ad ad

राजनीति


फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्ताव संसद्‌बाट पारित गरियोस् : विष्णु पौडेल

फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्ताव संसद्‌बाट पारित गरियोस् : विष्णु पौडेल

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १५:२२, काठमाडौँ

नेकपा(एमाले)का सांसद विष्णुप्रसाद पौडेलले सरकारको काम, कारबाहीका कारण संसदको भूमिका  प्रभावकारी हुन नसकेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले सरकारले संसदको भूमिकालाई प्रभावकारी बनाउन नदिएको बताएका हुन्। 

उनले चालु अधिवेशनमा संसद प्रभावकारी हुन नसक्नुमा सरकारको दृष्टिकोण र गतिविधिहरु जिम्मेवार रहेका बताए। उनले सरकारमा संसद प्रभावकारी हुने हो कि भन्ने भय देखिएको पनि बताए। 

‘यो सरकारको काम, कारबाही प्रभावकारी हुन नसक्नुमा मुख्य रुपले सरकार जिम्मेवार छ। सरकारको दृष्टिकोण जिम्मेवार छ। सरकारका गतिविधिहरू जिम्मेवार छन्। कस्तोसम्म अवस्था सिर्जना भयो भनेदेखि मेरो दाबी के छ भन्दाखेरी सरकारले यो सदनलाई प्रभावकारी बन्न दिएन । प्रभावकारी बन्छ कि भन्ने चिन्ताबाट सरकार भयातुर भयो,’ सांसद पौडेलले भने, ‘दुनियाँभरी मानिन्छ सदन प्रतिपक्षको हो। प्रतिपक्षले जब उभिएर बोल्छ, सत्ताले ध्यानपूर्वक सुन्नुपर्छ। त्यहाँ व्यक्त भएका विचारहरूको सच्चाइलाई ग्रहण गर्नुपर्छ। ठिक समयमा ठिक ढंगले सम्बोधन गर्नुपर्छ। र सदनको आवाज सरकारले सुन्छ भन्ने सन्देश दिनुपर्छ।’

सांसद पौडेलले संसारभर संसद प्रतिपक्षको हो भन्ने मान्यता रहेको भन्दै प्रतिपक्षको आवाज सरकारले सुन्नुपर्ने बताए। उनले सरकारले प्रतिपक्षको आवाज नसुनेका कारण प्रतिपक्षले वेल घेर्नुपर्ने अवस्थासम्म आउन पुगेको बताए।

‘सदनमा जायज मागहरू भन्नका लागि, सुनाउनका लागि ति मागहरू मन्जुर गर्ने ठाउँमा सरकारलाई पु¥याउनका लागि, सत्तापक्षलाई पु¥याउनका लागि प्रतिपक्षले आवाजमात्र उठाएर पुगेन, त्यसको निमित्त वेल घेर्नुपर्ने अवस्थासम्म सिर्जना भयो। दबाब दिनुपर्ने अवस्था सिर्जना भयो,’ उनले भने, ‘प्रतिपक्षको आवाज सुन्नुपर्छ र त्यसको सच्चाइहरुलाई ग्रहण गर्नुपर्छ। अनिमात्रै सदन ग्रहणको स्थिति अन्त्य गर्न सकिन्छ भन्ने सत्यबोध सरकारलाई हुनुपर्छ।’

सांसद पौडेलले संसदमा सांसदहरुले उठाएका जनसरोकारका विषय सम्बोधन गर्न सरकारले कुनै कदम नचालेको बताए। उनले सरकारले सांसदहरुको आवाजको जवाफ दिन आवश्यकता समेत महशुस नगरेको बताए। 

‘सांसदले जनसरोकारका विषयमा जिम्मेवारीपूर्वक उठाएका कुनैपनि आवाजहरुलाई सुन्ने, सम्बोधन गर्ने र ती आवाजमा रहेका सच्चाइलाई ग्रहण गर्ने दिशातर्फ कुनै कदम चालेन। यतिसम्म कि सांसदहरुले उठाएका आवाजहरुको जवाफ दिनसम्म पनि सरकारले आवश्यकता महशुस गरेन,’ उनले भने, ‘सांसदहरूप्रति सरकारले गरेको अपमानको रुपमा म यसलाई चित्रण गर्न चाहन्छु। सांसदहरूले आवाज उठाउने र सांसदहरूले उठाएका आवाजलाई पूर्ण रुपमा बेवास्ता गर्ने सरकारको रवैया संसदको गरिमा, महत्वलाई, प्रतिष्ठालाई अवमूल्यन गर्ने दिशातर्फ अभिमुख छ।’

सांसद पौडेलले फागुन १ गतेका दिनलाई जनयुद्ध दिवसको रुपमा बिदा दिए लोकतन्त्रको सवलीकरण नहुने बताए। सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्तावलाई संसदमा ल्याएर पारित गर्न चुनौती समेत दिए।

‘फागुन १ गते दिवस मनाएर देशमा कुनै लोकतन्त्रको सवलीकरण हुन सक्दैन। नेपालको लोकतान्त्रिक छवि अन्तर्राष्ट्रिय जगतमा स्थापित हुन सक्दैन भन्ने मलाई लाग्दछ। यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवस मनाउनै पर्छ भन्ने लाग्छ। उसलाई यो ठिक हो भन्ने लाग्छ भने म सरकारलाई चुनौतीका साथ भन्न चाहन्छु, सरकारले फागुन १ गते युद्ध दिवस मनाउनु पर्छ भन्ने प्रस्ताव यो सदनमा प्रस्तुत गरेर पारित गर्ने आँट गरोस्,’ उनले भने, ‘त्यो आँट छ सरकारसँग? यो सरकारसँग फागुन १ गते दिवस मनाउनुपर्छ, बिदा गर्नुपर्छ जसमा मनाउनुपर्छ भन्ने प्रस्ताव यो सदन समक्ष प्रस्तुत गरोस्। र नेपाली जनताका प्रतिनिधिले त्यसका बारेमा निर्णय दिनेछन्। नेपाली जनताका प्रतिनिधिहरुका सामुन्यमा, यो सदनका सामुन्यमा फागुन १ गतेको युद्ध दिवसका सन्दर्भमा त्यसको परिक्षण गर्न सरकार तयार छ? मलाई लाग्छ, सरकारले त्यो आँट गर्ने छैन। म चुनौतीका साथ भन्न चाहन्छु यो गलत निर्णयबाट पछि हटोस्।’

उनले सरकार प्रतिपक्षलाई दोष लगाएर शान्ति प्रक्रिया टुंग्याउन नचाहेको पनि बताए। उनले वर्तमान सरकारको नेतृत्वमा देश अगाडी बढ्न नसक्ने ठोकुवा समेत गरे। उनले वर्तमान सरकारको नेतृत्वमा सुशासन र समृद्धि हासिल हुन सक्दैन भन्ने छर्लङ्ग भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .