राजनीति


एमसीसीले नेकपामा जन्मायो नयाँ तीन धार

एमसीसीले नेकपामा जन्मायो नयाँ तीन धार

सागर न्यौपाने
माघ १६, २०७६ बिहिबार १६:२०,

अमेरिकाले दिने अनुदान सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयमा सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्यहरु तीन धारमा विभाजित देखिएका छन्।

जारी केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक तथा महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफलमा सहभागी हुने अधिकांश नेताले एमसीसीबारे आफ्नो धारणा राखेका थिए। ४ सय ४१ केन्द्रीय सदस्य १५ समूहमा बाँडिएर छलफल गरिरहेका छन्।

उनीहरुमध्ये केही एमसीसी संसदबाट अनुमोदन गर्ने, केही लिनै नहुने र केही कार्यदल बनाएर त्यसले दिएको सिफारिसबमोजिम पार्टीले निर्णय गर्नुपर्ने पक्षमा देखिएका छन्।

‘एमसीसीबारे खासगरी तीन थरी विचार देखिएका छन्,’ नेकपाका एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘यसलाई पारित गर्नुपर्छ, पारित गर्नै हुँदैन र कार्यदल बनाइ अध्ययन गर्नुपर्छ भन्ने मत केन्द्रीय सदस्यहरुले अघि सार्नु भएको छ।’

पारित गर्नुपर्छ भन्ने नेताहरुले अमेरिकासँग धेरै वटा सरकारले वार्ता गरेर एमसीसी सम्झौता गरेको, अमेरिकाले यसमा सैन्य विषय नरहेको भन्दै स्पष्ट पारिसकेको तर्क पेस गरेका थिए।

अस्वीकार गर्नुपर्छ भन्ने पक्षले एमसीसी इन्डो–प्यासिफिक रणनीतिको अंग भएकाले त्यसलाई अनुमोदन गरे नेपाल अमेरिकी सैन्य गठबन्धनभित्र पर्ने जिकिर गरेका थिए।

त्यसैगरी एकथरी केन्द्रीय सदस्यहरुले भने एमसीसी अहिलेको जटिल विषय भएकाले यस क्षेत्रमा पछिल्लो समयमा विकसित भएको भूराजनीतिक अवस्थालाई समेत अध्ययन गरेर मात्रै निर्णय लिनुपर्ने बताएका थिए। उनीहरु सो अध्ययनका लागि विज्ञ टोली गठन गर्नुपर्ने धारणा राखेका थिए।

एमसीसी पारित गर्नुपर्छ भन्ने अधिकांश प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका केन्द्रीय सदस्य थिए। पारित गर्नु हुँदैन भन्नेमा धेरैजसो पूर्वमाओवादी र विज्ञ समूह बनाउनुपर्छ भन्नेमा माधव नेपाल निकट नेताहरु रहेको ती केन्द्रीय सदस्यले जानकारी दिए।

१५ मध्ये समूह ३, ४, ५, ६, ७, १२, १३, १४ र १५ का सबै नेताहरुले आफ्नो धारणा राखिसकेका छन्।

समूह १, २, ८, ९, १० र ११, मा नेताहरुको बोल्ने क्रम सकिएको छैन। शुक्रबारको बैठकमा बाँकी नेताहरुले धारणा राख्नेछन्।

राष्ट्रिय सभागृहमा ८, पार्टी कार्यालय धुम्बाराहीमा ४ र जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा ३ समूहले छलफल गरेका थिए।

१३ नम्बर समूहका नेता लेखनाथ न्यौपानेले आफ्नो समूहमा ४ विषय उठेको जानकारी दिए।

‘एमसीसीलाई यथास्थितिमै पास नगरौं, हुन्छ वा हुन्न भन्नेमा नजाऊँ भन्ने मत, सरकारको कामको आलोचना जनस्तरमा व्यापक भयो भन्ने मत, समानुपातिक, समावेशी नारामात्र बनाइयो भन्ने धारणा र विधान संशोधन व्यक्तिलाई हेरेर बनाइयो, विधिभित्र व्यक्ति रहनुपर्छ भन्ने मत उठेको थियो,’ उनले भने।

सरकारको आलोचना
बुधबारदेखि सुरु केन्द्रीय समितिको बैठकको दोस्रो दिन भएको समूहगत छलफलमा नेताहरुले सरकारको पनि आलोचना गरेका छन्। झण्डै दुई तिहाइको कम्युनिस्ट सरकार भएपनि सरकारको कामबाट जनता सन्तुष्ट हुन नसकेको र जनस्तरमा व्यापक विरोध भइरहेको भन्दै सरकारको कार्यशैली फेर्नुपर्ने सुझाव केन्द्रीय सदस्यहरुले दिएका थिए।

समूहगत छलफलमा केही नेताहरुले भने सरकारले गरेका राम्रो कामको प्रचार नगरेकोमा असन्तुष्टि जनाएका थिए। अन्य नेताहरुले सरकारले कामै गर्न नसकेको भन्दै आलोचना गरेका थिए।

बुधबार केन्द्रीय समिति बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सरकारले गरेका कामको फेहरिस्त पौने २ घण्टाको सम्बोधनमा प्रस्तुत गरेका थिए। सरकारमा बसेकाहरुले व्यक्त गर्ने दम्भपूर्ण अभिव्यक्तिले समेत तल्लो तहमा राम्रो सन्देश नदिएको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने माग बैठकमा उठेको थियो।

एक व्यक्ति एक कार्यकारी जिम्मेवारी
समूहगत छलफलमा धारणा राख्ने नेताहरुले पार्टीभित्र रहेको ‘एक व्यक्ति एक कार्यकारी जिम्मेवारी’ कार्यान्वयन गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि धारणा राख्दै केन्द्रीय सदस्यहरुले पार्टीभित्र कसैलाई पदैपद, कसैलाई जिम्मेवारीविहीन बनाएको भन्दै आपत्ति जनाए। एक व्यक्ति एक कार्यकारी पद व्यवहारमै लागू गराउन उनीहरुले माग गरे।

‘महासचिवले आफ्नो प्रतिवेदनमा कार्यविभाजनमा न्याय गर्न नसकिएको भन्दै आत्मआलोचना आएको छ। आगामी दिनमा त्यो सच्चिन्छ होला भन्ने आशा केन्द्रीय सदस्यहरुले लिनुभएको छ,’ छलफललाई उद्धृत गर्दै एक टोली नेताले भने।

अस्पष्ट कार्यदिशा
केही समूहमा बोल्ने नेताहरुले अध्यक्षद्वयको प्रतिवेदनमा नेकपाको कार्यदिशा अस्पष्ट रहेको भन्दै त्यसलाई स्पष्ट बनाउन पनि सुझाव दिएका छन्। बैठकमा बोल्ने नेताहरुले समाजवाद भने पनि त्यसको मोडल के हो पार्टीले स्पष्ट पार्न नसकेको भन्दै असन्तुष्टि जनाएका थिए।

६ समूहका नेता महिला
१५ वटा टोलीमध्ये ६ वटाको नेतृत्वमा महिला छन्। १ नम्बर टोलीको नेतामा उर्मिला अर्याल, २ मा कमला रोका, ७ मा पूर्णकुमारी सुवेदी, ८ मा विन्दा पाण्डे, ९ मा भगवती चौधरी र १२ मा रेणु दाहाल छिन्। टोली नम्बर १ मा अर्यालसँगै आनन्द पोखरेल पनि टोलीनेता छन्।

टोली नम्बर ३ मा खिमलाल सुवेदी, ४ मा जगन्नाथ खतिवडा, ५ मा ठाकुर गैरे, ६ मा दीनानाथ शर्मा, ११ मा राजेन्द्र राई, १३ मा लेखनाथ न्यौपाने, १४ मा राम कार्की र समूह १५ मा हिमाल शर्मा टोलीनेता छन्। टोली १० ले भने नेता छान्न सकेको छैन। सो समूहको सम्पादक मण्डलमा महेश बस्नेत, यज्ञराज सुनुवार, यशोदा सुवेदी, महफुज अन्सारी र युवराज चौलगाईं छन्। बैठकमा नेतृत्व युवराज ज्ञवालीले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad