राजनीति


‘प्रधानमन्त्री जातीय राज्य बाँड्दै हिँड्छन्, उनकै सांसद गाईगोरु काटेर खान्छु भन्छन्’

‘प्रधानमन्त्री जातीय राज्य बाँड्दै हिँड्छन्, उनकै सांसद गाईगोरु काटेर खान्छु भन्छन्’

फाइल तस्बिर


नेपालखबर
असोज ८, २०८० सोमबार १५:१४, काठमाडौँ

देशमा पछिल्लो समय देखिएको जातीय तथा धार्मिक तनावको विषयले नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश पाएको छ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाई देशमा जातीय तथा धार्मिक हिंसा गराउने प्रयास भइरहेको भन्दै नेतृत्वलाई सचेत गराएकी हुन्। 

‘अस्ति मात्रै राज्यव्यवस्था समितिमा प्रहरी प्रमुखहरुले जातीय र धार्मिक आन्दोलनका लागि वडा वडामा समिति बनाएको खुलेको छ बताएका थिए’, उनले भनिन्, ‘उहाँहरु पूजा गर्नका लागि गठन गरिएको कमिटी हो भन्नु हुँदो रहेछ। तर खासमा गाईगोरु काटेर खान बनाइएको रहेछ।’

उनले बैठकमा बोल्दै हेर्दा सजिलो देखिए पनि धार्मिक र जातीय आन्दोलन भयो भने देशले थाम्न गाह्रो हुने पनि बताइन्।

‘यसलाई सबै दलहरुले गम्भीरतापूर्वक लिनुपर्छ। धरानमा भड्काउन खोजिएको जातीय र धार्मिक हिंसाको झल्को अहिले सर्लाहीमा आएको छ’, उनले भनिन्, ‘अहिले त्यहाँ कर्फ्यु लागेको छ। त्यहाँ पनि एक जातले अर्को जातलाई घरबाट निकालेर कुट्ने काम भएको छ।’

उनले देश संकटमा गइरहँदा कांग्रेस ठूलो दल भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताइन्। 

‘जनताले नेपाली कांग्रेससँग ठूलो आश गरेका छन्। सारा उपभोग्य कुरा महंगो हुँदा पनि सरकारले के हेरेर बसेको छ?’, उनले भनिन्, ‘सरकारमा हामी भए पनि जनताले महसुस गर्न सकेका छैनन्।’

उनले माओवादी लडाकुबाट आएर नेपाली सेनामा रहेका यामबहादुर अधिकारीको थप तीन वर्ष म्याद उपप्रधान तथा रक्षामन्त्रीलाई थाहा नदिइ थपिएकोबारे पनि बैठकमा जिज्ञासा राखिन्। 

प्रसाईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै जातीय राज्य भन्दै हिँडिरहेको भनेर आपत्ति जनाइन्। 

‘प्रधानमन्त्री मलाई भोट हाल्नु, म तपाईंहरुलाई जातीय राज्य दिन्छु भन्छन्’, उनले भनिन्, ‘अनि उनकै सांसद संसद्‍मै आएर गोरु काटेर खान पाइन्छ भन्छन्। देशलाई प्रधानमन्त्रीले कता लैजान खोज्दै छन्?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad