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भनेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .