नेकपा (मसाल) निकट अखिल नेपाल युवक संघले बढ्दो भ्रष्टाचार र संसदमा विचाराधिन नागरिकता ऐन संशोधन विधेयक विरुद्ध ‘मेची महाकाली खबरदारी अभियान’ सुरु गरेको छ। बुधबार महेन्द्रनगरबाट सुरु भएको अभियान माघ २९ गते काँकडभिट्टा पुग्नेछ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले बुधबार महेन्द्रनगरमा आयोजित समारोहमा टोली नेता एवं युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरेलाई राष्ट्रिय झण्डा र संगठनको झण्डा हस्तान्तरण गरी अभियानको सुरुवात गरे।
त्यस क्रममा नेता भट्टले संसदमा विचाराधिन नागरिकता संशोधन विधेयक पास भए नेपाल फिजी हुँदै सिक्किमीकरण हुने बताए। उनले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै युवाहरुले भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गर्नुपर्ने बताए।
भट्टले भारतले कब्जा गरेको भूमी फिर्ता गरेर आफ्नो अखण्डताको रक्षा गर्न नेपाली जनता तयार हुनुपर्ने बताए। यस्तै उनले एमसीसी स्वीकार गरेर ओली सरकारले देशलाई साम्राज्यवादी ध्रुवतर्फ लैजान खोजेको आरोप पनि लगाए।
युवक संघले सुरु गरेकोअभियान अन्तर्गत मोटरसाइकल यात्रासहित तराईका सबै जिल्लामा खबरदारी सभा गरिने संघका महासचिव कृष्ण पाण्डेले जानकारी दिए।

प्रतिक्रिया