ad ad

राजनीति


सरकार नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने अभियानमा छ : प्रधानमन्त्री

सरकार नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने अभियानमा छ : प्रधानमन्त्री

नेपालखबर
असोज ३, २०८० बुधबार ८:५९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान कार्यान्वयनमार्फत नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने रूपान्तरणकारी अभियानमा रहेको बताएका छन्।

बुधबार संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्ग फराकिलो बनाउँदै लगेको बताएका छन्। 

उनले संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानून निर्माण र यसको परिपालनामार्फत जनतामा राजनीतिक परिवर्तनको प्रत्याभूति गराउने अभियान शुरु भएको उल्लेख गरेका छन्।

‘प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित राष्ट्र निर्माणको महाअभियानको थालनी गर्नु सरकारको प्राथमिकता हो’, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘सहिदहरूले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा उहाँहरूले देखेको सुन्दर र समृद्ध नेपालको सपनालाई साकार पार्न हामी सबैलाई यस अवसरमा प्रेरणा मिलोस् भन्ने कामना गर्दछु।’

प्रधानमन्त्री प्रचण्डले १० वर्षे युद्ध, २०६२र०६३ को जनआन्दोलनलगायत राजनीतिक परिवर्तनका लागि भएका तमाम आन्दोलनको योगफलका रूपमा नेपालमा संविधानसभाबाट संविधान जारी भएको स्मरण गरेका छन्।

‘आफैँबाट निर्वाचित प्रतिनिधिबाट तर्जुमा भएको संविधानबाट मात्र शासित हुने नेपाली जनताको सात दशक लामो चाहना यही संविधानमार्फत पूरा भएको छ’, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘संविधानले नागरिक तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हकअधिकार पनि सुनिश्चित गरेको छ।’

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै नागरिक स्वतन्त्रता, कानूनी राज्य, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिकाजस्ता लोकतन्त्रका अवयवको जगमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय र समृद्धि प्राप्तिका लागि मार्गप्रशस्त गरेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .