ad ad

राजनीति


अवसरबाट वञ्चित नवराजको पोलिटब्युरो यात्रा

अवसरबाट वञ्चित नवराजको पोलिटब्युरो यात्रा

फाइल तस्बिर


वाशुदेव मिश्र
असोज १९, २०८० शुक्रबार ०:५, काठमाडौँ

पश्चिम म्याग्दीको मालिका गाउँपालिका बिमामा जन्मेका नवराज शर्मा बाल्यकालमै ‘गणतन्त्रवादी’ बने। 

२०२७ सालमा तत्कालीन माक्र्सवादी लेनिनवादी क्रान्तिकारी कम्युनिस्ट दल (गण्डकी–धौलागिरी) ले जिल्लामा प्रभाव जमाइसकेको थियो। म्याग्दीका कृष्णप्रसाद भट्टराई र सोमबहादुर बोगटी सो दलका संस्थापक नै थिए। पछि संस्थापकमध्येका सोमनाथ अधिकारी ‘प्यासी’ र रामचन्द्र अधिकारीहरु पनि म्याग्दी पुगे।

प्यासीकै अगुवाइमा हालको अन्नपूर्ण गाउँपालिका–१, दोवामा तत्कालीन सांसद भीमप्रसाद गौचनको जग्गा कब्जा गरियो। किसानलाई बाँडियो। सो घटनापछि प्यासीसहितका नेताहरुवरिुद्ध पक्राउ पूर्जी जारी भयो।

तत्कालीन प्रमुख जिल्ला अधिकारी नै दलबलसहित दोवा पुगे तर स्थानीयले ढुंगामुढा गरे। सीडीओलाई नै कब्जामा लिए र पहिलोपटक ‘गणतन्त्र’ घोषणा गरे।

२०४७ सालतिरको चर्चित ‘दोवा काण्ड’को प्रभाव नवराजमा नपर्ने कुरै भएन। उनी २०४१ सालमा मालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध भए। २०४२ सालमा सम्पन्न अखिलको राष्ट्रिय सम्मेलनमा सहभागिता जनाएपछि उनी झन् सक्रिय बने।

२०४२ सालमा अखिलको म्याग्दी अध्यक्ष भएका उनी २०४५ सालमा तत्कालीन मालेको जिल्ला सदस्य बने। अनि उनको भूमिगत जीवन सुरु भयो। 

पञ्चायतविरुद्धको आन्दोलनमा होमिँदा उनी गिरफ्तार भए। २५० सालमा उनलाई पार्टीले बागलुङ खटायो। पछि मुस्ताङको पार्टी प्रमुख बने।

राजनीतिमा सक्रिय भए पनि अवसरबाट भने उनी वञ्चितजस्तै बनिरहे। 

२०५४ को स्थानीय चुनावपछि भने उनी राजकीय भूमिकामा उक्लिए। जिल्ला विकास समिति म्याग्दीको सभापति बने।

२०६२-०६३ को जनआन्दोलनका क्रममा बागलुङबाट पक्राउ गरेकोमा बन्दी प्रत्यक्षीकरणको रिटमार्फत् २८ दिनपछि रिहा भएका थिए नवराज। 

दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट विजयी बनेका उनले त्यसपछिको निर्वाचनमा भने टिकट पाएनन्। खासमा म्याग्दीकै थममाया थापा, नरदेवी पुनहरुले अवसर पाउँदा उनी किनारामा परे।

‘मैले राजनीतिमा धेरै त्याग गर्नुपर्‍यो, सांसदको टिकटकै हकमा मैले पटक–पटक त्याग गरेको छु,’ उनी सुनाउँछन्। 

लामो राजनीतिक यात्राको क्रममा हालका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग निकट रहेका उनले २०५४ सालको पार्टी विभाजन होस् वा माधव नेपालको विद्रोह नै किन नहोस्, सदैव मूलधारलाई नै समातिरहे। उनै नवराजलाई एमालेले प्रदेश संरचना निर्माणपछि भने गण्डकीको नेतृत्व सुम्प्यो।

एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशनमा उनले कार्यकर्ताबाट अनुमोदित हुने इच्छा जाहेर गरे। पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङको दरिलो साथका कारण उनको इच्छा पूरा भयो।

एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उनी प्रदेश अध्यक्षमा चुनिए। एमाले विधानअनुसार अब उनी पोलिटब्यूरो सदस्यमा उक्लिएका छन्।

एमाले अहिलेदेखि नै ‘मिसन ८४’ भन्दै आउँदो चुनावको तयारीमा जुटेको छ। एमालेभित्र उनको निर्णय क्षमता एवं कार्यदक्षतामाथि प्रश्न उठाउने पंक्ति पनि ठूलै छ। ०८४’ त टाढै छ तर उनले आफूमाथिका आरोपलाई मिथ्या सावित भने गर्नैपर्नेछ। 
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .