ad ad

राजनीति


शेखर समूहले बोलाएको बैठकमा गएनन् विश्वप्रकाश र प्रदीप

शेखर समूहले बोलाएको बैठकमा गएनन् विश्वप्रकाश र प्रदीप

नेपालखबर
असोज २, २०८० मंगलबार १४:१२, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको आह्वानमा मंगलबार दिउँसो पार्टीको इतर समूहको बैठक बालुवाटारमा सुरु भएको छ।

सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजेदेखि सुरु भएको यो बैठकले आगामी बिहीबार बस्ने केन्द्रीय कार्यसमितिमा एकजुट भएर प्रस्तुत हुने गरी रणनीति बनाउने योजना छ। 

आजको बैठकमा सहभागिताका लागि महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको थियो।

तर, दुवैजना नेताहरु यो बैठकमा सहभागी भएनन्। बैठकमा निम्तो पाएका नेता प्रदीप पौडेल मंगलबार नै दुई दिने एक कार्यक्रममा सहभागी हुन चीन जाँदैछन्। त्यहीकारण उनी उक्त बैठकमा सहभागी भएनन्। 

महामन्त्री शर्मा पनि पार्टी केन्द्रीय कार्यसमिति बैठकअघि बोलाइएको गुट बैठकमा नजाने निष्कर्षमा पुगेका हुन्। पार्टी बैठकअगाडि बस्ने गुट बैठकमा जाँदा गलत सन्देश जाने उनले जनाएका छन्। 

शर्मा कांग्रेसको चौधौँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको प्यानलबाट उठेका थिए। सिंह अहिले सभापति शेरबहादुर देउवाको क्याम्पमा छन् भने शर्मा इतर समूहसँग निकट छन्।

शर्माले यसअघि कांग्रेस संसदीय दलको निर्वाचनमा इतर समूहमा रहेका अर्का महामन्त्री गगनकुमार थापालाई सघाएका थिए।

उता चीन जाँदै गरेका पौडेलले पनि चौधौँ महाधिवेशनमा तेस्रो धारका रूपमा रहेको कृष्णप्रसाद सिटौलाका तर्फबाट प्रतिस्पर्धा गरेका थिए। सिटौला समूहले सभापति देउवा समूहसँग मिलेर महाधिवेशनमा भाग लिएको थियो। 

पार्टी केन्द्रीय कार्यसमितिमा इतर समूहबाट एक भएर प्रस्तुत हुने रणनीतिसहित कोइरालाले उक्त बैठक बोलाएका हुन्। 

यो बैठकमा इतर समूहका सबै नेतालाई निम्तो दिइएको छ। यो बैठकमा शर्मा र पौडेलको समेत सुझावका आधारमा समूहले केन्द्रीय कार्यसमिति बैठक र भावी रणनीति तय गर्ने भएको छ।

केन्द्रीय कार्यसमिति बैठक बोलाइएपछि इतर समूहका नेता अर्जुननरसिंह केसीको आयोजनामा नेताहरूबीच केही दिनअघि छलफल भएको थियो।

उक्त बैठकपछि केन्द्रीय सदस्य बलबहादुर केसीले महामन्त्री शर्मा र नेता पौडेलसँग संवाद गरेका थिए। उक्त संवादपछि शर्मा र पौडेल दुवैलाई सहभागी गराउने गरी शेखरले बैठक बोलाएका हुन्।  

आगामी बिहीबार केन्द्रीय कार्य समितिको बैठक बस्ने भएपछि कोइरालाले इतर समूहको बैठक बोलाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .