राजनीति


जनताबाट कमजोरी पत्ता लगाएर पार्टी नयाँ बनाउने अभियानमा छौं : पुन

‘सामाजिक सञ्जाल प्रविधिको उपहार हो, निन्दा र भत्र्सना पोख्ने प्लेटफर्म बनाइयो’
जनताबाट कमजोरी पत्ता लगाएर पार्टी नयाँ बनाउने अभियानमा छौं : पुन

नेपालखबर
असोज १४, २०८० आइतबार १८:५५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सामाजिक सञ्जाल प्रविधिको शुन्दर उपहार भए पनि त्यसको चरम दुरुपयोगले समाजलाई गाँजेको बताएका छन्। 

उनले सामाजिक सञ्जालको सही र रचनात्मक प्रयोग गर्न सकिए मुलुक, समाज र मानिसको जीवनमै परिवर्तन ल्याउन सकिने उल्लेख गरे। 

लोकतन्त्रमा आलोचना, विरोध र खबरदारी सबै ग्राह्य भए पनि सामाजिक सञ्जाल निन्दा र भत्र्र्सना पोख्ने प्लेटफर्ममा विकास हुँदै गएकामा पुनले चिन्ता जनाए। उनले कतिपय अवस्थामा मुलधारका सञ्चार माध्यमभन्दा सामाजिक सञ्जाल शक्तिशाली देखिने गरेको भन्दै फिल्टर नगरिएका मिथ्या र सूचनाका कारण व्यक्ति, राज्य र समूहहरुप्रति भ्रम पैदा हुने गरेको पनि बताए। 

आफूले बुझेको, आफूले सुनेको र आफ्ना आँखाले देखेको मात्र अन्तिम सत्य ठान्ने र अरुका कुरा नसुन्ने प्रवृत्तिले समाजमा बिग्रह ल्याउन सक्ने उनको चिन्ता थियो।

‘कतिपय अवस्थामा मुलधारका सञ्चार माध्यमभन्दा सामाजिक सञ्जाल शक्तिशालीजस्तो हुने गरेको छ। व्यक्तिव्यक्तिका हातमा स्मार्ट फोन र सामाजिक सञ्जालका प्लेटफर्महरु छन्’, काठमाडौंको वनस्थलीमा आइतबार हाम्रो एकता खेलकुद क्लबद्वारा आयोजित खुल्ला फुटसल प्रतियोगिताको उदघाटन गर्दै पुनले भने, ‘प्रविधिले समाजलाई पत्रिका, रेडियो, टेलिभिजन, बैंकिङ कारोबार सबैका लागि एउटा स्मार्ट बोमाइल भए पुग्ने अवस्थामा ल्याएको छ। तर, प्रविधिको सही र रचनात्मक प्रयोग गर्नसक्ने समाज हाम्रो बनेको छैन। त्यसअनुसार सामाजिक चेतनाको विकास भएको छैन। आफ्नो धारणा नै सबैको धारणाजस्तो, आफूले बुझेको नै अन्तिम सत्यजस्तो, आफ्नो आँखाले देखेको कुरा नै सबै संसार हो भन्नेजस्तो भएका भएको छ।’

समाज अन्तरक्रियात्मकबाट क्रमशः साँघुरो व्यक्तिवादी प्रवृत्तितिर जान थालेको उनको ठम्याई छ। 

सामाजिक सञ्जालमा भेटिएका सबै सूचना सत्य ठान्ने प्रवृत्तिले समाजलाई  असहिष्णुतातिर धकेलेको तथा व्यक्ति, समाज र राज्यका बारेमा एकांगी धारणाको विकास हुने अवस्था सुजना हुन थालेको निस्कर्ष उनले सुनाए। 

तर, आलोचना गरेकै कारण नागरिकहरुलाई प्रविधिको उपयोगबाट रोक्ने नभई राजनीतिक दल र सरकारले एकाङ्गी बन्नबाट जोगाउन सक्नुपर्ने उनको भनाइ थियो। 

फरक प्रसंगमा उनले निकै ठूलो राजनीतिक संघर्षको बलमा प्राप्त गणतन्त्र र संघीयता संस्थागत गर्दै युवाहरुलाई देशभित्रै भविष्य देखाउन परिवर्तन संस्थागत गर्ने प्रयासमा आफ्नो दल र आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार केन्द्रित रहेको पुनले बताए। जो कोही मुछिाने अवस्था आए पनि सुशासनका लागि थालेको भ्रष्टाचार र तस्करीविरुद्धको अभियान नरोकिने पुनले स्पष्ट गरे। 

‘माओवादी केन्द्रको मुख्य एजेण्डालाई कारणले सबै राजनीतिक दलले स्वीकार गेर आराजको परिवर्तन सम्भव भयो। यसलाई परिमार्जन, सुढुढ र संस्थागत गर्ने जिम्मा पनि माओवादी केन्द्रकै रहेको छ। हाम्रा अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वको सरकारले सुशासन, समृद्धि र साथै सामाजिक न्यायको कामलाइ अगाडि बढाएको छ। सरकारले भ्रष्टाचार र तस्करीविरुद्ध चलाएको अभियान जो कोहीतिर सुई सोझिए पनि रोकिदैन’, उनले भने।

तर, आफ्नो दलसँग असहमत दल, व्यवसायी वा सामूहप्रति पूर्वग्राहपूर्ण व्यवहार गर्न नहुनेमा पार्टी र सरकार स्पष्ट रहेको पुनले जनाए। सीमित गल्ती गर्नेहरुका कारण गल्ती नै नगर्ने मानिसहरुमा असुरक्षाको भावना जागृत हुन नहुनेले उनले बताए। 

‘हामी मानिसको स्वतन्त्रतापूर्वक हिंड्न पाउने, व्यक्तिगत सम्पत्तिको सुरक्षा गर्न र  व्यवसाय गर्न पाउने वातावरणसहितको शान्तिपूर्ण समाज निर्माणको पक्षमा छौं’, पुनले भने, ‘सदभावनापूर्ण समाज बनोस् अपराध गर्नेहरु राज्यसँग त्रसित होउन् तर गल्ती नगर्नेहरु डराउने वातावरण नबनोस् र यो धारणा हाम्रो पार्टी र सरकारको पनि हो।’

उनले राजनीतिक दलहरुले जनतासँग अन्तरक्रिया गर्ने र आफ्ना कुरा भन्ने आँट गर्नुपर्नेमा उनले जोड दिए। 

त्यसैका लागि आफूहरु जनतासँग माओवादी तीन महिने अभियान लिएर गाउँगाउँ गएको पुनले उल्लेख गरे। उनले जनताबाट आफ्ना कमजोरी पत्ता लगाउने र विगतका कमजोरी सच्याएर पार्टीलाई नयाँ बनाउने अभियानमा आफूहरु रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad